कारोबार संवाददाता
बिहिवार, माघ २३, २०७६
348

फोटो पत्रकार क्लबले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिताको बुधबार काठमाडौंमा निर्णायक चरण सकिएको छ । मंगलबार प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ६ हजार २ सय २५ फोटो प्राप्त भएको छ ।
दुई दिनसम्म चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ७६ फोटो छानिएको छ । छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेको चयन गरिएको छ भने सर्वोत्कृष्ट एक फोटोलाई आइएमआई–ग्लोबल–आइएमआई बैंक ‘फोटो अफ दी इयर’ घोषित गरिएको छ ।

देशभरबाट यसपालीको प्रतियोगितालाई सात सय १५ व्यावसायिक र एमेच्योर फोटोग्राफरले ६ हजार २ सय २५ फोटो पठाएका थिए । विजेताको घोषणा यही माघ २४ गते रसियन कल्चर सेन्टर, कमलादीमा एक कार्यक्रमका बीच गरिने रहेको क्लबका कार्यक्रम संयोजक अमूल थापाले जानकारी गराए ।
एजेन्सी फ्रान्स प्रेसका साउथ एसिया प्रमुख फोटो पत्रकार जोअल सामद अध्यक्ष रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणी लामा, फोटोपत्रकार विकास रौनियार, किम्फका निर्देशक तथा प्रत्रकार रमयता लिम्बु, लेखक तथा डकुमेन्ट्री मेकर शेखर खरेल र फोटोपत्रकार प्रकाश माथेमाले विजेतासहित उत्कृष्ट १ सय ७६ फोटोहरु छानेका थिए ।
निर्णायक चरणबाट छानिएका १ सय ७६ उत्कृष्ट फोटोहरुको प्रदर्शनी यही फागुन १८ देखी २३ गतेसम्म नेपाल कला परिषदमा रहने छ । काठमाडौंपछि, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ । ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन् ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजनमा भएको नेपाल फोटो प्रतियोगितामा समावेश सात विधाअन्तर्गत अर्घाखाँची सिमेन्ट न्यूज, ‘सेलपे डेली लाईफ’, वाइल्ड लाइफ एन्ड नेचर’, ‘शिखर ईन्सुरेन्स नेपाल स्माईल, डिसहोम स्पोर्टस’ र नेप्स डट आईओ ‘फोटो स्टोरी’ रहेका छन् ।