कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
325

रुकुम- यस वर्षको गणतन्त्र दिवस मनाउने क्रममा सबैभन्दा अग्रभागमा रुकुमका महिलाहरु नै पञ्चेबाजासहित नाच्दै थिए । गणतन्त्र दिवस जिल्ला समारोह समिति रुकुम पश्चिमले खलंगादेखि सेरी गाउँसम्म गरेको प्रभातफेरीमा जिल्लामा महिलाहरुलाई पञ्चेबाजा बजाउने जिम्मा दिइएको थियो ।
योमात्र होइन, जिल्लामा हुने विभिन्न कार्यक्रमहरु जस्तै– प्रभातफेरी, ¥याली र अन्य सांस्कृतिक कार्यक्रमहरुमा महिलाहरुले बजाउने पञ्चेबाजा नै सबैको रोजाइ बन्दै गएको छ । विभिन्न शुभ कार्यमा पुरुषले मात्रै बजाउँदै आएको पञ्चे बाजा केहि वर्षदेखि रुकुम पश्चिमका महिलाहरुले पनि बजाउन थालेका छन् । उनीहरुको लोकप्रियता पनि दिन प्रतिदिन बढ्दै छ ।

पछिल्लो समय पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेकोमा रुकुमका महिलाहरु भने झनै उत्साहित छन् । महिलाले बाजा बजाउने र नृत्य समेत देखाउने गरेका छन् । मुसीकोट नगरपालिका–१, सालघारीमा रहेको पञ्चेबाजा संरक्षण महिला समूहले यसको सम्पूर्ण जिम्मा लिने गरेको छ । २०७१ फागुनदेखि निरन्तर रुपमा महिलाका काँधमा दमाहा र ट्याम्की, मुखमा सनही र नरसिङा, हातमा छिल्लर लगायतका बाजा छन् ।
कुनै कार्यक्रम, अवसर, दिवस, मेला, पर्व, चुनाव जस्ता कार्यक्रममा स्थानीय सरकार, राजनीतिक दल, गैरसकारी तथा सामाजिक संघसंस्थाहरुले पञ्चेबाजाका लागि यिनै महिलाहरुलाई गुहार्ने गर्छन् । पञ्चेबाजा समूहकी अध्यक्ष हिरा परियारले महिला समूहबाटै पैसा संकलन गरेर बाजा खरिद गरेर बजाउन सुरु गरेको बताइन् । उनका अनुसार सुरुका केही दिनसम्म पुरुषहरुले बाजा बजाउन सिकाइदिएका थिए । पञ्चेबाजा अब महिलाको आम्दानीको स्रोत पनि बनेको छ । एउटा कार्यक्रममा पञ्चेबाजा बजाएबापत १२ हजार सम्म लिने गरेका छन् । तर त्यसमा कार्यक्रमको आर्थिक अवस्था हेरेर शुल्क लिने गरेको समूहकी अध्यक्ष परियारले बताइन् । अवसर पाएपछि महिलाहरु पनि कम छैनन् भन्ने पुष्टि महिला पञ्चेबाजा समूहले गरेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए । महिलाले बाजा बजाउनै हुँदैन भन्ने मान्यता तोडेर पुरुष भन्दा उत्कृष्ठ बाजा बजाएकै कारण उनीहरु सबैको रोजाइमा परेको उनको भनाइ छ । जिल्ला समन्वय समितिमार्फत् हुने विभिन्न कार्यक्रमहरुमा यिनै पञ्चेबाजा समूहलाई बोलाउने गरिएको छ ।