राजेन्द्र बस्नेत
मंगलबार, असार ३०, २०७७
997

मलेखु (धादिङ)- सरकारले बन्दाबन्दीलाई खुकुलो पारेसँगै माछा बजारको नामले प्रसिद्ध मलेखु बजार लामो समयपछि खुल्न थालेका छन् । चैत ११ कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको बन्दाबन्दीको पूर्ण पालन गर्दै आएको बजार एक साता अघिबाट खुल्न थालेकाछन् । गजुरी गाउँपालिका–२ मा रहेको मलेखुमा रहेको ४५ वटा माछा होटलहरूमध्ये ३० वटा सञ्चालनमा आएको मलेख मजुवा टोल सुधार समितिका अध्यक्ष निरन्जन कँडेलले बताए ।
सरकारले बन्दाबन्दीलाई खुकुलो गरेसँगै सडकमा निजी गाडीहरूको चहलपहल तथा आवत–जावत बढेकाले पाहुनाहकको सेवामा एक सातादेखि होटल सञ्चालनमा ल्याएको हाम्रो मलेख होटलकी बविता कँडेलले बताइन् । अहिले दिनमा करिब दुई सयसम्म पाहुन मलेख बजारमा रोकिनु हुन्छ कँडेलले बताइन् । बन्दाबन्दीको १०÷१५ दिनसम्म खुल्लाकी भन्ने आशमा बसियो । नखुल्ले भएपछि पारिवारिक मनोरन्जन गरेर बन्दाबन्दीको नियम पालना गरेर घरमै बसियो । बन्दाबन्दीको १०÷१५ पछिबाट दम्पती मिलेर टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गरियो । अब बिहीबारबाट होटल सञ्चालन गर्ने योजना बनाएको भद्रकाली होटलका चित्र मगरले बताए । ४५ वटा होटलमध्ये १५ वटा जति होटल भाडामा छन् । भाडामा बस्नेहरूलाई भाडाको समस्या तिर्न समस्या छ भने आफ्नै घर हुनेलाई बैंक तथा वित्तीय संस्थाको किस्ता र ब्याज तिर्न समस्या छ । आखिर समस्या छ सबैलाई छ । कारोबार अनुसारको समस्या नभएको कोही छैन । हाँसेर जिउन सक्नुनै जीवन जिउने कला हो भन्छन् मगर ।

दैनिकजसो १ हजार ५ सय केजी आलो तथा सुकाएका माछाको कारोवार रोकिँदा मलेखु र रिचोकटारका करिब एक सय होटल, माछा बिक्री वितरणमा संलग्नहरू र माछा सुकानेहरूको रोजीरोटी गुमेको मात्र छैन । उनीहरूको बिहान बेलुकाको छाक बस्ने अवस्था आइसकेको बताउँछन् ।
जतिबेला पृथ्वी राजमार्गमा आठवटा गाडी चल्यो २०३५ सालमा । त्यतिबेला बर्मामा जन्मेका छविलाल मरहठ्ठाले आधा केजी त्रिशूली नदीको माछा र आधा केजी आलुबाट सुरु गरेको माछा र आलुचप अहिले मलेखुको ब्रान्ड तथा पहिचान नै भएको छ । नेपालीको मनमनमा मलेखुको माछाको पहिचान तथा ब्राण्ड बनाएको इतिहासलाई जीवित राख्न मलेखु बजारमा गजुरी गाउँपालिकाको सहयोगमा बजारवासीले माछाको प्रतिमा निर्माण भइरहेको छ । पाँच फिट लम्बाइ र तीन फिट मोटाइको माछाको प्रतिमा ६ लाख ५० हजारमा तयारी हुँदै छ र सम्पूर्ण काम सकिँदा ११ लाख खर्च हुने माछाको प्रतिमा निर्माण समितिका सचिव भरत बराकोटीले बताए । गजुरी गाउँपालिकाले आफ्नो बजार क्षेत्र तथा राजमार्ग क्षेत्रलाई सुरक्षित बनाउन सौर्य सडक बत्ती र सीसी क्यामेरा जडान गरिरहेको स्थानीय रामहरि थापाले बताए । मलेखु माछा बजारलाई चौबीसै घण्टा खुला गर्न आवश्यक तयारी भइरहेको टोल सुधार समतिका अध्यक्ष कँडेलले बताए ।