कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५
649

नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) को आयोजनामा विदेशमा रहेका नेपालीको सहभागितामा बैंककमा नेपालको विकास योजना र दिर्घकालिन लक्ष्यका सम्बन्धमा ग्लोबल पराशर्म कार्यक्रम आयोजना गरिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को थिंक ट्यांकका रुपमा कार्यरत एनपीआईले नेपाल केन्द्रित आर्थिक नीति निर्माणमा छलफल र बहस चलाउँदै आएको छ ।

कार्यक्रममा योजना आयोगका सहसचिव खुमराज कोइरालाले १५ औं आवधिक योजनाको मस्यौदा निर्माणमा विभिन्न देशमा रहेका नेपालीको सुझाव संकलनका लागि छलफल गरिएको बताए । सो कार्यक्रममा आयोगका उपाध्यक्ष सहित आधा दर्जन उच्च तहका नेपालको सरकारी क्षेत्रबाट गएका प्रतिनिधिको सहभागिता रहेको थियो । सो अन्तरक्रियामा विभिन्न क्षेत्रका ३२ विषयगत विज्ञको समेत सहभागिता रहेको थियो । एनपिआई सदस्य रमेश सिंहले १५ औ आवधिक योजनाको लागि सुझाव संकलन गर्न विदेशमा रहेका नेपाली विकास योजना र दिर्घकालिन लक्ष्य सम्बन्धमा सुझाव दिएको बताए । यस्तै प्रकारको अन्तरक्रिया केही दिनअघि अमेरिकामा समेत आयोजना गरिएको थियो । अन्तरक्रियाको सुरुमा आयोगका सहसचिव खेमराज कोइरालाले १५ औ आवधिक योजनाको संक्षिप्त मस्यौदा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एनपीआईका अध्यक्ष खगेन्द्र ढकालले नेपाली डायस्पोरामा रहेर विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा कार्यरत सयौं नेपालीको सुझाव र गुनासोहरुको संश्लेषण गरेर तयार पारिएका सार प्रस्तुत गरेका थिए । ढकालले आयोगले तयार पारेको मस्यौदामा फरक विषयगत समस्याहरु रहेको बताउँदै त्यसको सुधारका उपाय समेत प्रस्तुत गरेका थिए । उनले विकास निर्माण, उत्पादन, व्यवस्थापन र अनुगमनको नयाँ विषयवस्तु राख्न सिफारिस गरेका थिए । अध्यक्ष ढकालले भौतिक पूर्वाधारको निर्माण र छिमेकी मुलुकहरुसम्म सीमापार यातायात सञ्जाल विकासको अभावले क्षेत्रीय तथा विश्व बजारमा नेपाली बजार विकास गर्न अवरोध भइरहेको बताए । ढकाल बैंककको किङ्ग मोङ्कुट्स युनिभर्सिटी अफ टेक्नोलोजी विज्ञको रुपमा कार्यरत रहेका छन् ।