कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
260

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना÷स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार, विकास सहयोग (एसडीसी) को सहयोगमा नेपालकै प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ ।


औपचारिक तालिम लिएका वा अनौपचारिक रुपमा आफैं सीप सिकेका एवं साना तथा मझौला होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान र प्रष्फुटन गराउने मूल उद्देश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिताको आयोजना हुन लागेको हो । काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले यो प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरिरहेको छ ।


यो प्रतियोगिताको मूल उद्देश्य पाककला (कुकरी) को अभ्यास गरिरहेका सेफहरूलाई पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरमा कदर प्रदान गर्नु रहेको छ । यो प्रतियोगितामा सहभागि हुन सातै प्रदेशहरूमा तोकिएको केन्द्रहरूबाट आवेदन फारम बुझाउने व्यवस्था गरिएको छ । यसमा १८ वर्षभन्दा माथिका पाककलासम्बन्धी ज्ञान र सीप भएका सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा सहभागी हुन महिला, दलित, जनजाति एवं पिछडिएका वर्गहरूलाई विशेष आह्वान गरिएको छ ।


प्रतियोगितामा प्रत्येक प्रदेशबाट कम्तिमा २–२ जना सहभागीहरू प्रथम छनोटमा पर्नेछन् भने उनीहरूबीचको अन्तिम प्रतियोगिता असार ६ गते पोखरामा हुनेछ । सो प्रतियोगिताको विजेतालाई ‘सेफ अफ द इयर’ घोषणा गरिने छ । साथै, भविष्यमा पूर्व सिकाईको मान्यता विधिद्वारा सीप परीक्षण गरी योग्यताको प्रमाणपत्र प्राप्त गर्ने बाटो खुल्नेछ ।


प्रतियोगितामा सहभागिताका लागि गेट कलेज र उसको प्रदेश नं १ को इटहरी, गण्डकी प्रदेशको पोखरा र प्रदेश नं ५ को नेपालगन्जमा रहेका गेट कलेजका भगिनी तथा साझेदार संस्थाहरू एवं अन्य प्रदेशमा सीटीईभीटीको प्रादेशिक कार्यालयहरूमा फर्म बुझाउन सकिने छ ।

सातामा धेरै पढिएको