प्रकाश पाक्साँवा
बिहिवार, जेठ २, २०७६
319

समाजमा अझै पनि अपांगता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने बुझाइ छ । तर, अवसर पाए सपांग व्यक्तिले भन्दा अपांगता भएकाले दिगो रुपमा काम गर्छन् । उनीहरूलाई आयाआर्जन हुने खालका सिपमूलक कार्यक्रम सञ्चालन गरे अपांगता भएका व्यक्तिहरू पनि आत्मनिर्भर र स्वरोजगार बन्न सक्छन् ।


सिपमूलक सिपबाट आम्दानी हुने भएपछि तेह्रथुमका अपांगता भएका व्यक्तिहरू खुसी छन् । गुडिया तथा कुसन बनाउने तालिम पाएसँगै जिल्लाका अपांगता भएका व्यक्तिहरू खुसी हुन थालेका हुन् । अपांगता सशक्तीकरण तथा पुनस्र्थापना केन्द्र तेह्रथुमले विभिन्न फरक क्षमता भएका व्यक्तिहरूलाई गुडिया तथा कुसन निर्माणका लागि ४५ दिने तालिम दिएसँगै तालिम लिने अपांगता भएकाहरूमा आत्मनिर्भर हुने आशा र भरोसा पलाएको छ । तालिममा आफूले सिकेको सिपले आफूलाई धेरै राहत मिलेको र आफ्नो सिपले आम्दानी दिने तालिममा सहभागी दुर्गा लिम्बूले बताइन् ।


यस्ता खालका सिपमूलक तालिमले अपांगता भएका व्यक्तिहरूको जिवनस्तर उकास्नका लागि मद्दत पुग्ने भएको छ । समाजले आफूहरूलाई हेर्ने दृष्टिकोण नै फरक भएको बेला यो तालिमले आफूहरूमा छुट्टै उर्जा मिलेको र सामान्य व्यक्ति जस्तै केही गर्न सक्छु भन्ने उत्साह थपिएको सहभागी निर्मला खड्काले बताइन् ।


म्याङलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा ३ लाख बजेट विनियोजन गरेसँगै जिल्लाका विभिन्न क्षेत्रका अपांगता भएका व्यक्तिहरूलाई समेटेर तालिम दिइएको हो । अपांगता भएपछि घरैमा बस्दै आएकाहरू अब स्वरोजगार बन्ने भएका छन् । अपांगता सशक्तीकरण तथा पुनर्थापना केन्द्र तेह्रथुमले तालिममा अपांगता भएकाहरूले विभिन्न प्रकारका जिव, जनावर र कुशनहरू बनाउनका लागि सिकाइ भईरहेको सहजकर्ता शोभा दाहालले बताइन् । अपांगता भएका व्यक्तिहरूमा पनि समाजमा उत्तिकै रहने अधिकार छ । तर राज्यले उनीहरूमा आत्मनिर्भरका लागि विषेश योजना ल्याउन आवश्यक छ । फरक क्षमता भएकाहरूलाई आत्मनिर्भर बनाउनका लागि स्थानीय सरकारले पनि विषेश योजना बनाउनुपर्ने अपांगता सशक्तीकरण तथा पुनर्थापना केन्द्र तेह्रथुमका महासचिव खड्ग दाहालले बताए । जिल्लामा अपांगता भएका व्यक्तिहरू तीन हजार ७ सय रहेका छन् भने म्याङलुङ नगरपालिकाभरीमा अपांगता भएका व्यक्तिहरूको संख्या ४ सय ३७ रहेको अपांगता सशक्तीकरण तथा पुनर्थापना केन्द्र तेह्रथुमले जनाएको छ ।