कारोबार संवाददाता
बुधवार, बैशाख १८, २०७६
831

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पको चौथो वर्षको अवसर पारेर गोर्खाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा निर्माणाधिन लाप्राक नमुना बस्तीको अवलोकन गरेको छ । सो अवसरमा स्थानीयबासी र लाभग्राहीहरुसँग अन्तरक्रिया समेत भएको थियो ।
बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले भूकम्पपीडितको लागि निर्माण भएको नमुना बस्ती छिट्टै विशेष कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिने बताए । अध्यक्ष भट्टले बस्ती बनेको गुप्सीपाखामा सामुदायिक भवन लगायतका अन्य संरचना, पूर्वाधार आदिका कुराका लागि पहल भइरहेको जानकारी दिए । अध्यक्ष भट्टले नमुना बस्तीको रंगरोगन सहित बाह्य संरचनाको सम्पूर्ण काम सकिएको बताउँदै लाप्राकवासीहरुको धैर्यताको लागि धन्यवाद व्यक्त गरे ।

उनले निर्माण कार्यमा संलग्न नेपाली सेनाको कामको उच्च कदर गर्दै सेनालाई समेत धन्यवाद दिए । लाप्राकमा ५७३ घरको निर्माण सकिएर अन्तिम चरणको संरचनागत विकासको काम भइरहेको छ । प्रतिकूल मौसम र भौगोलिक विकटताका कारणले सो परियोजना निर्माणमा ढिलाइ भए पनि अब सम्पन्न हुने क्रममा रहेको छ । अध्यक्ष भवन भट्ट आफैं उपस्थित भएर निर्माण कार्यलाई गतिदिन पहल गरिरहेका छन् ।
नमुना बस्ती निर्माण समितिका संयोजक तथा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष सपीला राजभण्डारीले अन्तरक्रिया कार्यक्रममा बोल्दै परियोजनाको प्रगतिका बारेमा जानकारी गराएकी थिइन् । समारोहमा धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङ्गले गैरआवासीय नेपाली संघले गरेको सहयोगप्रति लाभग्राहीको तर्फबाट धन्यवाद दिँदै गाउँपालिकाले बस्तीलाई साँच्चैको नमुना बस्तीका रुपमा रुपान्तरण गर्न सक्दो सहयोग गर्ने आश्वासन दिइन् ।
कार्यक्रममा गाउँपालिकाका पदाधिकारी र सदस्यहरु, स्थानीय समुदाय तथा बस्ती निर्माणमा खटिएका नेपाली सेनाको प्रतिनिधिहरुलगायत अन्य सरोकारवालाहरुको सहभागिता थियो ।