कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
244

लमजुङका गुरुङ बस्तीहरुमा घाँटु नाचको तयारी तिव्र गरिएको छ । जिल्लाका गुरुङ बस्तीहरुमा साविकका वर्षहरुमा जस्तै वैशाख पूर्णिमाको अवसरमा नाचिने परम्परागत घाँटुको अभ्यास गरिएको हो ।


गुरुङ सस्कृति अनुसार माघ महिनामा बसन्त पञ्चमीबाट शुरु भएको घाँटु नाँच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । समापनको बेला पूर्णिमाको दिनदेखि औपचारिक रुपमा घाँटु शुरु हुने भएपनि केहि दिन अघिदेखि नै अभ्यास गरिएको नाल्माका राजु गुरुङले बताए । जिल्लाको उत्तरी क्षेत्रमा अधिकांश गुरुङ समुदाय रहेका छन् । क्होलासोँथार, मस्र्याङदी, दूधपोखरी, दोर्दी लगायतका गाउँपालिका अन्तर्गत सतीघाँटु नाचिने गुरुङ समुदायहरुमा अभ्यास भइरहेको स्थानियले बताएका छन् ।


सोसँगै बेसीशहर, सुन्दरबजार, मध्यनेपाल अन्तर्गतका गुरुङ गाउँहरुमा पनि वैशाख पूर्णिमाबाट शुरु हुने सतीघाँटु नाचको अभ्यास भइरहेको स्थानियले बताएका छन् । सती र बाह्रमासे गरी घा“टू नाँच दुई प्रकारको हुन्छ । सतिघा“टू श्रीपञ्चमीमा शुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घा“टू जुन बेलापनि नाच्ने गरिन्छ । गुरुङ समूदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घा“टु नृत्य पनि ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरुहरु बताउँछन् ।


सत्रौँ सताब्दीदेखि घाँटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजश्वला नभएका दुईजना कन्यालाई स्थानीय भेषभूषामा सजाई मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाँटु नृत्यको प्रारम्भ गरिन्छ । विशेषगरी पहिलोपटक घाँटु नाच्ने कन्याहरुलाई समयअगावै अभ्यास गराउनुपर्ने ताघ्रिङकी आशकुमारी गुरुङले बताइन् ।


“एकपटक घाँटु नाचेकाहरुलाई त अभ्यास गराइरहन पर्दैन,” गुरुङले भनिन्, “पहिलो पटक नाच्नेहरुलाई चाहिँ अलिक समय लिएर सिकाउनुपर्ने हुन्छ,” उनले भनिन् । घाँटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, श्रृंगार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ । गुरुङ समूदायको महत्वपूर्ण संस्कृतिको रुपमा रहेको घाँटुनाच पछिल्लो समय उत्सवको रुपमा पनि मनाउन थालिएको छ । परम्परागत संस्कृतिको संरक्षण गर्न तथा गुरुङहरुको पहिचानलाई जोगाउन विशेष महत्वका साथ मेला महोत्सवमा पनि घाँटु नाच प्रदर्शन गर्ने गरीएको छ ।