कारोबार संवाददाता
बिहिवार, जेठ २३, २०७६
323

किराँत येले सम्बत् ५०७९ औँ को अवसरमा किराँत राईहरुको उभौंली साकेला पर्व भोजपुरमा धुमधामका साथ सम्पन्न भएको छ । किराँत मुन्दुमी मान्यताअनुसार भूमीपूजक किराँत राई समुदायले बेँसी खेतमा अन्नबाली लगाएर प्रकृतिलाई राम्ररी फलोस्, विपत्ति आइनपरोस् भन्ने कामना गर्दै उभौंली पर्व मनाउने गरेका छन् ।
किराँत राईहरुको बाहुल्यता रहेको भोजपुरका अधिकांश किराँत राई समुदायमा यो पर्व वैशाख शूक्ल पूर्णिमादेखि १५ दिनसम्म मनाउने गरिन्छ । अन्नबाली राम्ररी फस्टाओस् भनी प्रकृतिलाई कामना गरिने उभौँली पर्वमा किराँती विधिअनुसार किराँती कुल देवता सुम्निमा र पारुहाङको पूजा गर्ने मान्यता छ ।

खेती गर्न भूमि प्रदान गर्ने प्रकृति र खेती गर्न सिकाउने किराँती पूर्वजहरुको सम्मानस्वरुप विशेष भूमिपूजा गर्नु उभौँली पर्वको पहिलो विशेषता हो । त्यस्तै अन्न राख्ने भकारीमा पूजा गर्नु, ढोल र झ्याम्टाको तालमा चरा र दुम्सीजस्ता पशुपंक्षीको अनुकरण गर्दै साकेला नाच्नु उभौँलीको अर्को विशेषता रहेको मुन्दुमी मान्यता छ । चण्डीनाचलाई विशेष महत्व दिइने यो नाचलाई साकेला, साकेन्वा, साखेवा, सालेन्वाको किराँती भाषिक नामले चिनिने गरिन्छ ।
अन्नबाली लगाउने बेलाको वैशाख पूर्णिमामा उभौँली र अन्नबाली घरमा भित्र्याउने समयको मंसिर पूर्णिमामा उधौली मनाउने गरिन्छ । किराँत राईहरुले यो पर्वमा भात, कुखुराको मासुबाट बनाएका परिकार, कोदोको जाँड र रक्सी लगायतका किराँती संस्कृतिका मिष्ठान्न परिकार पितृदेव चुल्होमा चढाएर खाँदै रमाइलो गरिन्छ । धनधान्यकी देवी प्रकृतिलाई धन्यवाद दिँदै चुल्हो र अन्न भकारी वरिपरि ढोल झ्याम्टाको तालमा साकेन्वा (साकेला) गाउने र नाच्ने चलन छ । आफ्ना किराँती पुर्खाहरुलाई पुज्ने र शक्ति माग्दै अन्न धेरै फल्ने, दुःख, विघ्नबाधाबाट टाढा बनाउने कामना गर्दै उभौँली मनाउने धार्मिक मान्यता छ ।
उभौँली साकेला पूर्वी पहाडी जिल्ला भोजपुर संखुवासभा, धनकुटा, तेह्रथुम, इलाम, खोटाङ, उदयपुर, सोलुखम्बु र ओखलढुङगाका किराँत राईहरुले धुमधाम मनाउने गरेका छन् । किराँत राई समुदायबाहेक यो उभौँली साकेला अन्य गैरकिराँत समुदायका मानिसहरुले पनि नाच्ने, रमाउने गर्छन् । जसले एकअर्काबीच धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध समेत मजबुत हुने विश्वास छ ।

अर्जुन बस्नेत