कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५
622

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँको कोष बनाएर पूर्वाधार विकासमा लगानी गर्ने भएको छ । सरकारले नेपालको समृद्धिका लागि विशेष महत्वका साथ आयोजना गरेको लगानी सम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सरकारको समृद्ध नेपाल र सुखी नेपाली अभियानमा गैरआवासीय नेपालीहरुको सहभागिताका निम्ति एउटा सामूहिक लगानी कोष खडा गर्ने विषयमा समझदारीपत्रमा शनिबार हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह र एनआरएनएका अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका छन् । विभिन्न देशमा रहेका नेपालीहरुले पुँजी संकलन गरेर कोष बनाउने र उक्त कोषमा जम्मा भएको पूँजी नेपालको पूर्वाधार विकासमा खर्च गर्ने भन्दै भट्टले एनआरएनले म्युचुअल फण्ड, भेञ्चर क्यापिटल, इन्भेष्टमेन्ट कम्पनीलगायतको मोडालिटीमा १० अर्ब पुँजी भएको कोष स्थापना गरेर नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न लागेको जानकारी दिए । एनआरएनएका अनुसार उक्त फण्डले नेपालबाट एनआरएनलाई लक्षित गरेर फण्डको इकाइ बिक्री गर्नेछ ।