कारोबार संवाददाता
बिहिवार, श्रावण १६, २०७६
545

पोखरा - मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही साउन २७ गतेदेखि मुक्तिनाथ यार्तुङ महोत्सव हुने भएको छ । धार्मिक, सांस्कृतिक, साहसिक तथा खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले जनैपूर्णिका पर्वको अवसरमा मनाइने उक्त महोत्सव यस वर्ष यही साउन २७ देखि ३० गतेसम्म रानीपौवा गाउँमा मनाइने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा उक्त गाउँपालिकाको वडा नम्बर एकमा हुने महोत्सवमा करिव १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए । उक्त संख्यामा पर्यटक भित्रिँदा करिब २ करोड मूल्य बराबरको कारोबार गर्ने आफूहरुले अपेक्षा गरेको उनले जनाए ।

सदियौंदेखि मनाइँदै आएको यस पर्वको समयमा उक्त क्षेत्रको धार्मिक, सांस्कृतिक, प्राकृतिक र भौगोलिक सुन्दरतालाई विश्व सामु चिनाउन पनि महोत्सवले थप टेवा पुग्ने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे । ऐतिहासिक तथा पुरातात्विक रुपमा परिचित उक्त गाँँउपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, पर्यटकको बसाइ अवधि लम्ब्याउने, गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यहरुलाई प्रचार प्रसार गर्न समेत महोत्सवले सहयोग पुग्ने उनको अपेक्षा छ ।
महोत्सवमा मुख्य आकर्षणको रुपमा मुक्तिनाथ मन्दिरको दर्शन गर्न पाइने, याक सवार, ऐतिहासिक घोडा दौड प्रतियोगिता, परम्परागत ताराखेल, मास्क डान्स, सेभन ए साईड फुटवल प्रतियोगिता लगायतका कार्यक्रम हुने भएको उक्त गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत दीपक रेग्मीले बताए । महोत्सव सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने भएको छ । गाउँपालिकाका अध्यक्षतामा ७१ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । घोडादौड प्रतियोगितामा विजेतालाई ५० हजार उपविजेतालाई ३० हजार पुरस्कार प्रदान गरिने भएको छ ।

 


सातामा धेरै पढिएको