गोपाल संग्रौला
सोमवार, मंसिर ३, २०७५
2253

  • सन् २०१८ मा ८ हजार भन्दा बढी जाने

काठमाडौं-कोरियाले रोजगार अनुमती प्रणाली (इपीएस) मार्पmत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ ।
कोरियाका रोजगारदाताले नेपाली कामदार इमान्दार, मेहेनती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउदै माग बढाउदै लगेको हो । कोरिया इपीएस मार्पmत नेपाली कामदारको माग बढाउन थालेपछि नेपालले पनि रोजगार आवेदन दिएका थप ४ हजार युवाको नाम कोरिया पठाएको छ । कोरिया सरकारले अगामी वर्ष थप नेपाली युवाको माग गर्ने जनाउदै आएको छ ।

सन् २०१७ मा रोजगार आवेदन दिएका कामदारको संख्या घटदै गएपछि सन् २०१८ मा रोजगार आवेदन दिएका ८ हजार मध्ये लगभग ४ हजार युवाको नाम रोष्टर (रोजगार योग्य सूची) मा राख्न कोरिया पठाएको हो । रोष्टरमा नाम राखेकामध्ये केही युवाको श्रम सम्झौता समेत आउन थालेको छ । सन् २०१८ मा वैदेशिक रोजगार बिभाग ईपीएस शाखाले रोजगार आवेदन दिएका ८ हजार युवामध्ये ५० प्रतिशतको नाम रोष्टरमा राखेको इपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए । रोजगार आवेदन दिँदा नााम र फोटो नमिलेर प्रमाणीकरण हुन नसकेका नेपालीको विवरण सुधार भएपछि रोजगार आवेदन दिएका बाँकी ४ हजार युवाको नाम रोष्टर राख्ने तयारी भइरहेको शाखाले जनाएको छ ।
अन्य १६ देशको तुलनामा नेपाली कामदार सबै भन्दा कम अवैधानिक बस्ने र काम प्रति लगनशिल भएका कारण कोरिया जाने नेपाली युवाको संख्या बढदै गएको छ । बिगत २ वर्षको तुलनामा कोरिया जाने नेपाली युवाको संख्या संख्या बढ्दो क्रममा रहेको शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले जानकारी दिए । “सन् २०१८ को नोभेम्बरसम्म कोरियाले लगभग ७ हजार ७ सय नेपाली युवाको माग गरिसकेको छ,” अधिकृत भण्डारीले भने “कोरियाको माग हेर्दा गत वर्ष भन्दा धेरै नेपाली कोरिया जाने देखिएको छ ।” यो वर्षसम्मको अन्त्यसम्म ८ हजार ४ सय नेपाली युवा कोरिया जाने शाखाको अनुमान रहेको छ । गत वर्ष ७ हजार ८०० युवा कोरिया प्रवेश गरेको शाखाको तथ्यांकमा उल्लेख छ । नेपाली कामदारको माग बढेसँगै माग गरिएका युवालाई समयमा नै कोरिया प्रवेश गराउन एयरलाइन्स व्यवस्थापन चुनौती रहेको शाखाले जनाएको छ । विगत ३ वर्षयता औषत वार्षिक ८ हजार नेपाली युवा कोरिया प्रवेश गर्ने गरेका छन् । हालसम्म ५८ हजार नेपाली युवा रोजगारीका लागि कोरिया गइसकेका छन् भने ३५ हजार कार्यरत छन् ।
नेपाली कामदारको माग बढैसँगै आगामी वर्ष कोरियाले नेपाललाई दिने कोटा बढाउने जनाउँदै आएको छ । हालै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगको भेटमा दक्षिण कोरियाका राजदूत पार्क युङ्सीकले नेपाली कामदार इमान्दार र मिहेनती भएकोले कामदारको संख्या थप गर्ने बिषयमा सकारात्मक रहेको जनाएका थिए ।