रेशमराज रोकाया
बिहिवार, जेठ २३, २०७६
514

हुम्लामा पर्यटन प्रवद्र्धनका लागि बाइझाउँ हुम्ला नामक सांस्कृतिक कार्यक्रम चलिरहेको छ । हुम्लाको पर्या पर्यटन, यहाँको भौगोलिक सुन्दरता, स्थानीय खानपान तथा रहनसहनको प्रचारप्रसारका लागि कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा राजेश हमालले हुम्ला साँच्चिकै नेपालको सुन्दर ठाउँ भएको र यसको प्रचारप्रसार तथा विकास गर्न सकिएमा यहाँको बासिन्दाको उन्नति हुने बताए । कार्यक्रममा गायक हेमन्त शर्मा, लोक गायक चन्द्र केसी, देउडा गायक पाण्डव विष्ट, सुरेश शाही, गायिका शर्मिला श्रेष्ठ, नृत्यङ्गना तथा मोडल करिष्मा ढकाल, सन्ध्या सानु, सुनि घर्तीमगरलगायतको प्रस्तुति रहँदै आएको छ । कार्यक्रम उद्घाटनको दिन स्थानीय कलाकारको प्रस्तुति र लामा समुदायको स्याब्रो नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा हुम्ली जनताको उल्लेख्य सहभागिता थियो । बिरलै हुने सांगीतिक कार्यक्रम अनि राष्ट्रिय कलाकारको उपस्थितिले अझ माहोल तातेको थियो । राजेश हमाल हेर्न पनि धेरै स्थानीय आएकाथिए । कलाकारहरुसँग सेल्फी खिच्नेको भीड पनि उत्तिकै थियो । स्थानीय ऊनीको बख्खु र काम्लोमा सजिएका राजेश हमाल आकर्षक देखिएका थिए ।
पहिलोपल्ट हुम्लामा साइकल र्यालीसमेत भएको थियो । जहाजबाट ल्याइएका साइकल सिमकोट बजारमा गुडेका थिए ।
सबैजसो कालाकारले हुम्ला अति नै प्राकृतिक हिसाबले सुन्दर भएको र यहिँ बस्न मन भएको प्रतिक्रिया दिएका थिए ।
राष्ट्रियस्तरका कलाकारको प्रस्तुति हुम्लामा गराउनको लागि अति नै कठिन हुने गरेको छ । साधन स्रोतको कमीका कारण र हवाई भाडाको कारण यहाँ सोचेजस्तो कार्यक्रम अनि कलाकारलाई निम्त्याउन समस्या भएको आयोजक योङ स्टार क्लबका अध्यक्ष रविन बस्नेतले बताए । देउडा गायक नन्दकृष्ण जोशीले हुम्लामा रहेका अनेकौं देउडाको भाकालाई टिपेर नयाँ गीत बनाउने सोच भए पनि यसलाई गराउन नसक्दा पछि परेको बताए । कार्यक्रममा सडक दुर्घटनामा घाइते भई मेरुदण्डको समस्या भएका देउडा गायक पाण्डवसिंह विष्टको उपचारको लागि हुम्ली युवाले ७५ हजार नगद सहयोग गरेका थिए ।