कारोबार संवाददाता
बुधवार, पुष १८, २०७५
734

राष्ट्रिय खेलकुद परिषद्ले आगामी महिना नेपालगन्जमा आयोजना गर्न लागेको आठौँ राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली टोली सहभागी हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सो टोलीको व्यवस्थापन गर्ने गरी संघ र राष्ट्रिय खेलकुद परिषद्को बीचमा सहमति भएको छ ।
कुल ३५ विधामा सञ्चालन हुने उक्त खेलकुदमा सात प्रदेशको प्रदेश स्तरीय टोली, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक–एक टोली तथा एक गैरआवासीय नेपाली टोली गरी कुल ११ टोली सहभागी हुँदैछन् । इतिहासमै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगितामा परिषद्ले गैरआवासीय नेपाली टोलीलाई आमन्त्रण गर्ने निर्णय गरेको हो ।

गैरआवासीय नेपाली टोलीको सहभागिताले प्रवासमा रहेका नेपालीमा नेपालप्रतिको माया अझै बढ्ने र नेपालमा खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा विकास भएका नविन प्रविधि, कौशल र सिप भित्रिने आठौँ राष्ट्रिय खेलकुद गैरआवासीय नेपाली टोली संयोजन समितिका संयोजक तथा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय युवा संयोजक सुदन थापाले बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका कयौं नेपाली खेलाडी प्रवासमा छन् । आठौँ राष्ट्रिय खेलकुद मार्फत प्रवासमा रहेका खेलकुद प्रतिभाहरुको सहभागिताले सम्पूर्ण गैरआवासीय नेपालीमाझ उत्साह छाएको संघका अध्यक्ष भवन भट्टले बताए । नेपालको खेलकुद क्षेत्रको श्रीवृद्धिमा गैरआवासीय नेपाली संघको पूर्ण सहयोग रहने भन्दै संघका अध्यक्ष भट्टले आगामी दिनमा आयोजना हुने राष्ट्रिय स्तरका खेलहरुमा गैरआवासीय नेपाली टोली नियमित सहभागी हुने गरि परिषदसँग सम्झौता गर्ने तयारीमा रहेको बताए । गैरआवासीय नेपाली संघले आफ्ना संजाल रहेका ७९ वटै मुलुकमा खेलाडीको नाम पठाउन आह्वान गरिसकिएको संघका सचिवालय प्रमुख डा. हेमन्तकुमार दवाडीले जानकारी दिए ।