कारोबार संवाददाता
आइतवार, श्रावण ४, २०७७
820

संखुवासभा-बिहान सबेरै शारदा माध्यमिक विद्यालयको एउटा हलमा हलभरि महिला पुरुष तालमा ताल मिलाई नृत्यमा तल्लीन देखिन्थ्यो । कोभिड–१९ को संक्रमण बढेका कारण क्वारेण्टाइनमा बसेकालाई मात्रै योग अभ्यास गराइँदै आएकोमा अहिले योग अभ्यासप्रति चैनपुरका स्थानीय बासिन्दाले समेत चासो देखाउन थालेका छन् । लकडाउनका कारण व्यापार व्यवसायबाट फुर्सदिला बनेका चैनपुरका हरेक घरका सदस्य अहिले योगाप्रति आकर्षित हुँदै आएका छन् ।
शरीर र मनलाई जोड्दै गरिने व्यायम, प्रणायम, ध्यान चिन्तन मेडिटेसनले आफूमा रहेको तनाव हटाउने तथा जीवन स्वास्थ्य राख्न मदत पुग्ने पतन्जली योग समितिका अध्यक्ष नरबहादुर अधिकारी बताउँछन् । दैनिक नियमसंगत योग गर्न सकिए हरेक परिवारले अहिले स्वास्थ्य उपचारमा गरिरहेको लाखौंको खर्च जोगाउन सक्ने अधिकारीको भनाइ छ ।
‘योग गरौ निरोगी बनौं’ भन्ने मूल नाराका साथ चैनपुरको दिलकुमारी भवनमा दैनिक योग शिविर सञ्चालन गरिँदै आएको छ । चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले योग मानिसको जीवनपयोगी खुराक भएकाले यो निरन्तर सञ्चालन गर्नुपर्ने भन्दै यसको विस्तार गर्न घर परिवारमा समेत योग अभ्यासबारे सचेतना आवश्यक भएको बताउनुहुन्छ ।
घर वरपर, गाउँ समाजको सरसफाई मात्र नभएर ब्यक्तिको मनमस्तीस्क र शारीरिक शुद्धताले स्वस्थ बिचार र समृद्ध समाज निर्माण गर्नसकिने योग प्रशिक्षक दीपक कटुवाल बताउँछन् । वर्षायाममा खुला ठाउँमा योग गर्न समस्या भइरहेको अवस्थामा लकडाउनले विद्यालय बन्द अवस्थामा रहँदा योगका लागि धेरै सहज भएको योगप्रशिक्षक कटुवालको भनाइ छ । अव विद्यालय खुलेपछि समेत योगलाई नियमित रूपमा सञ्चालन गर्न हरेक वडातहले कम्तीमा पनि वडाभित्र एक योगाभवनको व्यवस्था गर्ने निति लिनुपर्ने उनले सुझाए ।
चैनपुर आयुर्वेद तथा योग समितिका अध्यक्ष एवं आयुर्वेद औषधालय चैनपुरका प्रमुख कविराज दिनेशप्रसाद राय र प्रशिक्षक चन्द्र तामाङको प्रशिक्षकत्वमा सञ्चालन भैरहेको योगकक्षामा चैनपुर नगरपालिकाका प्रमुख भरत खत्री, वडाध्यक्षहरू बलबहादुर अधिकारी, धनबहादुर तामाङ, गणेशप्रसाद न्यौपाने, शारदा मावि पोखरीका विव्यस सदस्य ज्ञानबहादुर कार्की, लगायतको नियमित उपस्थितिले त्यस क्षेत्रका बासिन्दामा योगाभ्यासप्रति लगाव र चासो जगाएको छ । योगअभ्यासमा सहभागि भइसकेपछि आफूमा धेरै स्फुर्ति बढेको, शारीरिक तन्दुरुस्ती भरिएको र नयाँ जोस जाँगरका साथ काम गर्ने ऊर्जासमेत प्राप्त भएको भन्दै चैनपुरका वडाध्यक्ष बलबहादुर अधिकारीले योग सबैका लागि संजिवनी भर्ने खुराक भएको धारणा राखे ।
लकडाउनपछि नियमित रूपमा योगामा सहभागी हुँदै आएका स्थानीय राजनीतिकर्मी ज्ञानबहादुर कार्कीले यस किसिमको योग लामो समयसम्म निरन्तर गर्नसके यसले सबैलाई फाइदै–फाइदा पुग्ने विचार राख्दै योगाभ्यासले आफ्ना जीवनमा भएको परिवर्तको अनुभव सबैमा शेयर गरे । चैनपुर नगरपालिकाकी उपमेयर मुना श्रेष्ठले यस किसिमको योग अभ्यासको कार्यक्रम नगर क्षेत्रभित्रका सबै वडामा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।
आयोजकको तर्फबाट योग समितिका उपाध्यक्ष नमिता काफ्लेले जलवायु परिवर्तनसँगै दैनिक उपभोग्य वस्तु, खानपान, आनीवानी लगायतमा भएको परिवर्तनले मानिसमा नसर्ने दीर्घकालीन रोग, युवाहरूमा देखिने डिप्रेसन नियन्त्रणका लागि योग अभ्यास अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

 

कृष्णराज शाक्य