मकरराज धामी
बुधवार, बैशाख १८, २०७६
590

सुदूरपश्चिम प्रदेशको प्रशिद्ध मेला बान्नीकी चैतली मेला सकिएको छ । मेलामा जिल्लाभित्र तथा बाहिर जिल्लाका हजारौं श्रद्धालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन् ।
छिमेकी जिल्ला अछाम, बाजुरा, डोटी, बैतडी दार्चुला, डडेल्धुरा लगायत कणाली प्रदेशका दैलेख, जुम्ला, हुम्ला लगायतका जिल्लाहरुबाट आएका दर्शनार्थीहरुले बान्नीकी मष्टाको दर्शन गरेका छन् । बझाङ जिल्लाको छविसपाथीभेरा गाउँपालिका वडा नं. ३ बान्नीकोटमा लाग्ने यो मेला हरेक वर्ष चैत शुक्ल त्रयोदशीका दिन बान्निकोटमा मेला लाग्ने गर्दछ ।

परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतालार्ई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसाशुरको बध गरेको खुसीयालीमा हरेक वर्ष बान्नीकी चैतली मेला लाग्ने गरेको छ । राक्षसलाई मारी सकेपछि सुर्मा देवीले राक्षसको टाउकोको भकुन्डो बनाएर खेलेको, पेटको छाला निकालेर दमाहा बनाएको र हातका औंलाको नगरा (गजा) बनाइ विजयउत्सव मनाएको किंवदन्ती छ ।
यसैको सम्झनामा छविसपाथीभेरा गाउँपालिकाको तल्लो छविस र मल्लो छविसका बासिन्दाहरुबबीच भकुन्डो खेल्ने रहेको प्रचलन स्थानिय दान बहादुर ऐडीको भनाइ छ । सुर्मा देवीले भाला प्रहार गरेर दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । झण्डै २५ मिटर लामो कांकरलाई मानिसहरुले समाएर ३ सय मिटर जति हिँडाउने गरिन्छ । यसरी हिँडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाउने गरिन्छ ।
यो मेला हेर्नका लागी बझाङ जिल्ला लगायत सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु आउने गर्दछन् । चैतली मेला हेर्नकै लागि भनेर दैलेखबाट बझाङ आएका दानबहादुर बुढाले चैतली मेलामा कहिल्यै नदेखेको दृश्य देखेको बताए । उनले भने, “पूरै रुखलाई मान्छेले समातेर हिँडाएको आज सम्म देखेको थिएन । यहाँको स्थानिय भाषा कला र संस्कृतिको विशेष महत्व राख्ने यो मेला बडो रमाइलो रहेछ ।”
यस मेलामा स्थानिय भाषा कला र संस्कृति तथा भेषभुषा झल्किने झाँकी समेत प्रदर्शन गर्ने गरिन्छ । मेलामा स्थानिय भेषभुषामा सजिएर विभिन्न ठाउँबाट आएका महिला महिला मिलेर डेउडा खेल्ने गर्दछन् । यो मेलाले बझाङको मात्र नभई सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पु¥याएको पर्यटन अभियन्ता किशोर खड्काको भनाइ छ ।