कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
5014

युवाको नयाँ सोचले समाज परिर्वतनमा अहं भूमिका निर्वाह गरेको हुन्छ । तर युवाको नयाँ सोचलाई मार्गदर्शन र मूल्यांकन गर्ने वातावरण नहुदाँ नेपाली युवाहरू आफूमा भएको सोचलाई थाँती राखेर रहरले हैन, बाध्यताले वैदेशिक रोजगारीका लागि जाने गरेका छन् ।
आफूभित्र नयाँ जोश र जागर हुँदाहुदै पनि मलेसिया, कतार, यूएई, इजरायललगायत देशमा जान बाध्य भइरहेका छन् । देशमा रहेका युवा शिक्षित तथा दक्ष जनशक्ति अमेरिका तथा युरोपियन देशमा जान चाहन्छन् भने अशिक्षित तथा अदक्ष युवाहरू पनि अरब तथा मलेसियामा वैदेशिक रोजगारकै लागि पासपोर्ट र भिसा बनाउन दौडधुप गरिरहेका भेटिन्छन् ।
अर्कातर्फ वैदेशिक रोजगारबाट फर्किएर नेपालमै केही गर्छु भन्ने युवाहरूलाई पनि उचित मार्गदर्शनको कमीले समस्यामा पर्ने गरेको देखिन्छ । युवाहरूको नयाँ सोचलाई कार्यमा परिर्वतन गर्न थप समस्याहरू त छँदैछ, समस्याका साथ समाधान पनि रहेको छ ।
युवाहरूको नयाँ सोचलाई मार्गदर्शनको रुपमा काम गर्न संस्थाहरूले हाल युवाहरूको जीवनशैलीमा परिर्तन ल्याइरहेका छन् । हाल नेपालमा बिजनेस अक्सिजन, वान टु वाच, डोल्मा फण्डजस्ता वैदेशिक लगानीका तथा अन्तः प्रेरणाजस्ता स्वदेशी लगानीका करिब १ दर्जन संस्थाहरू खुलेका छन्, जसले युवाहरूको सपनालाई यथार्थमा बदल्ने साँचोको रुपमा काम गरिरहेका छन् ।
विजनेस अक्सिजनका अध्यक्ष सिद्धान्तराज पाण्डेका अनुसार उद्यमशीलता सबैमा हुन्छ भन्न सकिन्न र उद्यमी बनाउन पनि सकिन्न । उनी भन्छन्, “यस्ता संस्थाहरूले उद्यमी बन्न चाहने युवालाई बजार, बजारको चरित्र, वित्तिय पहुँचजस्ता कुरामा मद्दत गर्दछन् । उनीहरूलाई व्यावसायिक बन्न सहयोग गर्दछन् ।”
विजनेस अक्सिजनले उद्यम गरिहेका युवालाई आफ्नो उद्यम विस्तार गर्न मद्दत गर्दछ भने अन्तः प्रेरणाले उद्यमी बन्न चाहने युवालाई सुरुवातदेखि नै मद्दत गर्दछ ।
अन्तः प्रेरणा स्थापना भएको तीन वर्ष भइसकेको छ । तीन वर्षको अवधिमा नयाँ सोच भएका युवालाई यस संस्थाले मार्गदर्शकको रुपमा काम गरिरहेको छ । अर्कोतर्फ वैदेशिक रोजगारपश्चात् नेपालमै केही काम गर्छु भन्ने युवाको सोचमा पनि यस संस्थाले निकै सहयोगी एवं मार्गदर्शनको रूपमा काम गरिरहेको छ ।
सिन्धुपालचोकका युवा पद्मराज अवस्थी शिक्षण पेशामा पनि आवद्ध भइसकेका छन् । उनले पढाउने क्रममा उक्त ठाउँमा कृषिको अवसर देखे । तर त्यहाँ परम्पराखेती प्रणाली लागू हुन्थ्यो । तरकारी खेतीतर्फ किसानहरू त्यति आकर्षित भएको देखिँदैनथ्यो ।
त्यहाँको हावापानी र निर्वाहमुखी खेतीका लागि खेती च्याउ खेतीको केही राम्रो अवसरको रुपमा उनले देखे । यसको परीक्षण गर्नको लागि उनले विद्यालयका कक्षा नौ र दशका विधाथीहरूलाई च्याउ खेतीमा ६७ जनाको समूहमा विद्यालयको लगानीमा सुरु गरे । उक्त काम सफल भएपश्चात् निरन्तरता दिएर यसलाई फराकिलो बनाउँदै लगिरहेको उनी बताउँछन् ।
“अन्तः प्रेरणामा आउनुपूर्व उत्पादनलाई मात्र ध्यान दिनु पथ्र्यो । तर यहाँ आएर मैले बजार कस्तो छ र उपभोक्तको बारेमा र सामानलाई बजारसम्म पु¥याउने जस्ता विविध कुराहरू उहाँबाट सिक्ने मौका पाएको छु । युवाहरूमा नयाँ सोच र इच्छा रहेको हुन्छ । तर उचित सल्लाह र मार्गदर्शनको खाँचो अझै पनि छ ।”
यसैगरी वैदेशिक रोजगारबाट फर्केर नेपालमै केही गर्न सोच बनाएका विजय गुरुङ पनि हाल भाइको किचेनमा व्यस्त छन् । “युवा उद्यमशील र नयाँ सोचलाई अगाडि बढाउन सरकारी तवर र गैरसरकारी संस्थाबाट मार्गदर्शनको खाँचो देखिन्छ । अन्तः प्रेरणाजस्तो संस्था नेपालमै अझै बढ्नुपर्छ,” उनी भन्छन् । नेपालमै भएका व्यक्तिलाई पनि नेपालमै रोजगार कसरी सिर्जना गर्न सकिन्छ र वैदेशिक रोजगारबाट फर्केर सिप सिकेर नेपालमै केही गर्न चाहने व्यक्तिलाई यस्तो संस्थाको निकै खाँचाँ रहेको उनको भनाइ छ ।


आफ्नो क्षमता हेरेर लगानी गर्नुपर्छ
निरज खनाल
प्रमुख कार्यकारी अधिकृत, अन्तः प्रेरणा

युवाहरूलाई उद्यमशील बनाउने संस्थाको आवश्यकता किन देख्नुभयो ? यसको उद्देश्य के–के हुन् ?
मुख्य उद्देश्य भनेको युवाहरूलाई प्रेत्साहन गर्नु नै हो । युवाहरूमा व्यवसाय गर्न र उनीहरूलाई आफ्नो व्यवसाय कुन रुपबाट अगाडि बढाउनुपर्छ भनेर सिकाइन्छ । कस्ता कस्ता किसिमबाट अघि बढ्दा व्यवसाय नजिकबाट बझ्न सकिन्छ र विज्ञहरूसँग अन्तक्र्रिया गराई व्यवसायलाई नजिकबाट बुझ्ने अवसर प्रदान गराउँदा युवा उद्यमीहरूमा हौसला मिल्ने जस्ता कुराहरू यसमा प्रत्यक्ष रुपमा देख्न सकिन्छ ।
युवाहरूले कुनै उद्यमशील कार्य गर्दा बजार बुझ्नु कत्तिको जरुरी देखिन्छ ?
समाजमा कस्तो किसिमको समस्या रहेको छ । त्यसलाई बुझ्नु जरुरी हुन्छ र यसको साथ –साथै आफ्नो ग्राहक बुझ्न पनि उत्तिकै जरुरी देखिन्छ । आफूमा कस्तो किसिमको सिप छ, त्यो कुरा पनि बुझ्नुपर्छ ।

ग्रामीण क्षेत्रमा यस्ता सस्ंथाको सहभागिता कतिकोे खाँचो रहेको छ ?
ग्रामीण क्षेत्रमा युवाहरूको नयाँ सोच र जाँगर रहेको छ । त्यहाँ अवसरको कमी रहेको छ । उद्यमशील युवाहरूलाई अघि बढाउने संस्थाहरू सहरमा मात्र बढी रहेको छ । युवावर्गलाई लक्षित गर्न कार्यक्रम ग्रामीण क्षेत्रमा बढी उपयोगी देखिन्छ । हामीले युवा लक्षित केही तालिमहरू पोखरा, चितवन, विराटनगर भक्तपुर र ललितपुरमा पनि लगिरहेका छौ ।
विशेषगरी कस्ता व्यक्तिहरू यहाँ सल्लाह लिन आउने गरेका छन् ?
व्यवसायी गर्न नयाँ भिजन र सोच भएका युवाहरू यहाँ आउने गरेका छन् भने अर्कातर्फ वैदेशिक रोजगारबाट केही सिप सिकेर नेपालमै केही गर्न युवाहरू पनि हामीसँग कसरी व्यवसाय गर्ने भन्ने बारेमा र लगानीहरूको बारेमा जानकारी लिन आउनु हुन्छ ।

नेपाली युवाहरूमा कस्तो समस्या देख्नुभएको छ ?
नेपाली युवाहरूलाई केही गर्न जोश र जाँगर रहेको छ तर अनुभवको कमी भएको देख्न सकिन्छ । देखासिकी व्यवसाय गर्ने चलन पनि युवामा रहेको देख्न सक्छौं । आफ्नो रुची कुन क्षेत्रमा छ, त्यसलाई पनि ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।
-रिना खत्री