कारोबार संवाददाता
बुधवार, चैत्र ६, २०७५
451

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोप क्षेत्रीय बैठक तथा १० औं एनआरएनए महिला सम्मेलन इटलीको रोममा हुने भएको छ । गैरआवासीय नेपाली संघको युरोप संयोजक शिव बरुवालका अनुसार अगष्टको पहिलो साता हुने सो सम्मेलन आयोजना गरिन लागिएको हो ।
युरोपस्थित संघका पदाधिकारी र केन्द्रीय पदाधिकारीबीचको बैठकले अगष्ट ३ र ४ तारिख युरोप बैठक तथा १० औं महिला सम्मेलन गर्ने निर्णय गरेको हो । रोमस्थित अरजाइफ प्यालेस होटलमा सम्मेलन आयोजना हुने गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य क्षेत्र कुमार श्रेष्ठले जनाए ।

युरोप सम्मेलनको तयारी गर्न एनआरएनए केन्द्रीय पदाधिकारी, युरोपस्थित संघका पदाधिकारी, युरोपभरका एनसीसी अध्यक्ष तथा महासचिवसहितको बैठक मार्च अन्तिम साता बस्ने भएको नेपाल ब्रिटेन अनलाइनले जनाएको छ ।
बैठकले एनआरएन १२ औं युरोप सम्मेलन तयारी समिति समेत गठन गर्ने भएको छ । युरोपस्थित २८ भन्दा बढी राष्ट्रिय समितिका पदाधिकारीले भाग लिएको सो बैठकमा एनआरएन संस्थापक अध्यक्ष पूर्व अध्यक्ष एनआरएन निवर्तमान अध्यक्ष, संस्थापकहरु, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, नेपाल सरकारका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि लगायतको उपस्थिति रहनेछ ।