सागर परियार
बिहिवार, श्रावण २, २०७६
723

जुम्ला -कुन्जाङ पुटिक तामाङ चन्दननाथ नगरपालिका–२ मा बस्छिन् । दशक पहिलेसम्म उनीसँग कमाउने कुनै मेसो थिएन । उनलाई राम्रो लाउन र मीठो खान चाडबाड नै कुर्नुपथ्र्यो । के खाऊँ, के लाऊँ भन्ने चिन्ताले सताइरहन्थ्यो । उनको न कमाइ खाने जग्गा थियो, न त कुनै व्यवसाय नै । सधैं भोको पेट कसरी भर्ने भन्ने चिन्ता हुन्थ्यो । भाडाको सानो कोठामा जाँडरक्सी बनाउन थालिन् । ठीकै आम्दानी त भयो तर समाजले उनलाई जाँड बेच्ने भनेर होच्याउन थाल्यो । धारो छुँदा पनि विभेद गर्न थाले ।
जाँडरक्सी बनाएर बेच्ने उनको पुख्र्यौली पेसा र सीप हो । “जो आएर जाँड खान्थे, उनैले अपशब्द बोलेर धम्क्याउँदै जान्थे,” उनले सम्झिइन्, “पछि मलाई मेरो त्यो कामप्रति आत्मग्लानी भयो । अनि पुख्र्यौली मदिरा बेच्ने पेसा परिवर्तन गर्ने सोचमा पुगें ।”
अहिले राडीपाखी व्यवसायमा संलग्न भएपछि उनको अवस्था फेरिएको छ । अहिले उनको आफ्नै झोला, लिउ र राडीपाखी उद्योग छ । उनी आफ्नै कमाइबाट सजिलै खर्च टारेर बचत समेत गर्ने र रोजगारी दिने अवस्थामा पुगेकी छन् । मुगुको कार्मारोङ गाउँपालिकाको दुर्गम ताखा गाउँमा जन्मेर मुगुमै बिहे गरेकी उनले आफ्नो कर्मथलो जुम्लालाई बनाएकी हुन् । निकै दुःखका दिन कटाएकी कुन्जाङ हिजोआज आफ्नै दुःख सम्झिँदा भावुक हुन्छिन् ।
गरिबीका कारण सानोमा विद्यालयको मुख नै नदेखेकी उनी अहिले पढ्न नपाएकामा दुःखी समेत छिन् । तर प्रौढ शिक्षापछि उनी सामान्य लेखपढ र हिसाब गर्न सक्ने भएकी छन् । जसले उनको व्यवसायमा डिग्री पास भएसरह ज्ञान दिएको छ ।
२०५५ सालमा २१ वर्षको उमेरमा गाउँकै केटासँग उनको बिहे भयो । उनीभन्दा चार वर्ष कान्छो केटासँग भोटे परम्पराअनुसार बिहे गरिन् । त्यसको चार वर्ष श्रीमान्सँग अलग बस्नुपर्छ । त्यसैले उनी माइतीमै बसिन् । त्यतिबेलै उनी बिरामी परिन् । उपचारका लागि नजिकैका स्वास्थ्यकर्मी, धामी, झाँक्री सबैकहाँ धाइन् तर निको भएन । व्यथा बढ्दै गयो । थला पर्दै गइन् । पछि उनका श्रीमान्लाई माइतीमै बोलाइयो ।
गाउँबाट दुई दिन हिँडाएर मुगु जिल्ला अस्पताल लगियो । त्यहाँ आएपछि उनलाई क्षयरोग लागेको पत्ता लाग्यो । त्यसपछि डाक्टरको सल्लाहअनुसार नेपालगन्ज, सुर्खेत वा जुम्लामा गएर उपचार गर्नुपर्ने भयो । घरको आर्थिक अवस्था नाजुक भएका कारण उनीहरू मुगुबाट तीन दिनको बाटो हिँडेर जुम्ला पुगे ।
जुम्लाको अस्पतालमा आठ महिनासम्म बसिन् उनी । नियमित औषधी सेवनले रोग बिस्तारै निको हुँदै गयो । यसरी उनी जुम्लामा बस्न थालिन् । विस्तारै निको हुँदै गएपछि उनी जुम्लामा भाडाको कोठा लिएर बस्न थालिन् ।
औषधी उपचारका लागि घरबाट पठाएको पैसा सकियो । ऋण कसैले पत्याएन । निकै समस्यामा परिन् । पुख्र्यौली पेशा गरौं, सबैले होच्याउँछन्, नगरौं कुनै उपाय छैन । कमाइ राम्रो भएपनि मदिरा बेचेर इज्जत पाइएन ।
तँ आट म पु-याउँछु भनेजस्तै २०६४ सालतिर घरेलु तथा साना उद्योग विकास समिति जुम्लाले लघुउद्यमी तालिम सञ्चालन गरेको थियो । उनले त्यहाँ आवेदन दिइन् र छनोटमा पनि परिन् । एक महिने तालिममा झोला, लिउ, राडीपाखी बनाउने सीप सिकिन् । तालिम सकिएपछि उनले घरमा झोला, लिउ र राडीपाखी बनाएर बेच्न थालिन् । आम्दानी बढ्दै गयो ।
सीप सिकेर आत्मनिर्भर भएपछि २०७० सालमा उद्योग व्यवसाय नै दर्ता गरिन् । उक्त व्यवसाय थालेपछि उनलाई सामाजिक रूपमा पनि सम्मानित भएको महसुस भयो । उनलाई जिल्लादेखि राष्ट्रिय स्तरमा उत्कृष्ट उद्यमीका रूपमा सम्मान दिलायो ।
उनले १९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी २०७४ मा उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमीको पुरस्कारसमेत प्राप्त गरिन् । त्यसपछि झन् उनको जाँगर बढ्दै गयो । मदिरा बेच्दा आगोको राप, दुःख र अभावमा दिन काट्दा घामको ताप, आफन्तले होच्याउने शब्द र व्यवहारका कथित दुःखका घाउहरूले अहिले राडीपाखीले सेकिरहेको उनको बुझाइ छ ।
क्षयरोगले जीवन सताएको थियो । पोइलीघरको तिरस्कारबाट पाएको दुःखलाई पनि राडीखी व्यवसायले राहत गरेको छ । राडीपाखी यसै पनि तातो । उसकै सफल व्यवसायी भएपछि कुन्जाङका दुुःखका घाउ सबै राडीपाखीले सेकिरहेको छ ।

जुम्लामा आफ्नै घर
बिरामी भएर जुम्ला उपचारका लागि आएकी कुन्जाङको अहिले आफ्नै घर छ । भाडामा बसेर दैनिक छाक टार्न सामान्य राडीपाखी बुनेर बेच्थिन् । तर त्यही राडीपाखीले आज करोडौको घरसमेत किनेकी छन् । तामाङले भेडाको उनबाट बनाएका झोला, लिउ र राडीपाखी बेचेर जुम्ला सदरमुकाममा करिब एक करोड रुपैयाँको घरघडेरी जोडेकी छन् ।
“खर्च कटाएर वार्षिक चार–पाँच लाख रुपैयाँ कमाइ हुन्छ । त्यसैबाट मैले घरघडेरी जोडेकी हुँ,” उनले भनिन्, “श्रीमान् बेरोजगार छन् । तीन छोराछोरी पढाउनेदेखि सबै खर्च राडीपाखीबाटै चल्छ ।” १० हजार रुपैयाँबाट सुरु गरिएको उनको व्यवसाय अहिले लाखौं रुपैयाँ आम्दानी दिने माध्यम बनेको छ । सुरुसुरुमा काठका सामग्रीद्वारा हातले बनाइने झोला, लिउ र राडीपाखी अहिले साना आधुनिक मेसिनबाट समेत बनाउन थालेकी छन् ।
यो व्यवसायमा चाहिने भेडाको ऊन छिमेकी जिल्लाका साथै चीनबाट समेत आयात गर्दै आएकी छन् । “सीप सिकेपछि मेरो आर्थिक अवस्था हेरेर विभिन्न संघसंस्थाले काम दिन थाले । काम पाएपछि रातदिन, भोकनिद्रा नभनी मेहनतका साथ काम गरेँ, आज बल्ल आफ्नो खुट्टामा उभिएकी छु,” उनी भन्छिन् ।
आफ्नो उद्योगमा तामाङले अन्य तीन जना महिलालाई पनि रोजगारी दिएकी छन् । रोजगारी पाएका ती महिला उद्योगमा सीप पनि सिकिरहेका छन् । उनीहरूले बनाएका झोलाको प्रतिथान एक हजार र लिउ एवं राडीपाखी १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् । कोट बनाउने कपडा मिटरको तीन हजार रुपैयाँसम्मका दरले सजिलै बजारमा बिक्री हुन्छ । आफ्नोजस्तै परिवार पाल्न संघर्ष गरिरहेका पीडित महिलालाई सीप सिकाएर आफूजस्तै उद्यमी बनाउने तामाङको ध्येय छ ।

माग बढ्दो

“झोला, लिउ र राडीपाखी तथा ऊनीका कपडा उत्पादन गर्न धौधौ छ तर बजारको चिन्ता छैन,” उनी भन्छिन् । आफ्नो उद्योगमा बनेका सामानको माग बढ्दै गएपछि बजारको चिन्ता नरहेको उनी बताउँछिन् । पछिल्लो चरणमा बजारका कपडाको तुलनामा नयाँ डिजाइनका ऊनीका कपडाको माग बढेको छ । माग अनुसार पु-याउन नसकिएको उनको भनाइ छ । राडीपाखीका साथै ऊनीका कपडाको माग मनाङ, मुस्ताङ, सुर्खेत, काठमाडौं लगायत सहरहरूमा बढ्दै गएको तामाङको भनाइ छ ।
चिसो समयमा लगाउन उत्तम हुने भएकोले स्वीटर, झोला, कोट, पन्जा, गलबन्दीको माग पनि बढेको छ । रोजगारीको खोजीमा देशविदेश भौंतारिइरहेका बेरोजगार युवालाई परम्परागत तथा आफ्नो पुख्र्यौली पेसाले पनि गाउँमै बसेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने गतिलो सन्देश समेत दिएकी छन् ।