प्रकाश लम्साल
बिहिवार, श्रावण १६, २०७६
694

बारा - देशका विभिन्न ठाउँमा सुरुङमार्गका महत्वाकांक्षी परियोजना प्रस्ताव गरिएका छन् । कतिपय ठाउँमा निर्माण कार्य चलिरहेको पनि छ ।
सय वर्षअघि एसियामा नै पहिलो पटक नेपाली इन्जिनियरले बनाएको सवारी साधन गुड्ने सुरुङमार्ग अहिले पनि देख्न सकिन्छ । बारा र मकवानपुरको सिमानामा पर्ने चुरे पहाड छेडेर सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले नेपाली श्रमिकहरू प्रयोग गरी उक्त सुरुङमार्ग बनाएको बताइन्छ ।

पहिलो पटक प्रजातन्त्र पुनस्र्थापनापछि २०१८ सालमा त्रिभुवन राजपथ सञ्चालनमा आए पनि २०२१ साल सम्म सुरुङ चलेर बन्द भएको चुरियामाई मन्दिरका मूल पुजारी राजु नगरकोटी बताउँछन् । सवारी साधन चल्ने ऐतिहासिक सम्पदाको संरक्षणमा चर्चा भएको समेत दशकौ बितिसकेको बताउँदै नगरकोटीले गुरुयोजना बनेको, पुरातत्व विभागले पुनर्निर्माण गर्ने, ३ नम्बर प्रदेश सरकारले संरक्षणमा चासो राखेको, हेटौंडा उपमहानगरले इन्जिनियर थापाको अर्धकदको सालिक सुरुङ अगाडि बनाउने भनेको रेडियोबाट मात्रै सुनेको तर आजका मितिसम्म केही नभएको उनले गुनासो गरे ।
वि.सं. १९८४ सालमा रेल अमलेखगन्ज आएपछि काठमाडांैसम्म सामान ओसारपसार गर्न चुरे पहाड चढ्न कठिन भएपछि राणा प्रधानमन्त्री चन्द्र शमसेरले इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाको नेतृत्वमा उक्त सुरुङ निर्माण गराएको इतिहासमा उल्लेख छ ।
“वर्तमान सरकार र देश बनाउने ठूला गफ दिने नेताहरूलाई समेत सय वर्षअघि नेपालमा नेपालीले बनाएको सुरुङ मार्फत गाडी चल्थ्यो भन्दा विश्वास गर्न कठिन मान्ने र कतिपय नेता र निती निर्माणका तहमा बस्नेहरूलाई थाहा पनि हुन नसक्नु विडम्बना हो,” इतिहासका विद्यार्थी राम प्रसाद अधिकारी भन्छन् ।
काठमाडांै लैजाने सबै सामान अमलेखगन्जसम्म रेल मार्फत ल्याउने त्यहाँबाट बोकेर सुरुङ मार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म पु¥याएर काठमाडौंसम्म पुग्ने सडक नभएकाले भिमफेदीबाट भरिया लगाएर काठमाडौंसम्म पु¥याइन्थ्यो । काठमाडौंमा त्यस ताका चलेका राणाका गाडीहरू पनि भीमफेदीसम्म यही सुरुङमार्ग छिचोल्दै पु¥याइएको इतिहासमा उल्लेख छ ।
सुरुङको लागत खर्च समय र श्रमको हरहिसाब कहिँकतै उल्लेख भएको पाइँदैन । सिभिल इन्जिनियर थापाले ५ सय मिटर लम्बाइको यो सुरुङमार्ग डिजाइन गरेका थिए । सुरुङमार्ग ९ फिट चौडा र १० फिट अग्लो छ । नेपालीहरूको श्रम, सीप, मिहिनेत र कला कौशलको प्रतिविम्ब भएको र गुफामा परिणत भएपछि यो सुरुङमार्ग खासै चर्चामा पनि आउन सकेको छैन ।
चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । भूगर्भविद् टोनी हेगनले काठमाडांै जाँदै गर्दा यहि सुरुङ मार्ग प्रयोग गरेको र आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा पनि यो सुरुङमार्गबारे एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुनसक्ने र आफूलाई आश्चर्य लागेको लेखेका छन् । उनले भारतमा पनि त्यस्तो सुरुङ नबनेको अवस्थामा नेपालमा यस्तो सुरुङमार्ग देख्दा आफू अचम्भित र खुसी भएको कुरा पुस्तकमा उल्लेख गरेका छन् ।
पहाड नै खोपेर बनाइएको सुरुङको फिनिसिङ निर्माण चुनासुर्की लगाएर गरिएको थियो । त्यतिबेला सिमेन्ट प्रयोगमा नै थिएन । सुरुङमार्गको सडकतर्फ भित्तामा लहरैसँग ढुंगाहरू राखिएका छन् भने खोपाहरू कुँदिएका छन् ।
तत्कालीन समयमा राणाहरूले काठमाडौं उपत्यकाबाहिर सबैभन्दा पहिले पहाड नै छिचोलेर नेपाली डिजाईनमा सुरुङ सडकखण्ड विस्तार गरेको आजको दिन सवैमा आश्चर्य हुने र अध्ययन अवलोकनका लागि पर्यटकीय क्षेत्र हुने पर्यटन व्यवसायी मोहन शर्मा बताउँछन् ।
सुरुङमार्गमा तत्कालीन समयमा यो सुरुङमार्गको पस्ने र निस्कने विन्दुमा पाले घरहरू थिए, जुन अहिले पनि उत्तिकै आकर्षक छन् । केही समयअघि इन्जिनियर थापाको पनाति र पनातिनिहरू इन्जिनीयर र प्राविधिकहरू सहित आएको र पुर्खाको मेहनत र चिनारी बचाउन अब आफूहरू लाग्ने बताएको पुजारी नगरकोटीले बताए ।
सडक छेउमा देखिएको सुरुङको मुख थुनिएको छ भने मन्दिर नजिकैको सुरुङमार्गको प्रवेशद्वार र केही भाग भने अझै सग्लो अवस्थामा नै छ । सडक पारीको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ ।
२०७२ को भूकम्पपछि यो सुरुङमार्ग थप जीर्ण बन्न पुगेकोले हाल प्रवेशमा रोक लगाइएको छ । जीर्ण बनेको चन्द्रशमशेरको नासो यो सुरुङमार्गको डिजाइन गर्ने इन्जिनियर थापाको लगन र सोचलाई कदर गर्दै पुनर्निर्माणमा राज्य प्रदेश सरकार र स्थानीय तहले आफ्नो क्षेत्रबाट जुटेर प्रचारप्रसार व्यापक बनाई आन्तरिक र बाह्य पर्यटकीय क्षेत्र बनाउन सकिने र पर्यटकहरू समेत आउने र यसको प्रत्यक्ष लाभ बारा पर्साले पाउने संघका अध्यक्ष शर्माको दाबी छ ।
पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरेपछि सुरुङमार्गमा अहिले सर्वसाधारणलाई अवलोकन गर्न निषेध छ । भूकम्पअघिसम्म यसभित्र पसेर हेर्न पाइन्थ्यो । तर, सुरक्षा संवेदनशीलताले अहिले यसलाई बन्द गरेर राखिएको छ । पुरातत्व विभागले पनि चासो देखाएपछि हेटांैडा उपमहानगरपालिकाले इन्जिनियर थापाको अर्धकदको सालिक यही वर्ष निर्माण गरी सुरुङको प्रवेशद्वार नजिकै बनाउने र सुरुङ निर्माणमा प्रदेश ३ सरकार र पुरातत्व बिभाग जुट्ने जानकारी गत वर्ष नै अधिकारीहरुले दिएका थिए । तर अहिलेसम्म केही कतैबाट सुरसार नै नभएको चुरयिामाई व्यवस्थापन समितिले जनाएको छ ।
पूर्खाको नासो भएकाले यसलाई राष्ट्रिय सम्पदा घोषणा गर्नुपर्ने र चाँडो पुनर्निर्माण गरी यसको महत्बबारे जानकारी गराउन आन्तरिक र बाह्य पर्यटकलाई समेत प्रचारमा जुट्नुपर्ने र सुरुङभित्र सरसफाई गरेर बत्तीसहित तत्कालीन अवस्थामा प्रयोग भएका सामान, चित्र र फोटोले सजाएर यसलाई खुला गर्नुपर्ने समितिको माग छ ।

 


सातामा धेरै पढिएको