कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४
408

दिपायल (डोटी) । केही वर्षअगाडि पुतला नाच डोटीको खिरसैन, रातुली र लडागडामा मात्र हुन्थ्यो । जिल्लाभरकै दर्शकहरू त्यो ठाउँमा पुतला नाच हेर्नका लागि आउने गर्थे । कतिपय त बिदेशिएकाहरू पनि त्यो ठाउँको पुतला नाच (जाँत) भन्दै घरतिर फर्कने गर्थे । अन्य जिल्लामा पनि पुतला नाच हेर्न जानु त त्यो ठाउँमा जानु भनेर सबैले चर्चा गर्थे ।
पछिल्लो समयमा पुतला नाच अलि विस्तार हुदै गएको छ । एक जिल्लाका विभिन्न गाउँहरूमा यो पुतला नाच नाच्ने चलन छ । परापूर्व कालदेखि नै चलि आएकोले कतिपय ठाउँमा संरक्षणको लागि मठ मन्दिर नजिक (पुल्तीघर) पुतला सेलाउने साना घरहरू बनाएका छन् । सुदूरमा कतिपय ठाउँमा नयाँ वर्षको अवसर पारेर बनाइन्छ त कतिपय ठाउँहरूमा माघे संक्रान्तिको अवसर पारेर पुतला नाच पर्व मनाइन्छ ।
विशेषगरी सुदूरका पहाडी जिल्लाहरूमा यो पर्व मनाउँदा तराई बस्ने पहाडीहरूले पनि यो पर्व मनाउँदै आएका छन् । कैलालीको टिकापुर क्षेत्र, बौनिया क्षेत्रलगायतका कञ्चनपुरमा पनि गुलरिया, बेलौरीलगायतका क्षेत्रमा पुतला नाच खेलिने गरिन्छ ।
सुरु सुरुमा यो पर्वमा कपडा सिलाउनेहरूसँग कपडा सिलाउँदा बचेका टुक्राहरूलाई घरमा ल्याई ती कपडाबाट पुतलीजस्तै बनाई केही दिनमा पुल्तीघर (पुतली सेलाउनका लागि बनाइएको सानो खेलौना जस्तै घर) मा सेलाउने गरिन्थ्यो भने पछिल्लो समयमा भने विवाहिता छोरीहरू नै माइती घरमा आउँदा पुतलीको भेषमा नाच्ने गरेको पाइन्छ ।
डोटीमा पछिल्लो समयमा जिल्ला जिल्ला सदरमुकाम आसपास कलेना, पाँकरी, तिखा, एयरपोर्ट, राजपुरलगायतका क्षेत्रमा भव्यताका साथ यो पर्व मनाउने गरिन्छ । विवाह गरेर पराई घर गएकी छोरीबहिनी (महिला) माघी पर्व र बिसौं पर्वको अवसरमा समयमै आफ्नो माइतीघरमा आएर केही दिन अगाडि पुतला नाचको तयारी गर्ने र पर्वको दिनमा सबै दर्शकहरूलाई देखाउने गरी प्रस्तुत गर्ने गर्दछन् । यो पुतला नाचलाई रन पुतला खेल पनि भन्ने गर्दछन् ।
सुदूरका पहाडी जिल्लाहरूमा पुतला नाचको निकै महत्वका साथ हेर्ने गरिन्छ । सुदूरपश्चिम कला संस्कृति र पर्यटकीय क्षेत्रको रुपमा धनी मानिएको पनि यस्तै नाच, खेलहरूले नै हो । सुदूरपश्चिमेली डेउडा, ठाँडी भाका, हुड्केली, छलिया, भुवा, पुतलालाई सुदूरकोे मुख्य संस्कृतिको रुपमा हेरिन्छ ।
परम्परागत रूपमा चल्दै आएको रनपुतला पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वको रुपमा प्रचारप्रसार हुँदै आएको छ । गाउँगाउँमा सद्भावको सेतु यसै पर्वले दोहो¥याएको छ ।
पहाडका केही जिल्लाहरूमा रनपुतला पर्व पुस महिनाको १५ गतेदेखि माघ ३ गतेसम्म धुमधामका साथ मनाइने गरिन्छ भने केही जिल्लाहरूमा चैत १५ देखि नयाँ वर्षको पहिलो दिनसम्म मनाइन्छ ।
यो नाचलार्ई देवीदेवताको पर्व वा छोरीबेटीलाई वर्षको एक पटक अनिवार्य भेट गराउने पर्व भएकाले मिलन पर्वको रूपमा पनि लिने गरिएको दिपायल सिलगढी नगरपालिका ६ का स्थानीय तथा सुदूर तथा मध्य पश्चिमका पुराना पत्रकार धनबहादुर मल्लले बताए । उनले भने, “विवाह गरेर पराई घर गएकी छोरीहरू एक ठाउँमा जम्मा हुने र घर परिवार तथा अन्य पुराना आफ्ना साथीसँग भेट हुने भएकाले यसलाई छोरीको मिलन तथा सद्भावको पर्व भन्ने गरिन्छ ।”
सुदूरको परम्पराअनुसार पुस १५ गते वर्षभरीको लामो रातको रुपमा लिई रातभरी गाउँखाने कथाहरू भन्ने, जाग्राम बस्ने, तरुल, सकरखण्ड खाने रातको रुपमा लिने संस्कृति रहेको छ । त्यही दिनको रातदेखि रनपुतला पर्वको सुरुवात भएको मानिने गरेको स्थानीय धौलीदेवी कठायतले बताइन् । पर्वको सुरुवात भएपछि रनपुतलाहरू माघ ३ गते पानी पँधेरोमा लगेर विसर्जन गरे देवीदेउता खुसी हुने चलन रहेको छ । कतिपय ठाउँमा यसरी नै वैशाखको पहिलो दिन बिसौं संक्रान्तिको दिनमा गरिन्छ ।
यो पर्व सयौं वर्षभन्दा अगाडिदेखि सुरुवात भएको पुतला पर्वमा विवाह भएका नभएका छोरी चेलीहरू राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँ गाउँमा पुतली नाचे जस्तै गरी डेउडा लगायतका खेल खेल्ने पर्व हो ।
पुतला नाच खेल्दै छोरीहरूले पोइली घरमा भोगेका पीडाहरू र माइती घरमा विवाह नभएका युवतीहरूका नभोगेका बारेमा बनाइएका गीत गाइने गरेको दिपायल सिलगढी नगरपालिका रातुलीकी दुर्गादेवी विष्टले बताइन् । उनले भनिन्, “देउडामा एकतिर विवाह भएकी छोरीहरू र एकातिर विवाह नभएकी छोरीहरूबीच जानकारीमूलक सन्देशका गीतहरू गाइने गरिन्छ ।”

- भूमिराज जोशी

सातामा धेरै पढिएको