सागर परियार
बिहिवार, भदौ २६, २०७६
232

जुम्ला - पातारासी गाउँपालिका–२ तल्फीकी ६५ वर्षिय गोईली बोहोरा कुनै विशेष अवसरमा पुरानो पहिचान झल्किने पहिरन लगाउँछिन् । हातमा चाँदीको बाला, घाँटीमा सिक्काको माला, खुट्टामा चाम, ऊनीको पटकी, ठेटुटाको गामन, कालो कम्बल, कालो मखमली चोली लगायतका पहिरन उनलाई मन पर्छ ।
सोहि गाउँकी सम्झना बोहोरा पनि विशेष अवसरमा पुराना भेषभुषा लगाउँछिन् । यस्तै पहिरन लगाएका बेला भदौ २० गते पातारासीमा भेटिइन् सम्झना । पातारासीमा भएको सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय तेस्रो बैठकको उद्घाटनमा मागल गाउनका लागि उनीहरुलाई बोलाइएको रहेछ ।

मन्त्रीले कार्यक्रमको उद्घाटन गर्नुअघि मागल गाउन गोईली, सम्झना, बाचुलगायत ४ जनालाई मञ्चमा बोलाइयो । उनीहरूले लगाएको पहिरनको फोटो खिच्न पत्रकारदेखि स्थानीयको लर्को लाग्यो । साथै कर्णालीका पर्यटनमन्त्रीले पनि परम्परागत पहिरन लगाएका महिलासँग फोटो खिचे । त्यो दृष्यले कर्णालीको परम्परागत पहिरनको महत्व, आवश्यकता र विशेषता झल्कायो ।
१०–१५ वर्षअघिसम्म सबैका घरघरमा पाइने परम्परागत पहिरन आजभोली सबैको घरमा भएको भए पातारासीका ४ महिलाले लगाएको पहिरन नयाँ हुने थिएन । यदाकदा मात्रै लगाइने भएकोले लोपोन्मुख पहिरन सबैको आकर्षणको केन्द्र बनेको हो ।
जुम्लाका विभिन्न पर्व, संस्कृतिसँग मिल्ने भेषभुषाहरू भिन्नाभिन्नै छन् । विवाह, ब्रतबन्धदेखि मागल गाउँदा, पञ्चेबाजा बजाउँदा, हुड्के नाच्दा, ढाल नाच नाच्दा लगाउने पहिरन फरकफरक हुन्छन् । जुन पछिल्लोे समय भेटाउनै मुस्किल भएका छन् । कसैका घरमा भएपनि त्यसलाई सजाउनका लागि मात्रै राख्ने गरिएको छ ।
अब कर्णालीका नयाँ पुस्ताले आफ्नो मौलिक पहिरनलाई जोगाउन संरक्षणमा जुट्नुपर्ने बेला आएको छ । संस्कृतिविद् रमानन्द आचार्य भन्छन्, “पुर्खाहरूले दोचा, दोफर (जुत्ता चप्पल), ऊनीको शुरुवाल, उनीको बख्खु (दौरा सुरुवाल) ऊनी पाखाको कोट, भाउराको गाँदो, उनीकै नेपाली टोपी पुरुषको पहिरन हो । पहिला सबैले लगाउनेमा आजभोली खोज्दै जाँदा पनि यस्ता पुराना कपडा लगाउने पुरुष भेटिँदैनन् । त्यस्तै महिलातर्फ लगाउने पुराना परम्परागत पहिरनहरूमा ठेटुवाको गामन (धोती) टुन्डेलाको फरिया, लहरे डौठो (पछ्यौरा) कालो काम्लो, कुकुकुरछाप डौठो, ठेटुवाको घाग्रो, फुली, झक्के बुलाकी, पाते मुन्ना, फुली, खुट्टामा चाँदीका कल्ली, हातमा चाँदिका बाला, घाँटीमा ज्याले हुन् ।” पछिल्लो पुस्ताले चासो नदिनु, अघिल्ला पुस्ताले सिकाउन नसक्नु नै मुख्य समस्या भएको आचार्य बताउँछन् ।
कर्णालीका परम्परागत भेषभुषा, पहिरन संस्कृति जोगाउने अभियानमा स्थानीय सरकार लागे पनि सतही खालको कार्यक्रम भएकोले ऐतिकासिक कुराको सरंक्षण अझै चुनौतीपूर्ण देखिएको छ । यहाँको तातोपानी, गुठिचौर गाउँपालिका पञ्चेबाजा संरक्षणको नीति लिए पनि खास पञ्चेबाजासँग जोडिएको संस्कृति, त्यसका पहिरन, मागल गाउँदा लगाउने पहिरन, ढाल नाच, ढुक्के नाचलगायतका पहिरनहरू कतै छैनन् । यसमा स्थानीय सरकारले विशेष जोड दिनुपर्ने संस्कृतिविद् आचार्यको जोड छ ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने र गुठिचौर गाउँपालिकाका अध्यक्ष हरि बहादुर भण्डारीले परम्परागत पहिरन संकलन गर्ने, बचाउने अभियानमा जुट्ने प्रतिबद्धता गरेका छन् । बजेट नै छुट्याएर परम्परागत पहिरनको संरक्षणलाई प्राथमिकता दिने उनीहरूको दाबी छ । होमस्टेमा पनि तिनै पहिरन लगाएर पर्यटकलाई स्वागत गर्ने तयारीमा सञ्चालकहरु जुटेका छन् ।