नरी बडु
बिहिवार, चैत्र ६, २०७६
1485

बैतडी - दशरथचन्द नगरपालिका–४ का खिमानन्द भट्टको घरमा समय हेर्न घडी थिएन । तर पनि उनी सधै समयमै बिउँझिन्थे । स्कुल जान उनलाई कहिले अबेला भएन । बिहान चार बजेको मिर्मिरेमा उनकी आमाले घुमाउने जाँतो नै उनको अलार्म थियो । जाँतोको आवाज र जाँतो घुमाउँदा बज्ने उनकी आमाको चुरा उनका लागि घडीको अलार्मजस्तै थियो । सधैं उही समयमा बज्ने । तर अहिले प्रविधिको यति विकास भयो कि त्यो समय कल्पना मात्र गर्न सकिन्छ । जाँतो पिँधेको मकैको रोटी यति स्वादिलो हुन्थ्यो, त्यो सम्झँदा अहिले पीठोबाट बनाईने सबै परिकार उनका लागि फिक्का लाग्छन् ।
भट्टजस्तै दशरथचन्द नगरपालिका– ७ का हरीस बडु पनि बिहान ५ बजे अन्न पीँध्न घट्ट जान्थे, तर अहिले गाउँमा मिल आएपछि घट्ट बाँझिएको छ । कुनै समय दैनिकी संचालन तथा जिविकोपार्जनका लागि पहत्वपूर्ण मानिने परम्परागत प्रविधिहरू हराउन थालेका छन् । एकताका व्यावसायिक रुपमा समेत चलेका परम्परागत प्रविधिहरू आधुनिक विकाससँगै हराउन थालेका हुन् ।

जाँतो, पानीघट्ट, कोल र आरन लगायतका परम्परागत प्रविधिहरू लोप हुन थालेका हुन् । ग्रामिण क्षेत्रहरू सडक संजाल र विद्युतको पहुँचमा आउन थालेपछि यी प्रविधिहरू लोप भएको स्थानीय बताउँछन् । यी प्रविधिहरूलाई केहीले व्यवसायिक रुपमा पनि संचालन गरेका थिए । तर अहिले यो प्रविधि लोप भएपछि उनीहरूको व्यवसाय समेत संकटमा परेको छ ।
स्थानीय खोलामा पानीको सतह घटेपछि बैतडीमा सुधारिएको घट्टको माग बढेको छ । कुटानीपिसानीमा प्रयोग हुने घट्टमा पानीका मुहान सुक्न थालेपछि थोरै पानीले चल्ने सुधारिएको घट्टप्रति आकर्षण बढेको हो ।
परम्परागत रुपमा प्रयोग हुने काठका ठाँउमा फलाम र प्लाष्टिकका सामग्री फेर्दा थोरै पानीमा चल्ने भएकाले यसतर्फ स्थानिय आकर्षित भएका हुन् । सुधारिएको मदानीबाट घट्ट चलाउँदा दुई ईन्च पानी भए पुग्ने गरेको छ ।
गएका वर्षहरूमा बैकल्पिक उर्जा केन्द्रले घट्ट सुधारमा अनुदान दिएपछि बैतडीका केही परम्परागत घट्ट सुधार भएका थिए । तर स्थानीय निर्वाचन पश्चात अनुदानको रोकिएपछि परम्परागत पाटीघट्टहरू बन्द भएका हुन् ।
बैकल्पिक उर्जाका क्षेत्रमा कार्यरत संस्था सामाजिक तथा विकास संघ (साडा) का अनुसार जिल्लामा पन्ध्र सय बढी पानीघट्टहरू छन् । जसमध्ये अधिकासंले सुधारको माग सहित निवेदन दिएका थिए ।
परम्परागत प्रविधी सुधार भएका ठाउँमा सहज भएको छ । ढिकीजाँतोमा आधा दिन बिताउने महिला फुर्सदिला भएको महादेवस्थान–८ का अम्मरबहादुर भण्डारीले बताए ।
घट्ट सुधारिएपछि गाउँमै अन्न पिध्न पाएको भुमिराजकी जानकी साउदले बताइन् । यसअघि उनी अन्न पिध्नको लागि दुई घण्टा टाढाको ब्योरीगाड खोलामा जाने गरेकी थिइन् । त्यहाँ जान नसकेको दिन जाँतोमै निर्भर हुने गरेको साउदले बताइन् ।
जिल्लामा नयाँ प्रविधि र उपकरण भित्रिएसँगै यहाँका आरनकर्मी व्यवसायीको पेशा पनि संकटमा पर्न थालेको छ । उनीहरूले आफूले गर्दै आएको पेशाबाट खासै आम्दानी गर्न नसकेपछि अधिकांश आरन व्यवसायी पलायन हुने अवस्थामा पुगेका हुन् ।
जिल्लाका ग्रामीण भेगमा पनि नयाँ खालका प्रविधिबाट बनेका सामान सजिलै र सस्तो दरमा पाउन थालेपछि आरनको महत्व घट्दै गएको मेलौली नगरपालिका–३ का जगदीश लुहारले बताए । उनले भने, “बजारमा भनेको बेलामा र सस्तोदरमा घरेलु औजार पाउँदैछन्, यसले हाम्रो पेशा व्यवसाय संकटमा प¥यो ।”
कृषि पेशा गर्नेका लागि हसिया, कुटो, कोदालो, बन्चरो र अन्य विभिन्न कामका लागि आवश्यक पर्ने धारिलो हतियार बनाइने आरनमा यी सबै सामान बजार तथा गाउँमा सहजै पाउन थालेका छन् । जिल्लाका ग्रामीण भेगमा हाल पनि आरनको काम गर्ने व्यक्तिलाई वर्षको दुई पटक अन्न दिने गरिन्छ । काम गरेबापत ज्याला नभएर खलो (एक सुप्पो अन्न) दिने गरिएको आरन व्यवसाई भानी लुहारले बताए ।
आरनलाई व्यवसायको रुपमा अङ्गाल्दै आएका उनीहरूको कामलाई हेपाईको दृष्टिले हेर्ने गरिएकाले पनि नयाँ पुस्ताले यसलाई व्यावसायिक ढङ्गले सञ्चालन गर्न चाहँदैनन् । विक, ताम्राकार, कोली, लुहार, वड लगायतका जातिको पुख्र्यौली पेशा नै यही काम भएकाले उनीहरूमाथि फरक दृष्टि अर्थात् जातीयरुपमा विभेद गर्ने गरेको स्थानीय नवराज विक बताउँछन् ।
पानीघट्ट र आरनमात्रै होइन, चिउरी पेल्ने कोल पनि लोप भएको छ । केही वर्ष अगाडि सोही कोलबाट तेल निकाली यहाँका स्थानीयले व्यवसाय समेत संचालन गर्ने गरेका थिए ।
जमाना अनुसार कोलमा सुधारका लागि कतैबाट सहयोग नभएपछि कोलका साथ–साथै यो पेशापनि लोम भएको दोगडाकेदार गाउँपालिका–४ का खगेन्द्र भट्टले बताए । यस्तै उखु पेल्ने कोल पनि प्राय लोप भैसकेको छ । केही गाउँमात उखु लगाउनै छोडिसकियो । एकातर्फ जंगली जनावरको आतंक अर्कोतर्फ परम्परागत कोलमा बढी मेहेनत लाग्ने भएपनि उखु खेति गर्ने किशानहरूको संख्या घटेको दशरथचन्द नगरपालिका–७ का रतनदेव बडुले बताए ।
परम्परागत प्रविधि संगै यहाँका परम्परागत बालीहरू पनि लोप भएका छन् । कुनै समय जिल्लाको तल्लोस्वराड क्षेत्र कोदो र मादुुोको लागि प्रख्यात थियो । तर अहिले यो बालि लोपान्मुख अवस्थामा पुुगेको छ । स्वराडमा सडक पुुगेसंगै चामर र गहुँ पनि पुुगेपछि परम्परागत बालि कोदो र मादुरो लोप भएको हो । पहिले यहाँका किशानहरूले कोदो र मादुरो बेचेर आफ्नो दैनिकी चलाउने गर्दथे तर अहिले यी बालिहरू घरमा खान समेत छैनन् ।
यस्तै समान ढुवानी र आवत–जावतका लागि प्रयोग हुने घोडा खच्चरहरूले अहिले प्राय लोपनै भैसकेका छन् । चार वर्ष अगाडीमात्रै बैतडी जिल्लाको तल्लोस्वराड क्षेत्रमा दैनिक हजार खच्चरहरूले समान ढुवानी गर्दथे अहिले खच्चर त परै जावस उनिहरूले हिड्ने बाटोहरू समेत पुरिसकेका छन् ।
संयोजन ः जिल्ला ब्युरो