कृञ्जला पुलामी
बिहिवार, चैत्र ६, २०७६
603

 सिन्धुलीको दुधौली नगरपालिका ३ निपानेका शम्शेरबहादुर परियारलाई केही वर्ष अघिसम्म पञ्चे बाजा बजाउन भ्याई नभ्याई हुन्थ्यो । ३० वर्षसम्म पञ्चे बाजा बजाएर गर्जाे टारेका उनी अहिले भने समस्यामा परेको छन् ।
“पहिले–पहिले त धेरै बाजा बजाइन्थ्यो । विहेको सिजनमा भ्याई नभ्याई हुन्थ्यो, अहिले त बोलाउन पनि छाडे,” शम्शेरले भने, “बाजा बजाएर नै जीवन चलाईरहेको थिएँ, अहिले भित्रिएको नयाँ प्रविधिले हाम्रो पेशा नै धराशायी अवस्थामा पुग्यो ।”

विवाह र व्रतबन्धमा बाजा बजाउन उनी सिन्धुलीका विभिन्न गाउँमा पुग्थे । अहिले उनलाई निम्तो आउनै छाडेको छ । “अहिले त विवाह व्रतबन्धमा पनि कसैले बोलाउँदैनन्,” उनले भने, “पुरानो चलनअनुसार बिहे गर्नेहरू नै कम छन् । परम्परागत बाजाको ठाउँ ब्यान्डबाजाले लिन थालेको छ ।”
निपानेकै लिलाबहादुर दमाई पनि कुनै बेला व्यावसायिक रूपमा बाजा बजाउने काम गर्थे । अहिले भने उनको पेशा फेिरएको छ । “बाउ बाजेदेखि नै बाजा बजाउने काम गर्दै आएका थियौँ,” उनले भने, “अहिले त समय परिवर्तन भयो, बाजाको सट्टा गित र आधुनिक बाजाहरू घन्किन्छन् ।”
लिलाबहादुरको परिवारको आयस्रोत भनेकै पञ्चेबाजा थियो । विवाह होस् या अन्य कुनै शुभकार्य उनी आफ्नो समूह लिएर बाजागाजाका साथ पुग्थे । तर पछिल्लो समय अन्य बाजाहरूले स्थान लिन थालेदेखि उनले यो पेशालाई चटक्कै छोडे । पञ्चे बाजाको अहिले माग नै नभएका कारणले छोड्न बाध्य भएको उनको भनाइ छ । “अर्काले माग गर्नुप¥यो । आफ्नै घरमा बाजा बजाएर बस्ने कुरा भएन,” लिलाबहादुरले भने, “अहिले यसको चाहना कसैलाई छैन, महत्व नै हराइसक्यो ।”
विवाह र भोज तथा शुभ कार्यहरूमा बाजा बजाउने गरिए पनि अहिले रेकर्ड भएका गितहरू साउण्ड सिस्टमको माध्यमबाट बजाउँदै रमाईलो गर्ने क्रम गाउँ–गाउँमा समेत पुगिसकेकाले मौलिक बाजाहरू लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् । तर आधुनिक प्रविधि भित्रिएसँगै मौलिक बाजामा आश्रित परिवार भने यो पेशाबाट पलायन हुने अवस्थामा पुगेको देखिन्छ ।
पछिल्लो समय परम्परगत मौलिक बाजाहरू प्रयोगमा आउनै छाडेको नरबहादुर नेपाली बताउँछन् । “विवाह–व्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने पञ्चेबाजा हिजोआज बज्नै छाडेका छन्,” उनले भने, “नेपाली समुदायमा परम्परागत बाजाको सट्टा आधुनिक बाजाले ठाउँ लिएको छ । पञ्चे बाजालाई हामी महत्व दिनै छाड्यौँ ।”
नरबहादुर नयाँ पुस्तामा सीप हस्तान्तरण नभएकाले पनि पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको बताउँछन् । पुख्र्याैली पेसालाई युवापुस्ताले स्वीकार नगर्दा संस्कृति नै हराउन थालेको उनको भनाइ रहेको छ । “अहिले त कसैले बजाउन मान्दैनन् । पहिले इज्जत र प्रतिष्ठासँग जोडिएको बाजा अहिले लाजका कारण हराउँदै गइसक्यो,” उनले भने ।
पञ्चे बाजाअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाईलगायतका बाजाहरू पर्दछन् । नेपाली समाजको पहिचान बोकेको यस्ता मौलिक बाजाहरूको सट्टा अन्य विभिन्न आधुनिक बाजा र नयाँ–नयाँ प्रविधिको प्रयोगले अस्तित्व नै संकटमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गर्छन् । यस्ता परम्परागत बाजा बजाउने काममा संलग्नलाई प्रोत्साहन गर्दै संरक्षण र प्रर्वद्धन गर्न तर्फ स्थानीय तहको ध्यान जानुपर्नेमा उनले जोड दिए ।
अघिल्लो पुस्तामा सहनाई, नरसिंह, दमाहलगायतका बाजा बजाउने धेरै भएपनि युवा पुस्ताको चासो भने कम छ । प्रयोग घट्दै जाँदा चासो पनि कम भएको सरोकारवालाहरू बताउँछन् । तर सिन्धुलीका केही युवाहरू भने यस्ता बाजाहरूको संरक्षण गर्दै व्यवसायीक रुपमा नै यो पेशालाई अंगाल्न सकिने गतिल्लो उदाहरण बनिरहेका छन् ।
नेपाली मौलिकताको समान र जिल्लाको पहिचानका लागि सिन्धुली कलाघर भन्ने उद्देश्य लिएर जिल्लाका युवाहरू यतिबेला लोप अवस्थामा पुगेका मौलिक बाजाहरूको संरक्षणमा जुटेका छन् ।
बाजाहरूको संरक्षणका लागि भन्दै उनीहरू जिल्लामा हुने मेला, महोत्सव, विभिन्न सांस्कृतिक कार्यक्रमका साथै विवाह व्रतबन्धलगायतका कार्यहरूमा पनि आफ्नो कला प्रर्दशन गर्न पुग्छन् ।
यो समूहमा अन्य बाजाहरू बजाउने युवाहरू भएपनि पञ्चेबाजा बजाउनेहरू भने युवती मात्रै छन् । पञ्चेबाजा लिएर मञ्चमा उभिँदा सबै जना अच्चममा पर्ने गरेको पवित्रा रम्तेलले बताइन् । उनले भनिन्, “पुरुषले मात्र बाजा बजाएको देखेकाहरू हामीले बाजा बजाउँदा नौलो मान्छन् । त्यसैले धेरैले त चासो दिएर हेर्छन् ।”
२०७५ कात्तिकदेखि औपचारिक र व्यवसायीक रुपमा पञ्चे बाजा बजाउन सुरु गरेको उनले बताइन् । पवित्राले भनिन्, “सुरुमा त मरो भागमा दमाहा परेको थियो, बजायो तालै नमिल्ने, तर अहिले त म दमाहा, ट्याम्को, झ्याम्टा र सहनाई सबै बजाउँछु ।”
पञ्चेबाजा समूहमा क्षेत्री, मगर, तामाङ, दलित समुदायका गरी ५ जना युवतीहरू छन् । ती मध्ये एक हुन् निरुता तामाङ । उनले दमाहा बजाउने काम गर्छिन् । कार्यक्रमहरूमा गएर दमाहा बजाउँदा मानिसले ध्यान दिएर हेरिदिँदा आफूलाई हौसला मिल्ने गरेको सुनाउँछिन् । “पहिले–पहिले घरकै अभिभावकले पनि बाजा बजाउन जान्छु भन्दा मान्नु भएको थिएन,” उनले भनिन्, “छिमेकीले त झन् नानाथरी भन्थे तर अहिले सबैले राम्रो गरेको छ भन्नुहुन्छ खुसी लाग्छ ।”
कलाघरका संयोजक सुमन आइडु पनि महिलाले बजाएको बाजा भनेपछि महत्व छुट्टै हुने भएकाले विशेषगरी उनिहरूलाई नै प्राथमिकता दिएर तालिम दिइएको बताउँछन् । उनका अनुसार युवतीहरूलाई पञ्चे बाजा बजाउनका लागि एक महिना तालिम दिइएको हो । “नयाँ पुस्तालाई यो बाजागाजाबारे केही थाहा छैन । युवाहरूबाटै यस्ता संस्कृतिबारे जानकारी दिदाँ राम्रो हुन्छ भनेर हामीले यसो गरेका हौँ,” उनले भने ।
सार्वजनिक कार्यक्रमहरूमा नै यसरी बाजा बजाउँदा यहि पेशा अंगालेकाहरूलाई थप प्रोत्साहन र युवाहरूलाई पनि हौसला मिल्ने उनको अपेक्षा छ । यसका साथै सिन्धुली कला घरले लोप अवस्थामा पुगेका विभिन्न कला, संस्कृति, मौलिक बाजा तथा परम्परागत र घरेलु कृषि सामाग्रीहरूको पनि संरक्षण गर्ने गरेका छन् ।