रजनी श्रेष्ठ
बिहिवार, श्रावण २, २०७६
728

टिकटक एउटा मोबाइल एप हो । एस एपबाट फरकफरक प्रकारको संगीत अथवा कुनै बोलीमा ओठ चलाएर (लिप्सिङ) गरेर ३ देखि १५ सेकेन्डसम्मको भिडियोबाट आफ्नो प्रतिभा र हास्यकला देखाउनुका साथै सामाजिक सञ्जालमा राख्न पनि सकिन्छ ।
यदि आफ्नै आवाजमा छुट्टै बनाउने हो भने यस एपमा ६० सेकन्डसम्मको भिडियो बनाउन सकिन्छ । टिकटकको नाममा सुरु हुनुभन्दा अघि म्युजिकल्लीको नाममा प्रचलित भएको यो एपले पहिले नै लोकप्रियता हासिल गरिसकेको थियो । सन् २०१७ मा बाइट डान्सले यस कम्पनी किनेको थियो । २०१८ को सर्वेक्षणअनुसार टिकटक १५० मार्केट र ७५ भाषामा उपलब्ध छ । २०१८ मा एप्पल स्टोरबाट करिब १० करोड ४० लाख  डाउनलोड भएर सर्वाधिक डाउनलोडेड एप हो यो ।

यो एप २०१७ मा बाइट डान्स भन्ने चिनियाँ इन्टरनेट टेक्नोलोजी कम्पनीले चीनभन्दा बाहिरको मार्केटको लागि बनाएको हो । चीनले आफ्नो मार्केटको लागि टिकटकजस्तै डौइन एप एक वर्ष पहिले बनाएको थियो । टिकटक र डौइन एपको एउटै सफ्टवेयर तर नेटवर्क फरक छ । टिकटक चीनमा भने प्रतिबन्धित छ ।
नेपालमा यस एपले निकै नै लोकप्रियता हासिल गरिसकेको छ । बालकदेखि वृद्धवृद्धासम्म टिकटक थाहा नहुने बिरलै होलान् । प्रयोग गर्न सजिलो र मनोरञ्जनको समय बिताउने एप भएको छ टिकटक । हलिउड, बलिउडदेखि कलिउडसम्मका धेरैजसो सेलिब्रेटीहरु पनि टिकटकमा नै रमिरहेको पाइन्छ । यस एपबाट विभिन्न लुकेर, अगाडि नआएका प्रतिभाहरु पनि देखा परेका छन् । नयाँ कलाकारहरुको जन्म पनि एस एपले गरेको छ । अगाडि धेरै जनमासमा आउन लाज मान्ने तर कला भएकाहरुले पनि आत्मबल जुटाएर बाहिरिने मौका पाएका छन् ।
मनोरन्जनको हिसाबले उच्च रहेको यस एप सबैलाई मनपर्छ भन्ने छैन ।

हाल मास्टर्स गरिरहेकी एक विद्यार्थी समाज्ञ शाही ठकुरी भन्छिन्, “मेरोमा त यो एप पनि छैन, यो एक प्रकारको नशा हो, रमाइलो त एक ठाउँमा होला तर यसले महत्वपूर्ण समयलाई खेर फाल्छ जस्तो मलाई लाग्छ ।”
हाल ब्याचलर्स पहिलो वर्ष अध्यनरत सिम्रन मानन्धर भन्छिन्, “मेरो त निकै नै मनपर्ने एप हो । मलाई नरमाइलो लागेको समयमा पनि एक प्रकारको भुल्ने बाटो हो यो । खुशीको समयमा पनि रमाउने ठाउँ भएको छ यो । यो मेरो मात्र कुरा होइन प्राय सबैको यस्तै नै छ । व्यवहारिक कुराहरु त छँदैछन् तर खालिको समय बिताउने र आफ्नो लुकेको प्रतिभा देखाउने ठाउँ लाग्छ मलाई ।”

 यो एपले नेपाली गीतहरू प्रचलित बनाउन पनि मद्दत गरेको छ । विदेशीहरु पनि नेपाली धुनमा नाच्ने, गाउने र नाटक गर्ने गरेका छन् । नेपालमा टिकटक एपले निकै नै छोटो समयमा धेरै लोकप्रियता हासिल गरेको छ । भिडियो बनाउनेमात्र नभई यसमा कमेन्ट, मेसेज र प्रतिक्रियाको पनि शुविधा उपलब्ध छ । यस एपबाट अरुको भिडियोसँगै आफू पनि नाटक गर्न सकिन्छ । यस्ता भिडियोलाई डुएट भनिन्छ । खासगरी निकै चलेका र सेलिब्रेटीहरुसँग डुएट भएको पाइन्छ ।