देवराज गुरुङ
बिहिवार, चैत्र ६, २०७६
512

ताप्लेजुङ - मैवाखोला गाउँपालिका–३ साँघुका ५५ वर्षीय पासाङ शेर्पा डोकाडाला बुन्न खप्पिस छन् । उबेला बावु बाजेसँग गाईबस्तु चराउँदा सिकेको सीप आम्दानीको माध्यम बनेको छ । अझ भनौं–डोको, डालो, दाम्लो,नाङ्लो इत्यादि बुनेर घरगृहस्थी चलेकै छ । यात्राको क्रममा बाटोमा डालोको भारीसँग देखिएका शेर्पा निकै थकित देखिन्थे । डालोको भारी बिसाएर आराम गरेका बेला भेटिएका शेर्पालाई उत्तिकै हतारो पनि थियो । किनकी औसी पुर्णेमा लाग्ने गाउँघरको मेलामा बेलामा पुगेर सामान विक्री गर्नु थियो ।
गाउँको सडक नजिक भारीसँग थकित शरीर अड्याएका छन् । घुँडासम्मको पहेलो रंगको गम्बुट । शिरमा ढाका टोपी । नाम्लोले थिचिएर होला, टोपी छड्के परेको थियो । चाउँरिदै गएका गाला । ठूला आँखा । भर्खरै भारी बिसाएर होला, अनुहारमा चिटचिट झरेका पसिना ओभाएका छैनन् । देब्रे हातमा समाएको लठ्ठी । त्यही लठ्ठीले डालोको भारीले थिचिएको शरीरलाई आड भरोसा दिन्छ । त्यति मात्र कहाँ हो र ! बाटोमा गाईबस्तुदेखि कुकुर लखेट्न प्रयोग हुन्छ । “तपाईहरूको जस्तो पैसा आउने जागिर छैन,” उनले भने, “११ हजार मूल्य पर्ने गरिको १८ वटा जति डालो छ । गोटाको ६ सयले विक्री हुन्छ ।” उनका लागि परम्परागत सीप नै जागिर र पेन्सन हो । मासिक आम्दानीको जिज्ञासाबारे उनले हाँस्दै भने, “लाज हुन्छ ! नभनौ होला ।” तथापी कुराकानीका आधारमा मासिक आम्दानी ३५ हजार बढीको थियो । उमेरमा लेखपढ गर्न नपाएकोमा आफ्ना बाबुआमासँग उनको कुनै गुनासो छैन । नपढेर के भो र ! हातखुट्टा सग्ला छन् । गरिबी र अभावमा जिएका बाबुआमाबाट शिक्षाको पहुँच नभएकाले पढ्नबाट बञ्चित शेर्पाले आफ्ना छोराछोरीलाई भने स्कुल पठाएका छन् । पराम्परागत सीप नै परिवार चलाउने आधार बनेको छ ।

मिक्वाखोला गाउँपालिका–४ साँघुका १२ वर्षीय बालक डोकोको भारीसँगै भेटिए । भारी विसाएको बेला गरिएको कुराकानी गज्जबको थियो । नाम नखुलाउने सर्तमा बालकले भने, “स्कुल छुट्टीको दिन घरमा बसे त्यतिकै समय वित्छ । भारी बोके पैसा कमिन्छ । फर्कदा ज्यामेट्री बक्स, नुन तेल र बहिनीलाई चकलेट ल्याउँछु ।” नातामा काका पर्नेले बुनेको डोको बोकेको र बजारमा पुगेर जिम्मा लगाएर फर्कने योजना सुनाए । आम्दानी भने सुनाउन चाहेनन् । आफूलाई पनि डोको र चित्रा बुन्न आउने बताए । घरायसी प्रयोगका लागि आफैंले तयार गर्छन् । बाख्रा र गाईबस्तुका गोठ बनाउन बार्षिक २०-३० वटा चित्रा सजिलै बुन्छन् । उनका अनुसार साथीहरू पनि डोकाडालो बोकेर बजार पु-याउने काम गर्छन् । कतिपयले घरमा बाबुबाजेले बुनेका त कतिपयले अरुले बुनेका सामान ज्यालामा बोक्ने गरेका छन् ।
साँघु गाउँमा शेर्पा समुदायको बाक्लो बस्ती छ । यहाँ उत्पादित सामग्री गाउँघरको मेला र बजार हुँदै मधेसतिर खरिद हुन्छ । गाउँमा डोको, डालो, थुन्से र नाङ्लो बुन्ने सीप भएका धेरै छन् । कतिपयले बारीमा बास र प-याङ रोपेका छन् । निगालो र मालिङगो नजिकैको जंगलबाट ल्याउँछन् । तर पहिलेजस्तो सजिलो छैन । सबैतिर सामुदायिक वन भनेर गरिएको घोषणाको प्रत्यक्ष असर जीवनयापनमा परेको छ । तथापी अहिलेसम्म शुल्क तिरेको अनुभव छैन । तर पनि जंगल स्याहार गर्नुपर्ने कुरा त्यति चित्त बुझाएका छैनन् । उनीहरूका अनुसार कुहिर खेर जान लागेका निगालो र मालिङ्गोको प्रयोग नै संरक्षण हो । हुनत घरेलु हस्तकलाका सामानको उत्पादन र प्रयोग घट्दो छ । खेतीपाती कम भएको संकेत पनि हो । नेपाली जनजीवनसँग जोडिएको मौलिक संस्कृति पनि हो । तथापि व्यवस्थित बजारीकरण हुन सकेको छैन । स्थानीय तहको प्राथमकितामा परेको छैन ।