कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६
332

गत चैत १७ गते आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार आयोजित एक कार्यक्रममा बारा पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई घर हस्तान्तरण गरे ।
जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरु हस्तान्तरण गरिएको हो । ‘घुम्रपात’ नाम राख्न सुझाइएको उक्त चक्रवातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बौं मूल्य बराबरको धनमाल क्षति भएको थियो । सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाको २८ नं. बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माण कार्य पूरा गरेको हो ।

बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत नेपाली सेनाले ८६९ घर निर्माण गरेको हो । मूल्य अभिवृद्धि करसहित प्रतिघर चार लाख ८४ हजार ८ सय ८८ रुपैयाँ लागत रहेको उक्त आवास निर्माणका लागि सरकारले ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो । उक्त आवास निर्माण कार्यमा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालन गरिएको थियो ।
उक्त क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना, सहजीकरण र समन्वय गर्न गठित समितिले साउन अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकोमा तराई–मधेशमा आएको बाढी र डुबानका कारण केही दिन निर्माणकार्य स्थगित गर्नुपरेको थियो ।
कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रदेश नं. २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय जनप्रतिधिको उपस्थित थियो । कार्यक्रमअघि कार्यवाहक प्रधानमन्त्री पोखरेलले बाराको चैनपुरमा निर्माण गरिएको ती घरहरुको अवलोकन गरेका थिए ।
घर हस्तान्तरण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले नेपाली सेनाले मितव्ययिता अपनाएर नेपाल सरकारले दिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ भएर पूरा गरी व्यावस्था परिवर्तनमा पनि उदाहरणीय भूमिका खेलेको बताए । उनले नेपाली सेनाले दुःखमा परेका जनताको सेवा गरेर व्यावस्था परिवर्तनमा पनि समन्वयकारी भूमिका प्रदर्शन गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिए । उनले अहिले व्यवस्था परिवर्तनपछि देखिएको तीन तहको सरकारबीचको समन्वयको पहिलो दृष्टान्त हावाहुरी पीडितको लागि नेपाली सेनाले बनाएको घरले प्रमाणित गरेको भन्दै जनताले सेवा नपाएको गुनासो गर्नु स्वाभाविक भएको र यसलाई क्रमैसँग समाधान गर्दै लाने बताए ।
उनले भने, “हामीले सरकारमात्रै परिवर्तन गरेको होइन, व्यवस्था नै परिवर्तन ग-यौं, तीन तहको सरकारबीच कसरी समन्वयमा काम हुन्छ भन्ने पहिलो दृष्टान्त बारा र पर्साका हावाहुरी पीडितलाई बनाइदिएको घरले स्पष्ट पारेको छ ।” उनले देश र जनताको हितलाई शिरमा राखेर काम गर्ने हो भने जुनसुकै जटिलतालाई पनि सहज रूपमा समाधान गर्न सकिने बताए । उनले अहिले जनअपेक्षाअनुसार सरकारले काम नगरेको भन्ने गुनासोहरू आएको भएपनि जनताको घरदैलोमा सेवा सहज रूपमा पु-याउन पर्याप्त नीतिको अभावले समस्या भएको बताउँदै अब सबै नीति निर्माण अन्तिम चरणमा पुगेकोले जनताले महशुस गर्नेगरी सरकारले काम अगाडि बढाएको दाबी गरे ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश २ को पर्सा र बाराका हुरीपीडितहरूको पीडामा नेपाल सरकारले निकै चासोका साथ काम गरेको र सरकारका सबै तहका उच्च अधिकारीहरूले पनि यसलाई गम्भीरताका साथ लिएर प्रदेश सरकारसँग पनि समन्वय गरेकोमा प्रशंसा गरे । उनले विपदपछि प्रधानमन्त्री केपी ओलीसँग भएको कुराकानीको स्मरण गर्दै विपद् आइपरेको सुरुवातमा नै प्रधानमन्त्री ओलीले घर निर्माणको जिम्मा नेपाली सेनालाई दिनुपर्छ भनेर आपूmसँग छलफल गरेर सही निर्णय गरेकोले नै आज प्रभावित परिवार घरमा बस्न पाएको बताए ।
नेपाली सेनाले छोटो समयमा अत्यन्त मितव्ययीता अपनाएर सबैसँग समन्वयकारी भूमिका निर्वाह गरेको भन्दै नेपाल सरकार र नेपाली सेनाप्रति उनले आभार प्रकट गरे । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारबाट प्राप्त जिम्मेवारी कर्तव्यनिष्ठ भई कुशलताका साथ घर निर्माण सम्पन्न गरेको भन्दै निर्माण कार्यदलमा खटिएका सेनाका सबै तहलाई धन्यवाद दिए ।
प्रारम्भिक लगत संकलनअनुसार पर्सामा र बारामा गरी कुल ८ सय ६९ वटा घर निर्माण कार्य सेनाले सम्पन्न गरेर हस्तान्तरण गरेको छ । प्रति परिवारको आवासका लागि सरकारले ५ लाख ४५ हजार ९ सय ८५ रुपैयाँका दरले रकम निकासा गरेर पठाएको थियो । तर, सेनाले भने खर्चमा मितव्ययिता अपनाएर ४ लाख ८४ हजार ८ सय ८८ रूपैयाँमा घर निर्माण गरेको छ ।
नेपाल सरकारबाट निकासा भएको बजेट रकमको ५३.८३ प्रतिशत खर्च गरेर ५ करोड ३८ लाख २६ हजार ४ सय ५७ रूपैयाँ सरकारलाई फिर्ता पनि गरिएको नेपाली सेनाको जनता आवास कार्यदलका कमाण्डर २८ नम्बर बाहिनीका बाहिनीपति विनयविक्रम राणाले जानकारी दिए ।