मेगराज खड्का
बिहिवार, असार १९, २०७६
496

रुकुम पूर्व र पश्चिममा मगर समुदायको ठूलो चाड भूमे नाचको रमझम सकिएको छ । मगर समुदायको बाहुल्यता रहेको रुकुम पूर्वका गाउँगाउँमा यस्तो नाच नाच्ने गरिएको छ भने रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको खलंगा सहिद मैदानमा पनि भूमे नाच नाच्ने गरिएको छ ।
रुकुम पूर्वमा घर भई व्यापार व्यवसायका लागि रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बस्ने उनीहरुले आफ्नो समुदायमा मनाउने खाम मगरको चाड बल पूजा तथा भूमे नाच मनाउने गरेका हुन् । हरेक वर्ष विधिपूर्वक लेकबाट बुकीको फूल टिपेर ल्याई भूमि पूजा गरेपछि बलपूजा तथा भूमे नाच शुरु हुन्छ । अघिल्लो दिन पूजापाठको काम हुने भएपनि असार १ गते देखि ५ गतेसम्म भूमे नाच नाचेर समापन हुने गर्दछ । मगर जाती मौलिक पोशाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने परम्परा छ । रुकुम पूर्वका सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिकामा रहेका आदिवासी जनजातिले खासगरी खाम मगर जातिले विशेष महत्वका साथ मनाउने यो पर्वले रुकुम पश्चिमको सदरमुकाम खलंगामा पनि विशेष महत्वका साथ मनाइने गरिएको लाङघाली समाजका उपाध्यक्ष राजकुमार पुनले बताए । उनका अनुसार मगर जातिले पृथ्वी अर्थात् भूमिलाई मुख्य देवताको रुपमा पुज्ने चलन छ ।
“भूमिको पूजा गरेपछि भूमि देवता खुसी हुने र अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र विभिन्न दुःखको नाश भई पृथ्वीबासी सबैमा खुसी आउने जनविश्वास छ,” उनले भने, “दुःख कष्टबाट मुक्त हुने भएपछि भूमिको पूजा गर्दै आएको र त्यसअनुसार नाचगान र प्रकृतिलाई पूजापाठको कार्यक्रम हुन्छ ।” पूजामा गाउँभन्दा टाढा रहेका पनि गाउँ फर्किने गर्छन् ।