विप्लव काफ्ले
शुक्रवार, बैशाख ५, २०७७
1732

भरतपुर-कोभिड–१९ (कोरोनाभाइरस) महामारी रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले धेरै व्यक्ति फूर्सदमा छन् । फूर्सद भए पनि घुमफिर गर्ने, आयआर्जनका काम रोकिएका छन् । तर, केही कलाकार फूर्सदको समयलाई सदुपयोग गरिरहेका छन् । चित्रकलालाई पेशा बनाएका कलाकार दिनहुँ रंग र कूची सहित एकान्तबासमा छन् ।
भरतपुर–१० का दामोदर (डी) बराल सौराहास्थित भाडाको घरमै छन् । ०५३ सालदेखि चित्रकलामै होमिए । सौराहामा ‘क्रियटिभ आर्ट ग्यालरी’ ७ वर्षदेखि चलाए । अहिले यो ग्यालरी बन्द छ । नजिकै भाडाको घरभित्र उनको स्टुडिया’ अर्थात वर्कसप छ । उनी वर्कसपमा भन्दा बढी घरबाहिर बसेरै चित्र कोर्न थालेका छन् । घरका भित्तामा अड्डाइएका क्यानभासमा नेपाल चिनाउने हिमालका श्रृङखला र स्थानीयको परिश्रमको कल्पना गर्दै चित्र कोरिरहेका छन् । “सौराहा बसेर हिमालको कल्पना गरेको छु”, डि बराल भन्छन्, “कोरोना त्रास भुल्दै प्रकृतिमा रमाउन खोजेको छु ।” नेपालमा चैत ११ देखि लकडाउन गरिएको हो । लकडाउनका बेला एक दर्जन चित्र उतारेका छन् । हिमाली भेगका वस्ती, हाँसेका हमाल, पोखराको धम्पुस वस्तीलाई क्यानभासमा उतार्न व्यस्त छन् । “ग्यालरीमा जानुपनि पर्दैन, बन्द छ, घुमफिर पनि छैन”, उनी भन्छन्, “फूर्सदैफूर्सद छ, यो बेला चित्रमै रमाएको छु ।”

उनी क्यानभासमा चित्रको ‘स्केच’ तयार गरेपछि रंगाउन ब्रस, चक्कुको प्रयोग गर्छन् । “ब्रससँगौ नाइफ चलाउन मन लाग्छ”, उनले भने, “आकृतिमा कलर राम्रो बस्छ ।” डि बराल ललितकला प्रतिष्ठान नेपाल चितवनका अध्यक्ष हुन् । भारत, जापान, कोरिया, दुबई, कम्बोडिया, चीन, थाइल्याण्ड लगायतका देशमा हुने अन्र्तराष्ट्रियस्तरका कार्यशाला तथा प्रर्दशनीमा सहभागि हुने गर्थे । यही बैशाख १ गते अष्ट्रेलियामा हुन लागेको प्रर्दशनी समेत कोरोना महामारीकै कारण रोकियो । “कार्यशाला, प्रर्दशनी रोकिएका छन्, पेन्टीङको माग खासै छैन”, उनले भने, “तर, हरेक दिन नयाँ चित्र जन्मिरहेका छन् ।”
भरतपुर–४ लंकु भगवती टोलका प्रकाश थापा प्रथा इन्टरनेशनल वाटर कलर सोसाइटी नेपाल (आइडब्लुएस) को बागमती प्रदेशका संयोजक हुन् । सानोमा भित्ता, दलानमा अंगारले चित्र खुबै कोर्थे । पछि उनी ललितकला क्याम्पसमा फाइन आर्ट पढे । “सानोमा रहरले चित्र कोरियो, अहिले बजार र माग हेरेर कोरिन्छ”, प्रथा भन्छन्, “बाहिरी संसार लकडाउन छ, तर हाम्रो भित्री संसार बन्द छैन ।” उनले कोरोना भाइरस संक्रमण विरुद्धका सन्देशमुलक चित्रपनि कोरेका छन् । “सन्देशमूलक केही चित्र कोरेको छु”, उनले भने, “लकडाउन पालना गरौँ भन्ने सन्देश बोकेका छन् ।” उनी पनि नेपालकै डाँडाकाँडा, गाउँ, हिमाललाई सम्झदै चित्र कोर्न व्यस्त छन् । “बाहिर कोरोनाकै चर्चा हुन्छ, तर वर्कसपमा म चित्रकै पृष्ठभूमीमा हराउँछु”, उनले भने, “मन खोलेर चित्र बनाउने समय त होइन, तर मन भुलाउन चित्र कोर्दैछु ।” माग निकै कम भएपनि चित्र बनाउने कामले गती पाएको बताउँछन् । “माग त छैन, तर लकडाउन खुलेपछिको माग होला भन्ने आशले पेन्टीङ छाडेको छैन”, उनले भने, “मन पनि भुल्ने, सिर्जना पनि फूल्ने ।” प्रथा बालुवा प्रयोग गरिएका चित्र समेत बनाउँछन् । ४२ महिना विदेश बसेर फर्किएपछि प्रथाले बनाएका पेन्टिङ चर्चामा रहदै आएका छन् ।
रत्ननगर–१५ माधवपुरकी सुजना बगाले अहिले मुहारचित्र बनाउन व्यस्त छिन् । ललितकला क्याम्पसमा फाइन आर्ट पढ्दै गरेकी सुजना यतीबेला घरमै छिन् । स्कुले जीवनमा चित्र कोरेरै कैयन पुरस्कार जीतेकी उनी आजभोली चित्रकलामै रमाउन थालेकी छन् । “फेसबुक, मेलबाट चित्रको अर्डर भइरहेका छन्”, उनले भनिन्, “अधिकाँस मुहारचित्र बनाउनमै व्यस्त छु ।” कोरोना त्रासलाई भुल्दै सीपलाई उतार्ने मौका समेत पाएको बताउँछिन् । “लाइभ पेन्टीङ अहिले छैन, फोटो हेर्दै बनाउने गरेको छु”, उनले भनिन्, “दिन वितेको पत्तै हुदैन ।” लकडाउनका बेला ५–६ वटा बनाइरहेको छु । लाइभको बारेमा पनि स्केच गरे, अब चित्र कोर्दैछु । आफ्नै फेस राखेर संघर्षको कथालाई जोड्दै छु । इमेल, फेसबुकबाटै अर्डर आइरहेको छ ।
माडी सेरुवाका दिनेश्वर महतो करिब ८ वर्षदेखि मूर्ति तथा चित्र कोर्ने काम गर्दै आएका छन् । लकडाउनका बेला ढुंगा, माटोमा मूर्ति बनाउन सहज नभएको बताउँछन् । “अरुबेला जस्तो सहज छैन, मूर्ति तथा चित्रको ‘कन्सप्ेट’ सोच्दै दिन विताएको छु”, उनले भने, “अफसिजन पनि हो, डिमाण्ड पनि छैन ।” उनी घरमै बसेर केही चित्र कोरेका छन् । ब्रस र रंग समातेपछि मन आनन्द हुने सम्झन्छन् । उनले माडीकै सोमेश्वरगढीमा अजंगका ढुंगा कुँदेर कैयन मूर्ति बनाएका थिए । तर, अहिले घरभित्रै बस्नुपर्ने कारणले धेरै मूर्ति सिर्जना गर्न नसकेको बताउँछन् । तर, क्यानभासमा चित्र कोर्न छाडेका छैनन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख लालकाजी लामा सफल मूर्तिकार तथा चित्रकार हुन् । ठमेलमा उनको ‘क्यानभास आर्ट ग्यालरी’ छ । यो ग्यालरी अहिले सुनसान छ । तर, लालकाजी फूर्सदमा छैनन् । “सिर्जना गरेर बस्ने वातावरण बनेको छ”, उनी भन्छन्, “सबै कामबाट मुक्र भएर झनै बढी सिर्जना गर्ने समय मिलेको छ ।” उनी अहिले आफ्नो स्टुडियोमा शान्तिका अग्रदूत बुद्ध कोर्दै छन् । लकडाउनका बेला उनी नेपाली कला, संस्कृति झल्काउने दृश्यलाई क्यानभासमा उतार्ने विगतकै कामलाई निरन्तरता दिइरहेका छन् । “भ्याली बाहिर स्टुडियोमा बसेर काम गर्न सजिलो छ, तर भ्यालीमा स्टुडियोसम्म जान नसक्ने अवस्था पनि छन्, तर अधिकाँस कलाकार सिर्जनामै व्यस्त छन् ।”
फाइन आर्ट पढेर चितवनमा २ वर्ष ग्यालरी चलाएका लालकाजीको कर्मथलो हाल काठ्माण्डौ हो । उनी भरतपुर–१६ का स्थायी बासिन्दा हुन् । लालकाजीकै नेतृत्वमा कैयन कार्यशाला विभिन्न जिल्लामा भएका थिए । अहिले लकडाउनका कारण यीसबै काम रोकिएका छन् । “मूर्तिकारलाई समस्या छ, तर चित्रकारलाई अहिलेसम्म सजिलै छ”, उनले भने, “समूहगत काम गर्नेलाई केही गारो छ, तर घरमै बसेर चित्र कोर्नेलाई समस्या पारेको छैन ।” उनका अनुसार चित्रकारले रंग, क्यानभास सकिएको गुनासो गर्न थालेको बताए । “नजिकका पसल बन्द छन्, स्टक पनि सकिएको स्थिति छ”, उनले भने, “रंग, क्यानभास सकियो, समय छ काम गर्न पाइएन भन्ने फोन पनि आउन थालेका छन् ।” उनले विश्वनै कोरोना महामारीसँग लडिरहेकाले कलाकारले पनि समाजिक उत्तरदायीत्व पुरा गर्ने बेला आएको बताए ।
उनका अनुसार यही यही २ गतेदेखि हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ समेत रोकिएको छ । देशभरीबाट छनौट भएका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला लगायतका कलाकृति प्रर्दशनी तथा पुरस्कारको काम रोकिन पुगेको बताए । उनले बुटबल फुलबारीमा चैत १४ गतेदेखि हुने भनिएको कार्यशाला, देवदहको कार्यशाला रोकिएको छ । “कार्यशाला, प्रर्दशनी रोकिएपनि कलाकार सिर्जनामा व्यस्त छन्”, लालकाजीले भने, “लकडाउन खुलेपछि ग्यालरीमा प्रशस्तै मनमोहक चित्रहरू हुर्कनेछन् ।” चित्र, मूर्ति बनाउँन एकाग्रता धेरै चाहिन्छ । “शहर बजार, गाउँ सुनसान छन्”, उनी भन्छन्, “स्टुडियोभित्रका क्यानभासमा थुप्रै सिर्जना जन्मिरहेका छन् ।”