कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
380

पोखराको व्यस्त बजार बुद्धविशाल बजार तथा पाखिलेचोक क्षेत्रमा यस वर्षको तायाः मचा नृत्य प्रतियोगिता तामझामका साथ हुने भएको छ । नेवारी कला, संस्कृति, भेषभूषाको संरक्षण गरी पर्यटन प्रबद्र्धनमा थप टेवा पुराउने उद्देश्यले पोखराको व्यस्त बजार बुद्धविशाल बजार क्षेत्रकै सडकमै यस बर्षको तायाः मचा नृत्य प्रतियोगिता यही साउन ३१ देखि ३२ गतेसम्म हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
नेवारी समुदायमा आधारित उक्त प्रतियोगिता संचालन गर्न स्थानिय प्रशासनदेखि पोखरा महानगपालिकासँग समेत समन्वय गरी सडकमै उक्त कार्यक्रम सञ्चालनको अनुमति लिएको प्रतियोगिता संयोजक प्रतियोगिता संयोजक मानकाजी माकाजुले बताए । यसअघि उक्त प्रतियोगिता तेर्सापट्टि सडक क्षेत्र, मोहोरीयाटोल, पृथ्वीचोक सडकलगायतका क्षेत्रमा भएको थियो ।

उक्त प्रतियोगितामा पोखरा क्षेत्रका करिब ३५ टोलहरूमध्ये ३० टिमको सहभागिता हुने भएको संयोजक माकाजुले बताए । महेन्द्रपुल तायाः मचा समितिको आयोजना नेवाः खल कास्कीको आह्वान र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा सञ्चालन हुने उक्त प्रतियोगितामा विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार, तेस्रो हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिने भएको प्रतियोगितामा उत्कृष्ट ख्याली, उत्कृष्ट वाद्यवादक, उत्कृष्ट परि, उत्कृष्ट जोकरलाई जनही २ हजार ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । त्यसैगरी महिला सहभागी टोलीहरूमध्ये प्रोत्साहन स्वरुप एउटा टोलीलाई उत्कृष्ट घोषणा गरी १५ हजार रुपैयाँ नगद प्रमाणपत्र वितरण गरिने भएको छ । उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा रुपाकोट ज्योति सुन–चाँदी पसल छ ।
उक्त प्रतियोगितालाई विभिन्न तायाः मचा समितिहरूबाट सञ्चालन गर्न लागिएको नेवाः खल कास्कीका अध्यक्ष असोक पालिखेले बताए । २०५४ सालदेखि पोखरामा तायाः मचा प्रतियोगितालाई व्यवस्थित ढंगबाट आयोजना गर्न लागिएको उनले जनाए ।
करिब २ सय ५० वर्ष पुरानो यो संस्कृतिक परम्परालाई जोगाउन यो प्रतियोगिता गरएको हो । उक्त प्रतियोगिताको अवसरमा करिब २० वटा व्यापारिक स्टलहरू समेत हुने भएको छ भने प्रतियोगिता सम्पन्न गर्न करिब १८ लाख खर्च लाग्ने भएको आयोजकले जनाएको छ ।

 


सातामा धेरै पढिएको