कारोबार संवाददाता
बिहिवार, पुष २४, २०७६
561

फोटो जर्नलिस्ट क्लब नेपालले विगत ७ वर्षदेखि बर्सेनि आयोजना गर्दै आएको फोटो प्रतियोगिताको ७ औं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको छ । क्लबले पुस २० गते आइतबार कमलादीस्थित होटल रोयल सिंघीमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता घोषणा गरेको हो ।
ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल फोटो प्रतियोगिता २०७६ सुुरु भएको घोषणा गरेका थिए । उनले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरी प्रतियोगिताको शुरुवात गरेका थिए ।
विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले फोटो दर्ता गराउन सक्नेछन् । क्लबको आधिकारिक वेब्साइटमा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ । प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् । प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने छ । उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनु पर्नेछ । हुने दर्ता प्रक्रिया माघ १७ मध्यरात १२ बजे बन्द हुनेछ ।