कारोबार संवाददाता
बिहिवार, पुष २४, २०७६
346

सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गरेका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उनले बुधबारको खेलमा १००औँ गोल गरेका हुन् ।
सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबविरुद्ध खेलको १८औँ मिनेटमा गोल गरेका थिए । ‘ए’ डिभिजन लिगमा एक सय गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गरेका हुन् । पहिलो हाफसम्ममा नेपाल पुलिस क्लबले दुई तथा च्यासलले एक गोल गरेको छ । जारी लिगमा उनको यो चौथो गोल हो । उनले पहिलो खेलमा सङ्कटा क्लबविरुद्ध दुई तथा दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गरेका थिए ।
उनले न्यु रोड टिम र जाउलाखेल युथ क्लबविरुद्धको खेलमा भने गोल गर्न सकेनन् । सन्तोषले २०६० सालमा थ्री स्टार क्लबबाट लिग खेल्न थालेका हुन् ।