मुकेश चौधरी
बिहिवार, पुष २४, २०७६
410

धनगढी - पश्चिम नेपालको तराईका थारु बस्तीहरुमा ‘माघ’ अथवा ‘माघी पर्व’ को रौनक छाएको छ । तर पछिल्ला वर्षहरुमा पहिलेको भन्दा फरक शैलीको रौनक छ ।
केही वर्ष पहिलेसम्म माघ महिना नजिकिँदै गर्दा गाउँ गाउँमा थरिथरिका तालमा मादल बजेको र गीत गाएको सुनिन्थ्यो । माघी मनाउन विभिन्न खानपिनका लागि जोहो गर्ने गरिन्थ्यो । तर पछिल्ला वर्षहरुमा माघी मनाउन मेला महोत्सव आयोजना गरी माघी मनाउने तयारी गर्नेको लहर गाउँ गाउँमा देखिन्छ ।

यसवर्ष पनि माघी मनाउन गाउँ गाउँमा मेला महोत्सव आयोजना गर्ने तयारी शुरु भएको छ । कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लब र हिमशिखर क्लबले हसुलियाले दोस्रो पटक माघ २ र ३ गते थारु सांस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना गर्ने भएको छ । उपदेश युवा क्लबले पुस २९ देखि माघ २ गतेसम्म धनगढी–६, जालीमा जाली गाउँ माघी महोत्सव २०७६ आयोजना गर्ने तयारी गरिरहेको छ ।
त्यसैगरी, धनगढी–९, बंगरा गाउँमा पनि पुस २९ देखि माघ २ गतेसम्म तेस्रो पटक बंगरा गाउँ माघी मेला आयोजना गर्ने तयारी गरिरहेको बंगरा गाउँका भल्मन्सा ओमप्रकाश चौधरीले बताए । विगत सात वर्षदेखि गोदावरी–८ मजगाउँमा माघी महोत्सव आयोजना गरिरहेको थारु कल्याणकारी सभा गोदावरी नगरपालिका समितिले महोत्सवलाई यस वर्षपनि निरन्तरता दिने भएको छ । माघी महोत्सव मूल आयोजक समितिका सचिव माधव चौधरीले माघ ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्ने गरी तयारी तिब्र पारिएको बताए ।
पुस्तान्तरण हुँदै जाँदा थारु समुदायमा नयाँ वर्षको रुपमा मनाइने माघी पर्व मनाउने तरिका पनि फेरिँदै गएको हो । समयको परिवर्तनसँगै माघी मनाउने तरिका फेरिए पनि आफ्नो परम्परा र संस्कृतिलाई बिर्सिन नहुने थारु अगुवाहरुको भनाइ छ ।
घरघरमा गई मान्यजनको आशिर्वाद लिएर मनाइने माघमा थारु समुदायले सांस्कृतिक उत्सव, कृषि, पर्यटन तथा बजार प्रबद्र्धन र विकासका लागि माघी मेला, माघी महोत्सव र माघी मिलन सहमारोह आयोजना गर्न थालेको देखिन्छ । यसवर्ष आयोजना गरिने माघी मेला तथा महोत्सवलाई भ्रमण वर्षसँग पनि जोडिएका छन् । बंगरा गाउँका भल्मन्सा ओमप्रकाश चौधरी माघी मेलाले आफ्नो ठाउँका कृषिलाई प्रबद्र्धन गर्नुका साथै सांस्कृति पर्यटनमा समेत सघाउ पु¥याइरहेको बताउँछन् ।
गाउँ–गाउँमा पुसको अन्तिम दिन सुँगुर काटेपछि थारु समुदायमा माघी शुरु औपचारिक रुपमा हुन्छ । थारु समुदायले नयाँ वर्षको रुपमा माघी पर्व धुमधामका साथ मनाइरहेका छन् ।
पछिल्लो समयमा माघी सम्पूर्ण नेपालीहरुको चाड भएको छ तर थारु समुदायमा माघी विशेष पर्वको रुपमा मनाइन्छ । माघ महिना लागेसँगै थारु संवत् २६४३ अर्थात् थारु समुदायको नयाँ आर्र्थिक वर्ष शुरु हुने छ । पुस मसान्तमा बंगुरको मासु खाने र रातभर जाग्राम बसी धमार गाउने तथा माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा सःशुल्क नुहाई घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ (उपहार) छुट्याउने चलन थारु समुदायमा रही आएको छ । यति गरिसकेपछि मान्यजनहरुसंग आशिर्वाद थाप्दै ढिक्री, बंगुरको मासु, तरुल लगायतका परिकार खाँदै माघ मनाइने गरेको थारु समुदायका जानकारहरु बताउँछन् ।
थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीका अनुसार थारु समुदायले माघ १ गते खानपिन, ढोगभेट र रमाइलोमै बिताउने गरेको छ । दिउँसोभरि आर्शिवाद थाप्ने र मिठो मसिनो खानुका साथै साँझबाट मघौटा नाच्ने र धमार गाउने गरिन्छ ।
माघ महिनासँगै नयाँ आर्थिक वर्ष शुरु भएकाले थारु समुदायले माघ २ गतेदेखि अघिल्लो वर्षको समिक्षासंगै योजना तर्जुमा र नेतृत्व (भल्मन्सा, चिराकी-चौकीदार) को जिम्मेवारी हेरफेरमा जुट्ने गरेको छ । माघ २ गतेदेखि नयाँ भल्मन्सा (बड्घर), देशबन्ध्या (बर्का गुरुवा) चुन्ने वा पुरानैलाई निरन्तर जिम्मेवादी दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्ने गरिन्छ । पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्दतिद्वारा अनुमोदन गर्ने चलन समेत थारु समुदायमा रहीआएको छ । गाउँमा नयाँ वर्षभरिका लागि नयाँ नियम बनाउने गरिएको थारु कल्याणकारिणी सभाका कार्यवाहक सभापति माधव चौधरीले बताए ।
थारुहरुको घरभित्र भने छोराछोरीको विहे गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनि छलफल हुने गरेको छ । विगतमा थारु समुदायमा रहेको कमैया÷कमलरी राख्ने कुप्रथा पूर्ण रुपमा हटेको छ । भाइभाइ घर फुट्ने चलन नराम्रो रहेकाले त्यसलाई न्युनिकरण गर्नुपर्ने जागरण आएपछि थारु समुदायमा यि विषयमा छलफल हुन छाडेको बताउँछन्, थारु नेता ठाकुर करियाप्रधान ।
थारु समुदायले पुस मसान्तदेखि माघको पहिलो सातासम्म यि सबै काम गरिसक्छन् । माघको एक सातामा योजना तर्जुमा गरी उनीहरु काममा फर्किने गरेका छन् । काम गर्दै जाँदा माघीमा बनाएको नियम प्रयोगात्मक नभएमा, कुनै अर्को नियमसंग बाझिएमा वा कसैको चित्त नबुझेमा भल्मन्साद्वारा विशेष बैठक बोलाई छलफल गर्ने र संशोधन गर्ने चलन थारु समुदायमा छ ।