कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
168

श्रम तथा पुँजी उपार्जन आज राज्यको आवश्यक्ता भइसकेको छ । जसका लागि कठिन संघर्षसहित लगनशील हुनुपर्ने यथार्थ बुझिसकेका अमृत जब नुवाकोटबाट पिपुल्स कलेजमा स्नातक तह अध्ययन गर्न पसे, त्यस बेला सुनका गहनामा कला कोर्ने बानी बस्यो । यही कलालाई पेसाका रूपमा पछयाउँदै अमृतले सुनका गहनामा यो कला देखाउँदै, बालाजुको माछा पोखरीस्थित गोल्डन राइज ज्वेलर्स नामक शोरुम सञ्चालनमा सफल भएका हुन् । त्यसो त नेपाली हातेकला कुदिएका सुन–चाँदीका गहना विदेशी बजारमा अत्यधिक मन पराइने वस्तुमध्ये पर्न सफल हुँदै गएको छ ।
तर, नेपालले बहुमूल्य वस्तु निर्यातमा प्रस्ट नीति लिन नसकेपछि हस्तकलाअन्तर्गत नेपाली कला झल्किने गरगहना निर्यात हुनबाट वञ्चित हुन पुगेको छ । अन्तर्राष्ट्रिय वाणिज्यमा उच्च घाटा बेहोर्न बाध्य नेपालले गहना निर्यातलाई प्रोत्साहन गर्न सके विदेशी मुद्रा आम्दानीको प्रमुख स्रोत बन्न सक्छ । उनका अनुसार त्रिभुवन विमान स्थलका कर्मचारीबाट गहना निर्यातलाई हतोत्साहित गरिन्छ भने यस प्रकारका गहना निर्यातमा आवश्यक कागजात भए पनि त्रिवि विमान स्थल भन्सार प्रशासनबाट गहना जफत गरी निर्यातकर्तालाई कारबाहिको दायरामा ल्याइने गरिन्छ । यसकाणले समेत सुनका गहना निर्यातले प्रशय पाउन सकेको छैन ।

अमृतले सुनमा कोर्ने कलालाई अन्य थप १० व्यक्तिलाई सिकाइ रोजगार उपलब्ध गर्नसमेत सफल भएका छन् । उनको समूहले सुनमा आकर्षक नेपाली कला प्रस्तुत गर्न सफल हुँदै गएको छ भने विगत १५ वर्षदेखि अमृतले अपनाएको यही पेसाका कारण अन्य युवा सरह विदेशपलायन हुन परेको छैन । अर्कातर्फ गहना पारखीहरू हिजो विदेशी डिजाइनका गहनामा आकर्षित भएका थिए । विदेशी डिजाइनका गहना उत्पादनमा २२ क्यारेट सुन प्रयोगमा आउने गर्छ , जसलाई बेच्दा पुरा मूल्य पाइँदैन । अमृतका अनुसार नेपाली तथा विदेशी ग्राहक नेपाली कलादेखिने गहनातर्फ आकर्षित हुँदै जानुको प्रमुख कारणमध्ये शुद्ध २४ क्यारेट सुनको प्रयोग, उत्कृष्ट डिजाइन र बेच्दा पूरा मूल्य पाइन्छ ।
नेपाली कलादेखिने गहनाको माग महँगो भए पनि उच्च हुँदै गएको छ । सुनमा नेपाली कला कोर्ने बानीले अमृतलाई सिर्जनशील सफल युवा व्यवसायी मात्र होइन करदाता भई राज्यको पुँजी उर्पाजनमा सहयोगी बनाएको छ । उनका अनुसार नेपालभर सुनका गहना बनाउने कालिगडको सख्ंया करिब ४० हजार पुगिसकेको छ । उनीहरूका दक्षता स्तरीकरणमा लागि राज्यबाट तालिम सञ्चालन आवश्यक रहे पनि यस प्रकारका कुनै पनि कार्यक्रम आउन सकेको छैन ।