कारोबार संवाददाता
बुधवार, पुष ११, २०७५
2669

यूएई - देशमा बढ्दो बेरोजगारीको फाइदा उठाउँदै भिजिट भिसाको नाममा हुने गरेको मानव तस्करी अन्त्य गर्नका लागि यूएईमा रहेका नेपालीहरू एकजुट भएका छन् । गत शुक्रबार नेपाली राजदूतावास अबुधाबिमा भेला भएका सामाजिक अगुवाहरूले मानव तस्करमा सम्लग्न भएका व्यक्तिलाई कारबाहीको दायरामा नल्याएसम्म पछि नहड्ने भन्दै हालको लागि पाँच सदस्यीय समिति गठन गरेका छन् ।
समितिमा भुपराज बस्याल, चित्र केसी, श्याम कँडेल, बाबुराम बिश्वकर्मा र रमेश श्रेष्ठ रहेका छन् । आगामी दिनमा यूएईमा रहेका अन्य संघसस्थाहरूसँग सहकार्य गर्दै समितिमा सदस्य थप गर्ने जनाइएको छ । सरकारलाई प्रवासका मुद्दामा जिम्मेवार बनाउन सुझाव दिने लगायतका सात बुँदे प्रतिबद्धता घोषणा गर्दै मानव तस्करलाई कारबाहीको दायरामा ल्याउन उक्त समिति गठन भएको हो ।
भिजिट भिसाको नाममा हुने गरेको तस्करी अन्त्य गर्ने उद्देश्यले भएको भेलामा नेपाली राजदूतावास अबुधाबिका कार्यवाहक राजदूत सागर फुयाल प्रमुख अतिथि रहेका थिए । दूतावासबाटै श्रम काउन्सिलर भेष बहादुर कार्की र श्रम सहचारी मोतीराम भुसालको पनि उपस्तिथि रहेको थियो । भिजिट भिसाको नाममा हुने गरेको तस्करी कसरी अन्त्य गर्न सकिन्छ, यूएईमा रहेका रहेका संघसंस्थाले कस्तो कस्तो भूमिका खेल्नुपर्ने हुन्छ र दूतावासले दलाललाई अन्त्यसम्म कारबाहीको दायरामा ल्याउन कस्तो भूमिका खेल्न सक्छ भन्ने विषयमा बृहत् छलफल भएको थियो ।
छलफलका क्रममा कार्यवाहक राजदूत फुयालले मानव तस्करलाई कारबाही गर्न दूतावासले कुनै कसर नराख्ने प्रतिबद्धता जाहेर गरे भने उपस्थित सामाजिक अगुवाहरूले आफ्नो संस्थामा त्यस्ता मानव तस्करलगायतका अवैध काममा संलग्न कोहि भए तुरुन्त कारबाही गर्ने प्रतिबद्धता जाहेर गरे ।
करिब पाँच घण्टा भएको छलफलमा यूएईमा रहेका करिब २० जना सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो । पहिलो प्रयासमै उपस्थिति धेरै भएको र यो अभियानमा यूएईमा रहेका सम्पूर्ण संघसंस्थाको सहकार्य आवश्यक रहेको कार्यक्रमको संयोजन गरेका श्याम कँडेलले बताए । कार्यक्रममा यूएईमा हुने गरेको मानव तस्करी र श्रमिकसम्बन्धि अन्य समस्याको बारेमा विभिन्न मिडियामा आएका समाचारहरूको विश्लेषण र अनुभव सुनाउँदै नेपाल पत्रकार महासंघ यूएई शाखाका उपाध्यक्ष लक्ष्मण खनालले समाचार लेखेकै भरमा विगतमा दूतावासबाट समेत पित पत्रकारिताको आरोप खेप्नुपरेको अनुभव सुनाउँदै पत्रकारले प्रमाण पूरा गरेपछिमात्रै लेख्ने बताए ।
त्यसैले पत्रकारले कसैको धम्कीको भरमा सत्य लुकाउन नसक्ने भन्दै समाचारप्रति चित्त नबुझे सम्बन्धित निकायमा जान सक्ने र कसैको धम्कीको भरमा यूएईमा रहेका पत्रकार पछि नहटेको स्मरण उनले गराए । एनआरएन यूएईको नजरमा हालसम्म देखिएका समस्याहरूको प्रकृति, समाधानको पहल र सबै संस्थाहरूले संयुक्त गर्नुपर्ने कार्यबारे एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठले भनाइ राखेका थिए ।
मानव तस्करविरुद्ध चालिएको कदममा संस्थाको धारणा, सुझाव र प्रतिबद्धताबारे नेपाली जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष बाबुराम बिश्वकर्मा र नेपाली जनसम्पर्क समिति यूएईका संस्थापक अध्यक्ष चित्र केसीले आ–आफ्नो धारणा राखेका थिए । मानव तस्करीसम्बन्धी नेपाल पत्रकार महासंघ यूएई शाखाको भनाइ र भोगाइको विषयमा नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष भुपराज बस्यालले धारणा राखेका थिए त्यस्तै दूतावासमा आएका समस्या र गरिएको पहलबारे अनुभवसहितको जानकारी श्रम काउन्सिलर भेषबहादुर कार्कीले राखेका थिए । मानव तस्करसम्बन्धी दूतावासको भोगाइ, सरकारको नीति, कानुनी अप्ठ्याराहरू, संघसंस्थाबाट हुनुपर्ने सहयोगबारे दूतावासको अपेक्षा र श्रमिकमैत्री दूतावासको लागि आवश्यक प्रतिबद्धतासहितको भनाइ कार्यवाहक राजदूत सागर फुयालले राखेका थिए । कार्यक्रमको उद्देश्यमा साझा अवधारणा बनाउन आगामी दिनहरूमा संघसंस्थाहरूले खेल्नुपर्ने भूमिकासहित संगठनको प्रतिबद्धताबारे प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम कँडेलले राखेका थिए ।
नेपालको अध्यागमन विभागले आफ्नो अनलाइनमा जारी गरेको कागजपत्र पूरा हुँदासमेत नेपालको विमानस्थलबाट अन्य देशमा भिजिट भिसामा जान रोक्ने गरेका कारण मौलाएको सेटिङका कारण पछिल्लो समय भिजिट भिसामा यूएई आएर अलपत्र पर्नेको संख्या बढ्दै गएको छ । यस्तो धन्दामा गिरोह नै लागिपरेको हुँदा त्यस्तो गिरोहमा लाग्ने तस्करलाई कारबाहीको लागि नेपाल सरकारलाई पटकपटक दूतावासले सिफारिस गर्दै नेपाल सरकारलाई पत्र लेख्दा समेत खासै कारबाही हुन सकेको छैन । मानव तस्करी मौलाएको हुँदा तिनै तस्करहरूलाई कारबाहीको लागि दबाब दिन प्रवासमा रहेका नेपालीहरूबाट चालिएको यो पहिलो कदमले मानव तस्करलाई कारबाहीसँगै प्रवासमा रहेका अन्य समस्यामा बुंदागत रुपमा सरकारलाई सुझाव दिन सके भने भेलाको उद्देश्य पूरा हुने आयोजकको भनाइ छ ।


तस्करलाई यूएईको कानुनअनुसार पनि कारबाही हुन्छ
सागर फुयाल
कार्यवाहक राजदूत, नेपाली राजदूतावास अबुधाबी
भिजिट भिसाको नाममा बढ्दै गएको तस्करको कारबाहीको विषयमा यहाँको सरकारसँग भएको छलफलपछि यूएईको कानुनअनुसार पनि कारबाही प्रक्रिया अगाडि थालिएको छ । हामीले यो भन्दा पहिले मानव तस्करहरूलाई कारबाहीको लागि नेपालमा पत्राचार मात्रै गथ्र्यौं । अबदेखि नेपाल पत्राचार गरेपनि यूएईको कानुनअनुसारको कारबाहीमा राजदूतावास लागेको छ ।
यो आर्थिक वर्षमा अहिलेसम्म २० जनालाई कारबाहीको लागि सिफारिस गरेका छौं । यो समस्यामा दूतावास गम्भीर भएर लागेको छ । तस्करलाई कारबाहीको दायरामा ल्याउन यूएईमा रहेका संघसंस्थाको भूमिका पनि महत्वपूर्ण छ । हामी यूएईमा रहेका विभिन्न संघसंस्थासँग सहकार्य गरेर काम गर्छौं । मानव तस्कर कारबाहीको लागि चालिएको यो अभियानमा नेपाल राजदूतावास अबुधाबिको पूर्ण सहयोग छ । पीडित र दलाल कहिँ कतै देखे दूतावासलाई खबर गर्नुहोला ।

मापदण्ड बनाएर भिजिट भिसा खुला गर्नुपर्छ
रमेश श्रेष्ठ
अध्यक्ष, एनआरएनए यूएई
भिजिट भिसामा गरिएको कडाइका कारण भिजिट भिसामा मानव तस्करी बढेको हो । गैरआवासीय राष्ट्रिय समन्वय समितिले यूएईले यसबारेमा दूतावास मार्फत् पटकपटक सरकारको ध्यानाकर्षण गरेको छ । यूएईमा दलालमार्फत् बढी रकम तिरेर आउन थालेपछि यूएईमा बिचल्ली हुनेको संख्या बढेको हो ।
हामीले पटकपटक बुझाएको ज्ञापनपत्रमा समेत उल्लेख गरेका छौं । भिजिट भिसामा जाने प्रक्रियालाई सहज बनाउँ भनेर हामीले भनेका छौ । यदि कोहि नेपाली भिजिट भिसामा अन्य देश जान्छ भने एसएलसी पासको सर्टिफिकेट हेरौं । जसले गर्दा ऊ भाषाका कारण ठगिन नपरोस् । यदि एसएलसी पासको सर्टिफिकेट छैन भने केही रकम नेपाल सरकारको खातामा जम्मा गर्न लगाउँ । यदि कुनै हालतमा ऊ अलपत्र परेमा त्यही सरकारसँग रहेको पैसाबाट दूतावासमार्फत् नेपाल फर्काउँ । यसरी पनि भिजिट भिसालाई सहजीकरण नगर्दासम्म मानव तस्कर रोकिने सम्भावना कम छ ।

सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्छ
चित्र केसी
सस्थापक अध्यक्ष, जनसम्पर्क समिति यूएई
मन्त्रीले आफ्नो मन्त्रालय अन्तर्गतका काममा मात्रै ध्यान दिने हो भने वैदेशिक रोजगारका आधा समस्या समाधान हुने देखिन्छ । साँच्चिकै विषयवस्तुमा केन्द्रित रहेर काम गर्ने हो भने मानव तस्करमात्रै होइन, वैदेशिक रोजगारको क्षेत्रमा हुने प्रायः सबै प्रकारका ठगी अन्त्य हुनेछन् ।
नेपाल एयरपोर्टमा भ्रष्टाचार हुने कुरा सबै मन्त्रीहरूलाई थाहा छ तर पनि निराकरणको लागि ठोस कदम चालेको देखिन्न । भिजिट भिसामा मात्रै होइन, यहाँ त खाडीमा रोकिएको घरेलु कामदारका क्षेत्रमा पनि मानव तस्करी भएको छ । त्यसैले मानव तस्करीलाई रोक्न मन्त्रीस्तरबाटै पहल हुनुपर्छ ।

तस्करलाई सामाजिक बहिष्कार गराैँ 
श्याम कँडेल
अध्यक्ष, प्रवासी नेपाली मञ्च
यहाँ पैसाको भरमा प्रमुख अतिथि बन्ने गरेको पनि देखिन्छ । प्रमुख अतिथी बन्नैकै लागि कैयौ पैसा खर्च गरेको देखिन्छ । पीडितको उद्घारमा रुपैयाँ खर्च नगर्नेले अतिथि हुनैका लागि पैसा खर्च गरेको देखिन्छ । त्यसैले समाज सेवाको नाममा गरिने कार्यक्रमको आडमा कतै गलत त भएको छैन ।
अब यूएईस्थित सामाजिक संघसंस्थाले सोच्ने बेला आएको छ । सबै समाजिक संघसंस्थाहरूले मानव तस्करलाई आफ्नो संस्थामा प्रवेश बन्द गर्ने र सबै मिलेर सामाजिक कारबाही गर्न सकेपनि यसको अन्त्य हुने देखिन्छ ।

 

भुपराज बस्याल