कारोबार संवाददाता
बिहिवार, फाल्गुन १, २०७६
303

फोटो पत्रकार क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले जितेका छन् । चित्रकारले हाइड्रो सेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर घोषित भएको छ ।
चित्रकारले आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भएका छन् । यसैगरी सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने सेलपे डेली लाइफ विधामा गोपेन राईले बाजी मारे । त्यस्तै दिपेन श्रेष्ठले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकारले तथा सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजममा सुबिर थापाले बाजी मारे । त्यस्तै डिसहोम स्पोर्टस विधाको उपाधि विकास द्वारेले जिते भने नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो ।

सेलपे डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो । अर्घाखाँची सिमेन्ट न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए । नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रो बन्दा दिपक बुढाथोकीको फोटो तेस्रो भयो । सिटी एक्सप्रेस ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो । डिसहोम स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो । त्यस्तै नेप्टोस फोटो स्टोरीमा रोविक उपाध्यायकोे फोटो दोस्रो तथा चन्द्रबहादुर आलेको फोटाहरु तेस्रो भयो ।
एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार विकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेका थिए । निर्णायक मण्डलले विजेतासहित प्रदर्शनीको लागि उत्कृष्ट १ सय ७६ फोटोहरु छानेको छ ।
‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा छानिएको उत्कृष्ट १ सय ७६ फोटोहरुको प्रदर्शनी काठमाडौंमा यही फागुन १८ देखि २३ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा र काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा गरिनेछ ।