कारोबार संवाददाता
बिहिवार, आश्विन २, २०७६
556

संखुवासभा - अपांगता भएका द्वन्द्व पीडितहरुको राष्ट्रिय सञ्जालले संखुवासभाको खाँदबारीमा ‘द्वन्द्व पीडितहरुका १४ फोटो कथाहरु’ नामक फोटो तथा वृतचित्र प्रदर्शनी गरेको छ । सञ्जालले खाँदबारीको पोखरी पार्कमा प्रदर्शनीको आयोजना गरेको हो ।
जिल्ला अपांग संघ संखुवासभाले संयोजन गरेको फोटो तथा वृतचित्र प्रदर्शनीमा दश वर्षे द्वन्द्वको क्रममा राज्य पक्ष र तत्कालिन माओवादीबीचको युद्धको क्रममा घाइते भएका सर्वसाधारणको प्रतिनिधिमूलक तस्बिरहरु प्रदर्शन गरिएको गरिएको थियो । प्रदर्शनीमा फोटोसँगै सम्बन्धित व्यक्तिहरुको कथा उनीहरुकै आवाजमा सुन्ने व्यवस्था गरिएको थियो । त्यस्तै, भिडियोमा हेर्ने व्यवस्था समेत गरिएको थियो ।
तत्कालिन द्वन्द्वको क्रममा अनाहकमा धेरैले ज्यान गुमाएको र धेरैले अपांग भएर बस्नुपरेको अवस्थालाई देखाउन प्रदर्शनीको आयोजना गरिएको अपांगता भएका द्वन्द्व पीडितहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिए । द्वन्द्वले पार्ने प्रभावहरुको बारेमा जनचेतना जगाउनको लागि पनि प्रदर्शनी गरिएको खत्रीले बताए । प्रदर्शनी देशका ७७ जिल्लामै आयोजना गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।