कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६
749

यूएईमा कार्यरत नेपाली व्यवसायीहरुले यूएईका लागि नवनियुक्त नेपाली राजदूत कृष्णप्रसाद ढकाललाई स्वागत गरेका छन् । बिहीबार दुबईको सेराटन होटेलमा एक कार्यक्रम गरी नयाँ राजदूत ढकाललाई स्वागत गरिएको नेपाली बिजनेस काउन्सिलका महासचिव दिपकराज पौडेलले जानकारी दिएका छन् ।
नेपाली बिजनेस काउन्सिल दुबईका अध्यक्ष आसिफ अलि सिद्दिकीको सभापतित्वमा भएको उक्त स्वागत कार्यक्रममा यूएईका नेपाली व्यवसायीहरुको अवस्था, सम्भावना र चुनौतीका बारेमा व्यवसायीहरुले प्रकाश पारेका थिए । यूएईमा पनि आफ्नो व्यापार बिस्तार गरेकोमा नेपाली व्यवसायीहरुलाई धन्यवाद दिँदै राजदूत ढकालले नेपालमा राजनीतिक स्थिरता छाएकोले व्यवसायको लागि उपयुक्त समय आएको बताए । राजदूत ढकालले वर्तमान सरकारले विदेशी लगानीलाई प्रोत्साहित र उच्च प्राथमिकतामा राखेको साथै विदेशी लगानीको सुरक्षाको लागि सम्वेदनशील बनेको कारण युएईका नेपाली व्यावसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेपाली दूतावासबाट उपनियोग प्रमुख तथा प्रवक्ता सागरप्रसाद फुयाल, द्वितीय सचिव बिष्णुकुमारी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली व्यवासायीका अतिरिक्त यूएईमा कार्यरत भारत, अफगानिस्तान, ट्युनिसिया, ओमान, पाकिस्तान, श्रीलंका लगायतका देशका बिजनेस काउन्सिलका प्रमुख तथा प्रतिनिधिका साथै अन्य व्यवसायीहरुको सहभागिता रहेको थियो ।