कारोबार संवाददाता
बुधवार, जेठ २२, २०७६
271

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष सपीला राजभण्डारीले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग भेटघाट गरेकी छन् । सो भेटमा संघका उपाध्यक्ष राजभण्डारीले इटालीको रोममा आयोजना हुन गइरहेको १२औं युरोप क्षेत्रीय भेला र म्यानमारमा हुन लागिरहेको ७ औं एशिया प्रशान्त बैठकका बारेमा जानकारी गराएकी थिइन् ।
एनआरएनएले नेपाल भ्रमण वर्षलाई थप सहयोग गर्नको लागि युरोप क्षेत्रीय बैठकको मूल विषयमा नेपाल प्रबर्धनलाई राखेको बताएइको छ । सोही अवसरमा उनले प्रमुख कार्यकारी अधिकृत जोशीलाई सो बैठकमा विशेष अतिथिका रुपमा सहभागिताका लागि निमन्त्रणापत्र दिएकी थिइन् । साथै उपाध्यक्ष राजभण्डारीले इटाली र युरोपका अन्य मुलुकका स्थानीय समुदायलाई नेपाल भ्रमणको लागि आकर्षित गर्न त्यहाँ रोड शोको आयोजनाका लागि अनुरोध गर्दै यस कार्यमा संघले सघाउनेसमेत जानकारी गराएकी थिइन् ।


उपाध्यक्ष राजभण्डारीले लाप्राक नमूना वस्तीका घरहरुको निर्माण सम्पन्न भइसकेको र केही कामहरु अन्तिम चरणमा रहेको जानकारी गराउँदै चाँडै नै हस्तान्तरण गरिने बताइन् । त्यहाँ निर्माण भएका ५७३ वटा घरहरुको एउटा कोठा होमस्टेको लागि प्रयोग गर्न सकिने छ । यसका लागि त्यहाँका बासिन्दालाई क्षमता अभिवृद्धि तालिम दिने योजना रहेको छ । साथै उनले सो ठाउँ पर्यटकीय क्षेत्रको हिसाबले ज्यादै महत्वपूर्ण रहेको जनाउँदै यसका लागि गन्तव्य स्थलको रुपमा विकास गर्नको लागि अनुरोध गरिन् । संघको घरमात्र हस्तान्तरण गर्ने उद्देश्य नभएर त्यहाँका लाभग्राहीहरुलाई सिपमूलक तालिम उपलब्ध गराएर उनीहरुलाई आर्थिक रुपमा स्वावलम्बी बनाउने रहेको छ । यसका लागि नेपाल पर्यटन बोर्डसँग सहयोगको लागि समेत अनुरोध गरिएको छ ।
भेटमा जोशीले युरोप क्षेत्रीय बैठको निमन्त्रणा उपलब्ध गराएकोमा युरोप क्षेत्रीय बैठकका आयोजक समितिका साथै गैरआवासीय नेपाली संघप्रति धन्यवाद प्रकट गरे । यसरी नै उनले भिजन नेपाल २०२० को उद्घाटन इटालीमा हुने क्षेत्रीय बैठकमा गर्न सकिने जानकारी गराउँदै यस सम्बन्धमा सहयोग गर्न आग्रह गरे । यसका साथै उनले लाप्राक नमूना वस्तिलाई एक पर्यटकीय क्षेत्रको रुपमा सहयोग गर्नको लागि सक्दो सहयोग गर्ने बताए । उनले गैरआवासीय नेपाली संघले नेपाल भ्रमण वर्षको लागि गरिरहेका कार्यको प्रशंशा गरे ।