प्रकाश पाक्साँवा
बिहिवार, आश्विन २, २०७६
557

तेह्रथुम - विषेशगरी सोल्टी–सोल्टिनी वा साइनो सम्बन्ध नलाग्नेबीच हात समाएर गोलो घेरा बनाएर नाच्नु लिम्बू जातीको बिषेशता हो । विवाह, शुद्धाइँ तथा विभिन्न चाडपर्व र मेलाहरुमा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धान नाच भनिन्छ ।
यो नाच लिम्बू समुदायको मौलिक संस्कृतिभित्र पर्ने लोकप्रिय सभ्यता हो । सुखदुँखको समयमा साईनो नलाग्ने महिला र पुरुषले हातमा हात समाएर गोलाकार घेरामा घुम्दै, अघि पछि सर्दै मुन्धुमको साथमा नाचिने यालाङ नाचको बेला गाइने गीत ‘पालाम’ हो ।

जातिय चिनारी बोकेको नाच ‘धान नाच’ लोप हुने अवस्थामा छ । मेला, उत्सव, विवाह, भोज, बजारमा मायाप्रिती साट्दै दुःखसुख पोख्ने माध्यमको रुपमा नाचिँदै आएको धान नाच पछिल्लो समय उधौली–उभौली पर्व तथा औपचारिक कार्यक्रममा मात्रै सीमित हुन थालेको छ ।
विगतमा यो नाच सात दिन सात रातसम्म नाच्ने प्रचलन थियो । यो नाचमा केटा र केटीले हात समातेर ‘पालाम’ मार्फत मनको भाव सुनाउने गर्दछन् । पालाम गाउँदै जुहारी खेल्दै गएपछि एकअर्काबीच मन परापर भएमा विहेसम्म गरिन्छ । तर अहिलेको पुस्ताले यो कुरा बिर्सदै गएकोप्रति अग्रजहरू चिन्तित बनेका छन् ।
पछिल्लो पुस्तालाई धान नाचसम्बन्धी ज्ञान नभएकैले चासोक तङनाममा धान नाच नाचिने गरिएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष गगेश कुमार सेनेहाङले बताए । उनले भने, “अहिलेका नयाँ पुस्तालाई धान नाच्नै आउदैन, धान नाच के हो भन्ने नै थाहा छैन । यसले गर्दा लिम्बूहरूको सांस्कृतिक नाच धाननाचको संरक्षण गर्न कठिन छ ।”
परापूर्व कालमा धान पाकेको समयमा सबै गाउँले भेला भएर एकै ठाउँ खलामा धान माडिने गरिएको र छेउछाउमा आएका चराचुरुङ्गीहरुलाई धपाउन ‘हा.. हा.. हा...’ गरेर धपाइन्थ्यो । साथै धान खाने चरालाई धपाउँदा धपाउँदै धाननाच शुरु भएको किंवदन्ती रहेको लिम्बू संस्कृतिविद् म्याङलुङ–६ जिरिखिम्तीका ९१ वर्षिय वृद्ध भर्तबहादुर सिंजागूले बताए । “त्यहि धाननाच मायाप्रितीको भाका साट्ने माध्यमको रुपमा विकास हँुदै गएको हो,” भने ।
बसाइँसराइ र वैदेशिक रोजगारीले युवा पुस्तामा धान नाचसम्बन्धी ज्ञान नभएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय पार्षद कृष्णमान तुम्बाहाङफेले बताए । “लिम्बू जातिको पहिचानलाई जीवन्त राख्न भाषा, लिपि, संस्कृतिको जगेर्ना गर्न आवश्यक छ,” उनले भने ।
आफ्नो प्रेमिल भाव व्यक्त गर्दै नाचिने यो नाच संरक्षणका लागि राज्यले ठोस कार्यक्रम ल्याउन आवश्यक रहेको लिम्बू संस्कृति बचाउ अभियानका संयोजक विजय निङलेकुले बताए । “लिम्बूहरुको संस्कृति जगेर्नाको पक्षमा सरकार उदासिन छ।“ उनले भने ।
पुस्ता हस्तान्तरण हुन नसक्दा पछिल्लो समय यो धाननाच लोप हुने अवस्थामा पुगेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुबाबु मावोहाङले बताए । “प्रत्येक आर्थिक वर्षमा नगरपालिकाबाट धाननाच संरक्षणका लागि रकम बिनियोजन हुँदै आएको छ,” उनले भने, “यसले थोरै भए पनि मौलिक संस्कृति संरक्षणमा टेवा पुगेको छ ।”
धाननाच पूर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, पाँथचर, ईलाम, ताप्लेजुङ्ग लगायतका पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने लिम्बू समुदायले नाच्ने गरेका छन् ।