केशव समर्पण
बिहिवार, भदौ २६, २०७६
255

हेटौंडा - प्रकृतिको पूजा गर्दै नया“ फलेका अन्न खाएर सिमान्तकृत आदिवासी जनजाति चेपाङ समुदायले आफ्नो सांस्कृतिक पर्व न्वागी (छोनाम) धुमधामले मनाएका छन् । यस दिन चेपाङ समुदायका प्र्रत्येक घरमा रातभर एकपाखे ढ्याङ्ग्रो ठोक्ने र देवीदेवता मनाउने चलन छ ।
फलेका अन्न तथा फलफूल तरकारी न्वागीकै दिन चेपाङका पण्डित पाण्डेमार्फत् देवी देवतालाई चढाएर मात्र उनीहरुले खान सुरु गर्ने गर्दछन् । वर्षायाममा फल्ने काँक्रो, करेला, गाभा, निबुवा, कागतीलगायतका तरकारी तथा फलफूल चेपाङ समुदायले न्वागीमा देवतालाई चढाएपछि मात्र खान सुरु गर्छन् । हरेक वर्ष भदौ २२ गतेका दिन न्वागी (छोनाम) पर्व मनाउने चलन छ ।

घरमा नयाँ अन्न भित्रिएको खुसियालीमा मनाइने छोनाम (न्वागी) पर्व चेपाङ समुदायले मात्र मनाउने एक सांस्कृतिक पर्व भएको नेपाल चेपाङ संघ मकवानपुरका पूर्वअध्यक्ष खेम चेपाङले बताए । उनीहरुले ढुङ्गा, माटो, रुख, पानी, घाम आदि प्राकृतिक वस्तुहरुलाई न्वागीका दिन विशेष रुपमा पूजा गरी नया“ फलाहार चढाउने गर्छन् ।
चेपाङ समुदायले न्वागी पर्वमा आफूले उब्जाएको अन्नले वर्षभरि खान पुगोस् भनेर कामना पनि गर्ने गर्दछन् । न्वागीमा आफन्तहरु जम्मा भएर पूजा गर्ने, ढ्यांग्रो बजाउने, आपसमा खुसीयाली साटासाट गरी मनाउने गरिएको चेपाङ संघ मकवानपुरका पूर्वअध्यक्ष खेम चेपाङ बताउँछन् । न्वागीलाई चेपाङ जातिले सबैभन्दा ठूलो पर्वका रुपमा मनाउँछन् । दसैं, तिहार लगायतका पर्व मनाउने चेपाङ जातिले भुँयार, वायु पूजा गर्छन् ।
यसैबीच विभिन्न जिल्लाका चेपाङ समुदायका मानिसहरु भेला भई मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुरमा भेला भई आइतबार साँझ सांस्कृतिक कार्यक्रम गरी न्वागी मनाएका छन् । न्वागी विशेष कार्यक्रममा धादिङ, चितवन र मकवानपुरका गरी करिब एक हजारभन्दा बढी चेपाङहरु चैनपुरमा भेला भई न्वागी मनाएको नेपाल चेपाङ संघ मकवानपुरले जनाएको छ ।
चेपाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङको न्वागीको अवसरमा आइतबार सार्वजनिक बिदासमेत दिएको थियो । गाउँपालिकाले यसवर्षदेखि भदौ २२ गतेका दिन चेपाङ जातिको छोनाम न्वागीको अवसरमा सार्वजनिक बिदा दिन सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । मकवानपुर, धादिङ र चितवन जिल्ला मुख्य बसोबास रहेको चेपाङ जातीको जनसंख्या करिब ७० हजारको हाराहारीमा रहेको छ ।