कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६
355

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) फ्रान्सले शनिबार सामूहिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पेरिसबाट नजिक ला कोरनियुभ नगरपालिकाको कार्यालयमा आयोजना गरिएको पेरिस नेपाल अनलाइनले जनाएको छ ।
फ्रान्सेली रक्तदान सम्बन्धी सरकारी निकाय इएफएस र नगरपालिकासँगको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा ३३ जना नेपालीहरुसहित ५४ जनाले रक्तदान गरेका थिए । एनआरएनए फ्रान्सले दोस्रो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका पूर्व पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कार्यसमितिका पदाधिकारीहरु तथा फ्रान्सवासी नेपालीको व्यापक उपस्थिति रहेको थियो । एनआरएनए फ्रान्सका सचिव प्रविन सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा दाताहरुले कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तो समाजिक कार्यलाई निरन्तरता दिन सुझाव दिएका थिए । एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले रक्तदान गरी यस पवित्र कार्यमा लिने तथा कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै रक्तदान गर्नेलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।