गोपाल पोखरेल
बिहिवार, जेठ ९, २०७६
440

“हे..हे हामी र आयौँ, पञ्चै बालन खेल्न आगन बढारी देउन्”
“हे..हे हामी र जान्छौँ दिदीबहिनी भेटन् चामल कुटाई देउन्”

यस्तैयस्तै मिठा अनी सुरिला श्लोक गाएर रातभर खेलिने सीताभारत बालन बढ्दो आधुनिकतासँगै लोप हँुदै गएको छ । विशेषगरी ब्राम्हण र खसजातिका समुदायले खेल्ने सीताभारत, देविभारत बालन संरक्षण र सम्वद्र्धनको अभावमा लोप हुँदै गएको छ ।
बढ्दो आधुनिकतासँगै यी जातिको पौराणिक कला संस्कृति दिनप्रतिदिन लोप हँुदै गएको छ । पौराणिक संस्कृतिअनुसार सन्तान नभएका घरमा बालन खेलेर दिएको आशिषले सन्तान जन्मने, घरमा सुख शान्ति प्राप्त हुने, कुनै किसिमको भय नहुने परम्परा र जनविश्वास रहेको पाइन्छ ।
“बालनप्रति पुराना संस्कार बोकेका बुढापाकामा अहिले पनि उत्तिकै मोह छ,” लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछाका दिलबहादुर कार्कीले भने, “बालन खेलाएकै कारण कतिपय छोरा नहुने परिवारमा छोरा जन्मिएका छन् ।” आफ्नै ६ जना छोरीमात्र जन्मिएपछि ६ वर्ष अगाडि ब्राम्हण बोलाएर घरमा बालन खेलाएको र त्यसको वर्ष दिनपछि छोरा जन्मिएको उनले सुनाए । बालनको प्रभावले निसन्तान दम्पतीले सन्तान पाउने विश्वास भए पनि बढ्दो आधुनिकतासँगै बालन खेल्ने प्रचलन लोप हँुदै गएको उनले बताए ।
पौराणिक मान्यताअनुसार बालनमा त्रेता युगका राम, सीता र जनकलगायतको जीवन कहानी समेटेर तयार पारिएको कथा श्लोकमा ढाली गाउने चलन छ । आधुनिकतासँगै विभिन्न किसिमका रमाइला सांगीतिक कार्यक्रम भित्रिएपछि युवावर्ग आकर्षित हुँदा बालनलोप हुने अवस्थामा पुगेको कलाकार रसमिलाल भण्डारीले बताए । “आजकालको जमानामा रातभर जागा बस्नु परयो भने युवावर्ग साउण्ड सिस्टम बजाएर नाच्न थाल्छन्,” उनले भने, “केही वर्ष अघिसम्म त बालन खेल्ने कलाकारहरू थुप्रै थिए तर यतिबेला युवावर्गले पौराणिक संस्कृति चटक्कै छाडेपछि यो संस्कृति लोप हुँदै गएको छ ।”
त्यतिमात्र नभई पछिल्लो पिँढीका धेरैजसो युवालाई बालन के हो भन्ने बारेमा थाहा नहुनुले पनि यो संस्कृति लोप हुँदै गएको वृद्ध सिताराम खतिवडा बताउँछन् । “यसरी नै यो संस्कृति लोप हुँदै जाने हो भने एक दिन इतिहासमा मात्र सीमित हुनसक्छ,” उनले भने, “पौराणिक संस्कृतिलाई जे जसरी भए पनि संरक्षण गर्नुपर्छ ।” संरक्षण नभए पुर्खाले चलनचल्तीमा ल्याएका सबै संस्कृति नामेट हुने उनको भनाइ छ ।