कारोबार संवाददाता
बिहिवार, जेठ २३, २०७६
611

बूकवर्म फाउन्डेसनको आयोजनामा महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा रजस्वला उत्सव मनाइएको छ । कार्यक्रमको उद्देश्य महिनावारीप्रति रहेको नकारात्मक मानसिकतामा परिवर्तन ल्याई यसलाई हेरिने घृणाभावलाई उत्सवमा बदल्नु रहेको थियो ।
कार्यक्रमको शुरुवात नेपाली समाजमा व्याप्त रजस्वला सम्बन्धी अन्धविश्वास उपरको अन्तरक्रियात्मक छलफलबाट गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको संयोजन कानुन व्यवसायी तथा लेखक दुर्गा कार्कीले गरेकी थिइन् । सहभागी वक्ताहरु एसआरएचआर विज्ञ डा.लक्ष्मी तामाङ, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी र पश्चिम नेपालमा प्रचलित एक रजस्वला सम्बन्धी प्रथामा आधारित उपन्यास छाउघरका लेखक राजसरगम गौतम रहेका थिए । कार्यक्रममा कवि नवराज पराजुलीले रजस्वला सम्बन्धी विषयलाई सेरोफेरो बनाई कविता वाचन गरेका थिए । कार्यक्रम आईएमई नेपाल लिटरेचर फेस्टिभलको काठमाडौंमा विस्तारित कार्यक्रम थियो भने वाईवाई बनौं आदर्श नागरिक अभियानको समर्थनमा गरिएको थियो ।

कार्यक्रमका सहभागीले नेपालजस्तो देशको परिप्रेक्ष्यमा स्यानिटरी प्याडमा नै भए पनि जनचेतना बढ्नु र यसको चासो राख्नु राम्रो लक्षण भएको बताएका थिए ।
कार्यक्रममा महिला आयोगकी सदस्य मोहना अन्सारीले पश्चिम नेपालमा हालैमात्र आफूले छाऊ गोठ र छाऊ प्रथाको रोकथामको लागि बनाइएका कानूनी व्यवस्थाहरुको अवस्थाको सम्बन्धमा बुझ्न जाँदाको अनुभव सुनाइन् । “त्यहाँको अवस्था कानुन आउनुभन्दा अघि जस्तो थियो त्यस्तै नै आज पनि छ । कार्यान्वयन पक्ष अत्यन्त फितलो रहेको पाएँ । वास्तवमा भन्ने हो भने समुदायका मानिसहरु र स्थानीय नेताहरु छाऊको बारेमा राष्ट्रिय सञ्चारमाध्यम र उपत्यकामा भैरहेको छलफलहरुलाई लिएर क्रोधित भैरहेको अनुभव मेरो रह्यो,” उनले भनिन् ।
नेपालका धेरै समुदाय जस्तै मुस्लिम समुदाय, आदिवासी समुदाय र मधेशी समुदायहरुले यसप्रकारको परम्परा पालना गर्ने नगरेको बताउँदै उनले यो परम्परा पालना गर्ने समुदायहरुमा पनि क्रमशः परिवर्तन आउँदै गएको बताइन् । उनले यो मुद्दालाई लिएर स्थानीय नेताहरुलगायत धामी झाँक्री र राजनीतिक नेतृत्वसमेत आ–आफ्नो समुदायमा सक्रिय रहेकै कारण उल्लेख्य परिवर्तन आउन सकेको धारणा राखिन् ।
वक्ताहरुले महिनावारी विरुद्धको रुढीवादी परम्परा शहरी क्षेत्र र ग्रामीण भेगहरुमा उत्तिकै मात्रामा प्रचलनमा रहेको बताउँदै त्यसको लागि उनीहरुको मानसिकतामा नै परिवर्तन ल्याउन जरुरी रहेको बताएका थिए । साथै उनीहरुले युवाहरुको दृष्टिकोण परिवर्तन गर्न जोड दिएका थिए ।