मीनकुमार नवोदित
बिहिवार, भदौ २६, २०७६
262

विराटनगर - अहिले विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थी नै देशका कर्णधार हुन् । अर्थात् भोलि मुलुकको शासन, प्रशासन मात्रै होइन कला, साहित्य, गीतसंगीतलगायतको नेतृत्व गर्ने जिम्मेवारी उनीहरूकै काँधमा छ ।
विद्यार्थीहरू अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय हुनु आवश्यक छ । पछिल्लो समय साहित्यसँगै रंगमञ्चतर्फ विद्यार्थीको आकर्षण बढ्दो छ । विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा सुरु भएको विद्यालय नाटक महोसत्वमा विद्यार्थीको सहभागिताले पनि रंगमञ्चप्रति विद्यार्थीको आकर्षणको पुष्टि गर्दछ । महोत्सवमा मञ्चन हुने १० वटा नाटकमध्ये ९ वटा विद्यार्थीहरूकै छ । आरोहण गुरुकुलको ‘म नैतिक’ बाट सुरु भएको महोत्सव भदौ २९ गते ‘परिवेश’ शीर्षकको नाटक मञ्चनपछि महोत्सवको बिट मारिनेछ । युवाकवि रमेशचन्द्र अधिकारीको निर्देशन रहेको ‘परिवेश’मा मोरङको रञ्जनीस्थित एकेडेमिक ईङ्लिस टिचिक स्कुलका विद्यार्थीको प्रस्तुति रहनेछ । ‘म नैतिक’ युवासाहित्यकार धीरज राईले लेखेका हुन् भने निर्देशन विकास पराजुलीले गरेका छन् ।

“अरुबेला नाटकका दर्शकका रुपमा नाटकघर पुग्ने विद्यार्थीहरूले यसपटक नाटक मञ्चन गरिरहेका छन्,” आरोहणका अध्यक्ष भैरव क्षेत्री भन्छन्, “विद्यालयस्तरदेखि नै नाटकप्रति आकर्षित गर्ने हाम्रो उद्देश्य हो ।” महोत्सवमा सहभागिताका लागि थुप्रै विद्यालयले चासो देखाए पनि यसपटक ९ वटा विद्यालयलाई मात्रै सहभागी गराइएको उनको भनाइ छ । प्रदेश–१ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले उद्घाटन गरेको महोत्सवअन्तर्गत शनिबार लोकनाथ नेपालको लेखन र निर्देशनमा सत्यनारायण माविका विद्यार्थीले ‘अँध्यारो बाटो’ मञ्चन गरे । आइतबार विद्यार्थी अपेक्षा तामाङको निर्देशनमा अन्नपूर्ण एकेडेमीले ‘मेहनत र परिश्रमको फल’ सोमबार शिक्षक अमुदा कोइरालाको निर्देशनमा पेरागन एकेडेमी माविले ‘दसैं’, मंगलबार आरोहणका कलाकार भरत कार्कीको निर्देशनमा सेन्ट जोसेफ स्कुलले ‘लक्ष्मीपूजा’, बुधबार शिक्षक भवानी दाहालको निर्देशनमा ‘सप्तकोशी स्कुलले ‘छाउपडी’ नाटक प्रस्तुत गर्नेछन् ।
त्यस्तै शिक्षक अस्मिना भट्ट कर्णको निर्देशनमा बिहीबार बूढानिलकण्ठ स्कुलले ‘नासो’, शुक्रबार शिक्षक चिरञ्जीवी तिम्सिनाको निर्देशनमा लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले ‘प्रधानमन्त्री’ शनिबार शिक्षक सीमा अग्रवालको निर्देशनमा श्रीश्री रविशंकर विद्या मन्दिरले ‘चण्डालिका’ र भदौ २९ गते आइतबार शिक्षक रमेशचन्द्र अधिकारीको निर्देशनमा रञ्जनी एकेडेमीले ‘परिवेश’ नाटक प्रस्तुत गर्नेछन् ।
महोत्सवका संयोजक दीपेश भण्डारीका अनुसार सबै नाटकमा विद्यार्थीले नै अभिनय गर्नेछन् । “धेरै समयको तयारी नभए पनि सबै नाटकमा विद्यार्थीको सशक्त अभिनय छ,” उनले भने, “नाटकप्रति विद्यार्थीको मोह र आकर्षण बढ्नु खुसीको कुरा हो ।” आरोहणको स्थापनासँगै विराटनगरमा रंगमञ्च सक्रिय भएको छ । आरोहणबाहेक विराट आदर्श साहित्यिक मञ्चले पनि बेलाबेला नाटक मञ्चन गर्दै आएको छ । मञ्चले प्रस्तुत गर्ने नाटकमा पनि विद्यार्थीले नै अभियन गर्दछन् । मञ्चले पनि आरोहणकै सुशीला कोइराला नाटकघरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ र वरिष्ठ आख्यानकार परशु प्रधानको ‘छिंडीभरिको आकाश’ मञ्चन गरिसकेको छ । आगामी पुसमा ‘छिंडीभरिको आकाश’ पुनः मञ्चनको तयारी भइरहेको मञ्चका अध्यक्ष कट्वाल दीपकले बताए ।
आरोहणको महोत्सवमा ९ विद्यालयका १ सय ५० जनाभन्दा बढी विद्यार्थीले विभिन्न ९ नाटकमा अभिनय गर्नेछन् । महोत्सवमा करिब ४ हजारभन्दा बढी विद्यार्थीले नाटक हेर्ने अपेक्षा राखिएको महोत्सवका अर्का संयोजक अशोक गौतम बताउँछन् । “हाम्रो उद्देश्य भनेको विद्यार्थीलाई नाटक खेलाउने र देखाउने नै हो,” गौतमले भने, “बढीभन्दा बढी विद्यार्थीलाई नाटक देखाउने वातावरण सिर्जना गरेका छौं । भोलिका दिनमा विद्यालयहरूलाई नाट्य गतिविधिमा अगाडि बढ्न सहयोग पक्कै पुग्नेछ ।” महोत्सवले भविष्यका लागि कलाकार र दर्शक जन्माउने युवाकवि धीरज राई बताउँछन् ।