कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
226

 गैरआवासीय नेपाली संघ (एनआरएनए) तेस्रो ओसेनिया क्षेत्रीय बैठक अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ । बैठक नेपाल सरकारका न्याय, कानुन तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यता र अस्ट्रेलियन सरकारका केन्द्रीय अध्यागमन मन्त्री डेभिड कोलमनको विशेष उपस्तिथिमा सम्पन्न भएको हो ।
मे ११ र १२ का दिन अस्ट्रेलियाका सिनेटर क्लेयर मुर, नेपालका प्रदेश सांसद विष्णु पन्थी, संघका अध्यक्ष भवन भट्ट, निवर्तमान अध्यक्ष डा. शेष घले, संघका पदाधिकारी तथा मानार्थ समिति सदस्यहरुसहित १४ राष्ट्रका ३०० भन्दा बढीको सहभागितामा सम्पन्न बैठकले ९ बुँदे निर्णय गरेको छ ।

एनआरएनएको सो बैठकले गैरआवासीय नेपालीहरुको सामूहिक लगानीलाई नेपालको समृद्धिमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामूहिक लगानी फण्ड, जलविद्युत् लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता गरेको छ । यसैगरी नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रबद्र्धन वर्ष २०१९’ अभियानलाई विभिन्न प्रवर्धनात्मक कार्यक्रम संचालन गरी भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय समेत गरेको छ । “महिला सशक्तिकरण अभियानको थालनी र महिला उद्यमशिलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडि बढाउने निर्णय गरियो ।” बैठकपछि सार्वजनिक गरिएको घोषणापत्रमा उल्लेख गरिएको छ, “स्वदेश तथा विदेशमा हुने घरेलु हिंसा विरुद्ध जनचेतना अभियान सञ्चालन गर्दै गैरआवासीय नेपाली अभियानको मूलधारमा महिला सहभागिताको सुनिश्चितता गराउने निर्णय गरियो ।”
गैरआवासीय नेपाली संघले नलेज सिटी तथा एकेडेमीको प्रस्तावलाई आत्मसात् गरी कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रविधिलाई नेपालको विकासमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरेको छ । नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम अष्सी मिड फाउन्डेसन अष्ट्रेलिया र नेपाल साइन्स फाउन्डेसन, एनआरएनएबीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । यसैगरी ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मूलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनुपर्ने महसुश गरी आगामी दिनमा यसतर्फ विशेष ध्यान दिनुका साथै यस क्षेत्रका गैरआवासीय नेपाली बालबालिकालाई नेपाली भाषा संस्कार संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय बैठकले गरेको गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले बताए ।
आवश्यक कानुन निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेगरी सम्पूर्ण व्यवस्था ऐनमै गर्न यो बैठकले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । सो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलियास्थित नेपाली दूतावास, सम्पूर्ण एनसिसिहरु आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वयंमसेवी, पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै समापन गरिएको जनाइएको छ ।