कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
315

अर्घाखाँची- नेपालमै एक मात्र लोपोन्मुख गोही पाइने तथा गौरवमय धार्मिक इतिहास बोकेको अर्घाखाँचीको बराहदहमा माघ १ गते मेला लाग्ने भएको छ ।
सयौं वर्ष पहिलेदेखि एक गौरवमय धार्मिक इतिहास बाकेको बराहादह प्राकृतिक सम्पदाको प्रमुख स्थल पनि छ । धार्मिक तथा पर्यटकीय स्थल बराहदहको प्रचार–प्रसारका लागि विगतका केही वर्षहरूदेखि मेला आयोजना गर्दै आइरहेको शीतगंगा–९ का वार्ड अध्यक्ष भिम केसीले बताए ।

धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तुलगायतका विभिन्न जिल्लाबाट पुस मसान्तामा बास बस्न भक्तजनहरू आउने गर्छन् ।
माघेसंक्रान्तिका दिन बिहानैदेखि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । उक्त दहमा स्नान गर्दा पाप नष्ट हुने विश्वास गरिने धार्मिक मान्यता रहीआएको छ । यस क्षेत्रलाई धार्मिक एवं पर्यटकीय रूपमा व्यापक प्रचार–प्रसार तथा प्रवद्र्धन गर्न भन्दै विविध कार्यक्रमको साथ यस क्षेत्रमा मेला आयोजना गर्न लागिएको बराहदह संरक्षण समितिका अध्यक्ष पदम केसीले वताए । गोही पाइने एक मात्र क्षेत्र भए पनि यो क्षेत्र व्यापक प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । यसको प्रचार प्रसारका लागि सरोकारवाला निकायलगायत सबै लाग्नुपर्नेमा स्थानीय माधव पौडेलले बताए ।
अर्घाखाँचीको दक्षिण पश्चिम भागमा रहेको वराहदह शीतगंगा नगरपालिका–९ मथुराखोलामा प्राकृतिक रूपमा सिर्जित छ । यस दहमा आई बराहा भगवानसँग बर मागेमा सोंचेको पुग्ने स्थानीय बासिन्दाहरूले बताउँछन् । गोही पाइने धार्मिक बराहदहको व्यापक प्रचार–प्रसार तथा प्रर्वद्धनमा केन्द्रीय निकायसम्म पुगोस् भन्दै यस वर्षको पाँचौँ माघी एवं साँस्कृतिक मेलाको उद्घाटन प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले गर्ने भएका छन् ।
जिल्लाको शीतगंगा नगरपालिकाको अमराईबाट करिब ३ घण्टाको जंगलमा गाडीको यात्रा र महेन्द्र राजमार्गको धानखोलाबाट १ घण्टामा यहाँ पुग्न सकिन्छ । यहाँ टेलीफोनले काम गर्दैन, क्षेत्र अत्यन्त विकट रहेको छ । यहाँको संरक्षणका लागी सवै लाग्नुपर्ने देखिन्छ । यहाँ माघेसंक्रान्तिका दिन बिहानदेखि रातभर मेला चल्छ ।
शीतगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बराहदहको संरक्षण, प्रवद्र्धनका लागि नगरपालिकाले विशेष योजना बनाएर अगाडि बढेको बताए । उनले शीतगंगा नगरपालिका केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर योजना अगाडि बढाएको बताए । आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा पिछडिएको शीतगंगा नगरपालिकाको विकासका लागि जिल्लाको सदरमुकाम सन्धिखर्क त्रिवेणी धाममा पनी माघेसंक्रान्तिका दिन सन्धिखर्कमा बृहत् कृषि मेला तथा साँस्कृतिक मेला लाग्ने भएको छ । मेलामा कृषि जन्य वस्तुको प्रदर्शनी गरिन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसालले बताए ।
गुल्मी, पाल्पा र रिडिको संगम स्थल रिडिमा दोस्रो रुरु महोत्सव तथा मेला लाग्ने भएको छ। माघे संक्रान्तिलाई लक्षित गरिएको मेलाको आज परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गर्ने चुरामणि तिमिल्सनाले बताए । यहाँ मेलाको अवलोकन तथा व्यापारका लागि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, नवलपरासी, रुपन्देही, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, काठमाडौंलगायतका जिल्लाबाट कालिगण्डकीको स्नानका लागी धार्मिक पर्यटकहरू आउने तिमिल्सनाले बताए । लोपोन्मुख घरायसी सामग्रीको यहाँ व्यापार हुन्छ ।

घनश्याम पौडेल