मेगराज खड्का
बिहिवार, जेठ ९, २०७६
566


यतिखेर, साढे दुई महिनाको रमझमपूर्ण र अभूतपूर्व यार्सा कारोबार यात्रको लागि पूर्व रुकुम तयार भएको छ । जेठ १९ गते देखि यार्सा टिप्नको यस पटक खुल्दैछ । एक महिना अघि नै त्यस क्षेत्रमा ठुलो संख्यामा यार्सा सुरक्षाको लागि युवा स्वयमसेवकहरु त यार्सा पाईने ठाउँमा पुगिसकेका छन । सर्बसाधानहरु मात्र साता पछि मात्र जान लागेका हुन । हाल करिब ४५०० मिटर उचाईमा ३०० जना स्थानीय र केही सरकारी सुरक्षाकर्मीहरुको बलियो घेरामा घेरिएको छ यार्सा क्षेत्र पुपाल । दैनिक जसो पर्ने हिमपातले यार्सा सुरक्षाकर्मीलाई थप सघाईरहेको छ भने संगै सास्ती पनि दिईरहेको छ । ५० को दशक देखि कारोबारले औपचारिकता पाएको रुकुम पूर्वको मैकोटको पाटन क्षेत्रमा पाईने यार्सा नेपालको उत्कृष्ट यार्सा मध्यमा गनिन्छ । द्वन्द्वकालमा राज्यबाट चालिएको नरसंहारपूर्ण (किलोसेरा टु) नामक अप्रेशन ताका यसै क्षेत्र पुपालमा ५ जना यार्सा संकलकलाई माओबादीको नाममा गोली हानी हत्या गरिएको थियो ।


त्यस्तै बढि उचाई भएका कारण यार्सा संकलन कै क्रममा ज्यान गुमाउने यार्सा संकलकको संख्या पछिल्लो ३ बर्ष यता आधा दर्जन पुगिसकेको छ । जसमा दुधे बालक देखि बयोबृद्ध समेत छन् । मोफसल र राष्ट्रिय मिडियमा पहुँच भएका पत्रकारले यसै सिजनमा लिएका फोटोले राष्ट्रिय तथा क्षेत्रियमा राम्रो स्थान चुमिरहेका छन् । अझ दिपेन्द्र भण्डारी निर्देशित यार्सा जनजीवनमा आधारित (जर्नी टु यार्सा) नामक वृतचित्रले त राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तहल्कै मच्चाएको थियो उ बेला । जुन दक्षिण एशियाली वृतचित्र स्पर्धामा तेस्रो स्थान ओगट्न सफल रह्यो । अनगन्ति हिमताल, हिमाली जीवजन्तुको आँखै अगाडि दर्शन गर्न पाउनु यार्सा सिजनको अर्को बिशेषता हो भने राज्यबाट सधै ओझेलमा पारिएको पुथा हिमाललाई सम्मुखबाट दृष्यावलोकन गर्न पाउनुको आहा आनन्द बताईनसक्नु छ । यार्सा ट्रेल मार्फत बर्सेणी यो सिजनलाई प्याकेजमै उपयोग गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रवल संभावना रहेको छ । यो सिजन यार्सा कारोबारको अलावा युवायुवतीका लागि ‘लभ्ली मन्थ’ पनि हो । रंगीचंगी बुकी फुलको बारीमा यार्सा टिप्दै लाएका मायाले सार्थक रुप लिंदा आज सम्म सयौं जोडीले घरबार जोडीसकेका छन् । हरेक बर्ष झन्डै दर्जन जोडीले आफ्नो सुनौलो जीवन यहि सिजनको माध्यमबाट स्थापित गरिरहेका छन् । भावानात्मक साईनो क्रमशः नातागत साईनोमा बदलिने क्रम बढ्दो छ ।
त्यसैले यतिबेला त्यस आसपासका यार्सा संकलक अनि ब्यापारीका लागि बेशी चासो र चलखेल हुनु स्वभाविक बिषय हो । यसै सिजनले नै त्यहाँका बासिन्दाले बर्षभरि लाउन र खाने व्यबस्थाको जोहो गर्ने स्थानीय भरत कुमार पुन बताउछन ।
यार्सा सिजन व्यबस्थापन समिति ः
यार्सा सिजन करिब दुई महिना देखि साढे दुई महिना सम्म चालू रहन्छ । यो अबधीलाई चुस्त दुरुस्त ब्यबस्थापन गर्नका लागि स्थानिय भेलामार्फत बर्सेनी (०६४ सालदेखि) १३ देखि २५ जना सम्म सदस्य रहने गरि यार्सा सिजन ब्यबस्थापन समिति गठन गरिन्छ । समितिले सिजन भरिको सुरक्षा देखि आर्थिक कारोबारको सबै जिम्मा लिने गर्दछ । यसपटक अमरधन पुन समितिको अध्यक्ष छन । यार्सा संकलक, व्यापारी, होटल ब्यवसायी अनि यार्सा सम्बन्धी खोज अनुसन्धान गर्ने विज्ञ र पत्रकारहरु वा अन्य कुनैलाई आबश्यक सहयोग तथा सेवा दिनु समितिको मुल कर्तब्य हो । यार्सा सिजनभरि कहिं कतैबाट कुनै पनि ब्यक्तिलाई अवरोध र समस्या भएमा समिति कहाँ आफ्नो समस्या राखेर समाधान गर्नुपर्छ ।
पहिलो पटक यार्सा क्षेत्र जाँदै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस ः
१, न्यानो कपडा अनिबार्य ब्यबस्था गर्नुस् जस्तो न्यानो जाकेट, पाईन्ट, ट्राउजर, उनी टोपी,पन्जा, टेन्ट पाल,राम्रो खाले स्लीपिङ्ग ब्याग, राम्रै खाले जुत्ता, म्याट्रेस, मास्क, हाईनेकरसुईटर, रेन कोट, छाता आदि ।
२, चिसो र बढि उचाईमा अक्सिजनको कमिका कारण् लेक लाग्ने (हाई अल्टीच्युड), ज्वरो आउने, वान्ता हुने हुँदा आबश्यक औषधी बोक्नु आवश्यक हुन्छ ।
३, यार्सा फुकुवा हुनु केही दिन अगावै यार्सा वेश क्याम्प वरपर जानू उचित हुन्छ । जसले ’हाई अल्टीच्युड’का कारण बिरामी हुने समस्या धेरै हद सम्म कम हुन्छ ।
३, पेय पदार्थ ब्रगेल्ती पाईने हुँदा सकेसम्म चिसोमा नलिएकै राम्रो यदि लिनै परेमा लोकल अन्नको लिंदा उचित हुन्छ, त्यो पनि लिमिट ।
४, भरपर्दा साथी र आफन्त संग मात्र साथ रहनु उचित हुन्छ ।
५, वनमा यार्सा टिप्न जाँदा जथाभावी आफुखुशी नगई सबैभन्दा बढि यार्सा पाउने र यार्सा पाईने ठाउँको भेउ पाएका ब्यक्तिसंग संगत गर्नु राम्रो हुन्छ ।
६, सिजनभरि मनोरञ्जनका माध्यमहरु थुप्रै हुने हुँदा त्यतापट्टि नभूली आफ्नो लक्ष्यतिर मात्र केन्द्रित हुन आबश्यक देखिन्छ ।
७, वनमा यार्सा खोज्न छोडी हाँसीमजाक गरि समय खेर फाल्नु हुँदैन ।
८, होटलमा नास्ता गर्दा मूल्य बुझेर मात्र लिनुपर्छ । नत्र एकको दुई तिर्ने स्थिति नआउला भन्न सकिन्न ।
तपाईं नयाँ व्यापारी हो र लगानी गर्न चाहानुहुन्छ भने अपनाउनुस् यी तरिका
१, कसैको अवास्तविक र हल्लै हल्लाको गफमा फस्नु हँदैन ।
२, मान्छे चिनेर मात्र कारोबार गर्नुपर्छ ।
३, आफ्नो लगानी र सामानको उचित सुरक्षाको ब्यबस्था गर्नु पर्छ ।
४, सुरक्षा निकाय र समितिसंग नियमित संपर्कमा रहनुपर्छ।
पर्यावरण सन्तुलनलाई ख्याल राख्न यसो गरौ
१, आफ्नो क्याम्प र होटल वरिपरि फोहर नगरौ ।
२, हरेक पाल छेउ हड्डी र सिसाजन्य वस्तु डम्पिङ्ग गर्न खाल्डो खनौ ।
३ वनमा जथाभावी आगो नलगाऔं ।
४, वनमा यार्सा टिप्न जाँदा साथमा चाउचाउ र बिस्कुट छ भने नास्ता पछि खोललाई सुरक्षित स्थानमा जलाऔं ।
५, वनमा भेटिएका वेवारिसे प्लास्टिक जन्य वस्तु संकलन गरि सुरक्षित ठाउँमा जलाऔं
पत्रकार र पर्यटक हुनुहुन्छ भने यसो गरौं
१, तपाईले यार्सा क्षेत्र पुगेपछि कम्तिमा ५ दिन समय निकाल्नु पर्ने मनासिव देखिन्छ ।
२, एकदिन जङ्ला भन्ज्याङ्ग रेन्ज जुन ठाउँ ६ नं. प्रदेश र ५ नं. प्रदेशको सिमाना हो ।
३, एकदिन भित्रवन ,एकदिन कुन्दला, एकदिन पुपाल, र एकदिन फुलबारी यी ठाउँ यार्सा पाईने क्षेत्र हुन् यार्सा संकलक संग प्रत्यक्षहरु अनुभव साटासाट गर्न सकिन्छ । यी क्षेत्रमा रहेका अनगिन्ति हिमतालहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
कसरी पुगिन्छ यार्सा क्षेत्र ?
१, काठमाडौ खलंगा पश्चिम रुकुम वा रुकुमकोट पूर्व रुकुम सम्म सिधा ठूलो गाडी पिपलटुङ्ग (ओखमा) त्यहाबाट मैकोट हुदै मैकोट, दुले, पुपाल गरि जम्मा ५ दिनको यात्रा ।
२, काठमाडौ, बाग्लुङ्ग बुर्तिबाङ्ग ठूलो गाडी) ढोरपाटन (जीप) बुजिख (पैदल शुरु), थाँकुर, पेल्मा, दुले, पुपाल हुदै जम्मा ६ दिनको यात्रा
३, पोखरा, बेनी,दर्बाङ्ग सम्म ठूलो गाडी त्यहि दिन जीप बाट मुना, ढोरपाटन, थाँकुर, पेल्मा, दुल हुदै पुपाल सहित ६ दिनको यात्रा ।
यार्सा संकलकहरु कहाँ कहाँबाट आउँछन ?
रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठान, बाग्लुङ्ग, म्याग्दी, पाल्पा, पोखरा, गोरखा, रसुवा, धादिङ, रामेछाप, दाङ्ग, सल्यान, सुुर्खेत, जाजरकोट, बैतडी, दैलेख आदि ठाउँहरुबाट बर्से्नि यार्सा संकलक मैकोट पुपाल पुग्दछन् । यी जिल्ला मध्ये पचास प्रतिशत संकलक त रोल्पाबाट मात्र आउने गर्दछन् । यी सवालहरुमा ध्यान दिन सकियो भने यार्सा क्षेत्रको जोखिमपूर्ण यात्रा र बसाई सुखद अनि यादगार रहनेछ । (यार्सा व्यवसायी तथा स्थानीय भरतकुमार पुन संगको कुराकानीको आधारित)