गोपाल संग्रौला
बिहिवार, माघ २५, २०७४
2107

काठमाडौं । विभिन्न कारणले समाजमा शारीरिक अपांगता भएका मानिस बढ्दै गइरहेका छन् तर उनीहरूको सामाजिक क्रियाकलापमा भने पूर्वाधार अभावले अवरोध पुराउने गरेको छ । थोरै भएका अपांगतामैत्री पूर्वाधार सहर केन्द्रित हुदा ग्रामीण क्षेत्रमा बसोबास गर्ने विशेषगरी स्पाइनल इन्जुरी भएका मानिस सबै प्रकारका सामाजिक क्रियाकलापमा सहभागितासमेत जनाउन नसक्ने गरी वञ्चित हुने गरेका छन् ।
नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि, बढ्दो दुर्घटना र अन्य विपत्तिका कारण अपांगता हुने मानिसको संख्या बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा २२ हजार गम्भिर अपांगता भएका मानिस रहेको बताइन्छ । यो क्रम वर्षेनी बढ्दै गइरहेको देखिन्छ । नेपालमा गम्भिर रुपमा अपांगता भएका मानिसको पुनस्र्थापनाका लागि सञ्चालन गरिएका पुनस्र्थापना केन्द्रको संख्या भने न्यून रहेको छ । पूर्वाधार र पुनस्र्थापनाका कुरामात्र होइन, अपांगता भएका व्यक्तिलाई सम्बोधन गर्न प्रयोग गरिने शब्द र देखाउने भावमा समेत परिवर्तन हुन सकेको छैन । अपांगता भएका व्यक्तिका लागि सम्मानजनक र समानता दर्शाउने शब्द के प्रयोग गर्ने भन्ने कुरामा विश्वभर नै चर्चा भइरहेको छ । विगत लामो समयदेखि प्रयोगमा आएका शब्द हराउँदै गएर हाल प्रयोग भएका शब्द र सम्बोधन परिवर्तनको संघारमा छन् । हाल प्रयोग गरिने कतिपय सम्बोधन अब केही दिनमा पुराना र निरस हुने देखिन्छ ।
करुणा फाउन्डेसन नेपालले हालै काठमाडौंमा आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा समाजले अपांगता भएका मानिसलाई दया, माया र करुणाले हेर्ने भन्दा पनि समान क्षमताका आधारमा हेर्ने गरी सामाजिक अभियान सञ्चालन गर्नुपर्ने आंैल्याइयो । डा. राजु ढकाल अपांगता भएका व्यक्तिलाई मानिसले हेर्ने दृष्टिकोण फरक नभएसम्म समाज परिवर्तन नहुने बताउँछन् । ढकाल स्पाइनल इन्जुरीलगायत गम्भिर प्रकृतिका अपांगता भएका व्यक्तिको उपचार र पुनस्र्थापनाका लागि लामो समयदेखि काम गर्दै आएका छन् । “हामीले अपांगता भएका बालबालिकालाई समाजमा घुलमिल गराउन सहयोग गर्नुपर्छ,” डा. ढकाल भन्छन् । सर्वप्रथम त बालबालिकालाई अपांगता हुन नदिनका लागि महिलाहरू गर्भवती हुँदादेखि नै स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनुपर्ने उनको सुझाब छ । डा. ढकालले अपांगता हुँदा मेडिकल क्षेत्रमा आफूले विभिन्न चुनौतीको सामना गर्नुपरेको बताए ।
सामाजिक अभियन्ता अमृता ज्ञवालीले हालै अभिनय रहेको पब्लिक सर्भिस एनाउन्समेन्ट (पिएसए) ‘एउटै आकाश मुनि’ सार्वजनिक गर्दै आफूलाई समाजका लागि प्रेरणाको स्रोत बनेर आम मानिसका लागि हौसला बनेकी छन् । अमृताले सुटिङका लागि विभिन्न ठाउँसम्म सक्षमताका साथ गरेको सन्देश यसबाट दिन खाजिएको छ । “हामीभन्दा पनि हाम्रा संरचना र सोचहरू अपांग रहेको मेरो अनुभव छ । हामीलाई फरक व्यक्तिजस्तो नभई समान व्यवहार गरियो,” अमृताले आफू अभिनित फिल्म सार्वजनिक गर्दै भनिन्, “अपांगता भएका व्यक्तिको सूचना प्रवाहमा सञ्चारमाध्यमको ठूलो भूमिका हुन्छ ।” मिडियामा पनि आफूहरुलाई प्रस्तुत गरिँदा फरक व्यक्तिको रूपमा नदेखाउन उनले अनुरोध गरिन् ।
मोक्ष ब्यानरमा निर्माण भएको छोटो फिल्मलाई प्रविण श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा नेपाल आइडलकी प्रमिला राईले गीत गाएकी छन् भने गीतमा निर्देशक प्रविण र प्रताप लामाको शब्द छ ।
निर्देशक एवम् लेखक श्रेष्ठ पनि अपांगता भएको हुँदा उक्त फिल्मको निर्देशन गर्न निकै चुनौतीपूर्ण रहेको बताए । अमृताझैँ उनले पनि अपांगता भएका व्यक्तिलाई फरक व्यक्तिको रूपमा नभई सम्मान व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् । “अरूसँग भएको क्षमता मसँग पनि हुन सक्छ, मसँग भएको क्षमता अरुसँग पनि हुन सक्छ । शरीर हेरेर हामीलाई छुट्याउनु हुँदैन,” उनले भने, “अपांगता भनेको सोचमात्र हो ।” पूर्वाधार राम्रो भइदिए कोही पनि अपांग नहुने उनले बताए । सूचना आयोगका प्रमुख कृष्णहरि बास्कोटा मानिसको पहिचान उसले गरेको काम र योगदानबाट हुने बताए । मानिसको क्षमताका अगाडि व्यक्तिको शारीरिक अवस्था कस्तो छ भन्ने कुरा वास्ता नगरिने उनले बताए । “अपांगता भएका व्यक्तिहरूलाई वस्तु नभई व्यक्तिको रूपमा लिनुपर्छ,” उनले भने, “उनीहरूको सेवा सुविधाका निम्ति उनीहरूलाई छुट, लोनलगायतको व्यवस्था भने गर्न सकिन्छ । उनीहरूलाई छुट्याइएका सेवा सुविधाहरू कार्यान्वयनमा ल्याउनुपर्छ ।” अपांगता कुनै पनि बेला हुन सक्ने र अपांगता भएका व्यक्तिलाई सम्मानजनक रूपमा लिनुपर्ने कार्यक्रममका सहभागीको निष्कर्ष थियो ।
पिएसए रिलिजसँगै भएको कार्यक्रममा करुणा फाउन्डेशनका अध्यक्ष गोविन्द अधिकारी, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलकी संगीता खड्कालगायतले अपांगतालाई हेर्ने दृष्टिकोण बदल्न सबैको सहयोग हुनुपर्ने बताए ।

समाजको सोचले अपांगता भएकाहरु पछि परेका छन
अमृता ज्ञवाली
सामाजिक अभियन्ता
‘एउटै आकाश मुनी’ पब्लिक सर्भिस एनाउन्समेन्ट एड्भटाइजमेन्ट हो । म्युजिक भिडियो बनाउने प्रविण श्रेष्ठसँग कुरा गरेपछि ठीक लागेर मैले यो एड गरेको हँु । आउने दिनमा पनि यस्तै राम्रो एड आयो भने गर्छु । अपांगता भएका व्यक्तिहरुको समस्या र उनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न तथा धेरै मानिसहरुले यसको बारेमा बुझुन् भनेर यो भिडियो बनाइएको हो । यस भिडियोले विशेष गरेर अपांगता भएका व्यक्तिहरुका लागि संरचनाहरू सजिला भइदिए कुनै कुरामा पनि सीमा र बाधाअड्चन नरहने, सबै कार्यमा सक्षम रहने सन्देश दिएको छ ।
म अहिले करुणा फाउन्डेसनमा काम गर्दैछु । अहिले ‘एम्बेस द चेन्ज’ भन्ने एउटा प्रोजेक्टमा काम गरिरहेको छु । यो प्रोजेक्टले अपांगता भएको व्यक्तिलाई हेर्ने दृष्टिकोण, गलत धारणा हटाउनलाई छोटो मुभी बनाउने, अपांगता भएका व्यक्तिहरुको लागि सजिलो तरिकाले पूर्वाधारहरुको विकास गर्ने वकालत गर्ने कार्य गर्दैछु ।
करुणा फाउन्डेशनले अपांगता भएका बालबालिकालाई समाजमा घुलमिल गराउन सहयोग गर्छ । फाउण्डेसनले अपांगतासम्बन्धी जनचेतना फैलाउँछ, अनुसन्धान गर्छ, अपांगता भएका व्यक्तिलाई समाजमा कसरी पुनस्र्थापना गराउने कामहरु गर्छ । बालबालिकालाई अपांगता हुन नदिनका लागि महिलाहरू गर्भवती हुँदादेखि नै स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने काम गर्छ ।
कसरी मानिसहरूको अपांगताप्रतिको गलत धारणा परिवर्तन गर्ने भनेर म अब त्यतातिर लाग्छु । जबसम्म आम समुदायको सोच परिवर्तन हँुदैन, त्यतिबेलासम्म समाज विकास हुदैन । त्यसैले म आम समुदायको सोच कसरी नयाँ तरिकाबाट परिवर्तन गर्न सकिन्छ भन्ने कुरातिर नै लाग्छु होला ।
काठमाडौँ भन्दा पनि ग्रामिण क्षेत्रमा अपांगता भएको व्यक्तिहरूको जिन्दगी एकदम गाह्रो छ । पूर्वाधारको कमी भएकोले पनि ग्रामीण क्षेत्रमा जीवन कष्टकर छ ।