सागर परियार
बिहिवार, चैत्र २१, २०७५
880

जुम्ला - तिला गाउँपालिका–३ का हस्त दमाई अहिले पनि हुड्के नाच्छन् । उनका बुबाले उनलाई सिकाएर गएको संस्कृतिमा आधारित एक पुख्र्यौली सीप हो यो उनको । विवाह, ब्रतबन्ध, छोरा जमिन्दा हुँदा उनलाई विभिन्न ठाउँबाट निमन्त्रणा आउँछन् । विशेषगरी मंसिर र वैशाखमा अरु समयभन्दा धेरै नै निमन्त्रणा आउने उनको भनाइ छ ।
जुम्लाको पूर्व गुठीचौरदेखि पश्चिम कालिकोट र दक्षिण सिञ्जासम्मका विभिन्न गाउँहरूमा उनी आफ्नो हुड्के नाच लिएर पुग्छन् । त्यस्तै, तातोपानी–३ का रतन दमाई पनि एक पोख्त हुड्ने नाच्ने कलाकार हुन् । उनलाई पनि रारागाउँका हस्त दमाई जस्तै विशेष अवसरहरूमा विभिन्न ठाउँबाट निमन्त्रणा आउने बताउँछन् ।
हस्त भन्छन्, “पछिल्लो समय त हुड्के नाच संकटमै परिसक्यो । मनमा जाँगर, सीप कला हुँदा पनि साथ दिने मान्छे छैनन् । हिजोआज कतैबाट निमन्त्रणा आउँदा पनि सहयोगीहरू जुटाउनै धौधौ हुन्छ । जान मान्दैनन् ।” सिकाउन खोज्दा पनि अहिलेका पुस्ताले सिक्न नचाहने उनको भनाइ छ । रतन दमाई भन्छन्, “मैले आफ्नो बुबाबाट हुड्के नाच सिकेको हुँ, म उहाँसँगै पहिले गाउँ गाउँमा जान्थें, मैले रुची देखाएपछि सिकेको थिएँ ।”
हुड्के नाच पञ्चेबाजा, ढाल नाचको संरक्षण नगरेसम्म कर्णालीको सांस्कृतिक पहिचान केहि वर्ष खोज्नु पर्ने स्थितिमा पुग्ने पञ्चेबाजा एकता समाजका जुम्लाका सचिव लालु दमाईले बताए । उनका अनुसार दमाई जातिमा आधारित एक मौलिक पेशा होे हुड्के नाच । यसको संरक्षणमा स्थानीय सरकारदेखि स्वयम् दमाई समुदाय अग्रसर हुन जरुरी छ ।

यसरी नाचिन्छ हुड्के
हुड्के नाच कर्णालीमा मात्रै नाचिने संस्कृित हो । दमाई जातसँग आधारित यो नाच कर्णालीमा निकै रुचाइन्छ । अझ विवाह, छोरो जन्मिँदा, विशेष खुसीको अवसर हुँदा हुड्के नल्याई रमाइलो नै मान्दैनन् कर्णालीका मानिस ।
त्यसैले पनि हुड्केको आफ्नै महत्व छ । हुड्के नाच्न एकजनाले सम्भव छैन । कम्तीमा पनि ७ जना अनिवार्य हुनैपर्दछ । जसमा गीत गाउन सिपालु दुई जना उठेर नाच्ने, गीत गाउने गर्नुपर्छ भने एक जना मादल बजाउने, कम्तीमा पनि ४ जना भाका छोप्ने गरी ७ जना हुनैपर्छ ।
गाउन तथा नाच्न जान्ने एक जनाको कमी भएमा हुड्के नाच प्रभावित हुन्छ । हुड्के नाच्दा सेतो कपडाले बनेको आँगा, शिरमा फेटा, कम्मरमा पेटी, चश्मा, खुट्टामा चाम लगाउनै पर्दछ । हातमा बाख्राको छालाले बनाइएको हुड्को समातेर नाचिन्छ । गाउँदा हुड्को कानमा लगाएर ताल मिलाएर गाउने गर्दछन् । हुड्के नाचका लागि जुम्लाका तातोपानी, रारा, सिञ्जाको जाँच र गोरा निकै प्रख्यात ठाउँहरू हुन् भने कर्णालीका कालिकोट र मुगुमा पनि हुड्के नाचिन्छ । तर पछिल्लो समय नाच्ने कलाकार पाउनै गाह्रो भइसकेको अवस्था छ ।

हुड्केबाट राम्रो कमाइ
हुड्के नाच कर्णालीको एक मौलिक संस्कृति हो । यसले जातिय तथा भेगीय पहिचान पनि झल्काउँछ । परम्परा, संस्कृतिसँगै कर्णालीको हुड्के नाच राम्रो आम्दानीको एक स्रोत पनि हो । सिञ्जाका मोती दमाईले भने, “निमन्त्रणा दिँदा सिधै ज्याला निर्धारण गरे जान्छौं । कम्तीमा पनि एक दिनमा खाना खाएर १ हजार ज्याला लिन्छौं । अन्य थप गाएर आफंै पनि कमाउन सकिन्छ । पहिला अन्नपात ल्याउने चलन थियो । तर अहिले ज्यालामा जान्छौं । विवाह ब्रतबन्धलगायत कुनै विशेष अवसरमा जाँदा कम्तीमा १०-१५ हजार कमाइ हुन्छ ।” तर आफ्नो जातिय पेशाप्रति अहिलेको पुस्ताले रुची नराखेपछि कमाइभन्दा पनि बचाउनै गाह्रो भएको उनको भनाइ छ । लाखौंका हिसाबले कमाइ हुने भए पनि दमाई समुदायले रुचि नदेखाएकै कारण पछिल्लो समय हुड्के नाच लोपोन्मुख अवस्थामा पुगेको छ ।

हुड्के नाचबाटै चेतना
हुड्के नाच विवाह ब्रतबन्धलगायत विशेष अवसरमा अनिवार्य गरिन्छ । कतै रमाइलोको लागि हुड्के नाचिन्छ भने कतै चेतना अभिवृद्धिका लागि पनि नाचिन्छ । राजनीति कार्यक्रमहरूमा पनि हुड्के नाचलाई विशेष प्राथमिकता दिइने गरिन्छ । छाउपडी, पोषण, महिला हिंसा लगायत विभिन्न विषयमा पनि हुड्के नाचलाई बलियो माध्यमका रुपमा लिने गरिएको तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले बताए ।
उनले भने, “गाउँका स्थानीय हुड्के नाचमार्फत् छिटै बुझ्ने भएकाले पनि यसको प्रयोग गरिन्छ । गाउँ गाउँमा हुड्के नाचमार्फत् चेतना फैलाउने चलन अहिले पनि छ । राजनीतिक कार्यक्रमदेखि चेतनाम्ूलक कार्यक्रममा हुड्के नाचको महत्व निकै रहेको छ ।”
नेपाली भाषाको उद्गमस्थल जुम्ला लगायत कर्णालीको संस्कृति र मौलिकताको प्रचुर सम्भावना भएको ठाउँ हो । कर्णालीका गाउँघरमा प्रचलित देउडा, हुड्के नाच, धामी नाच, लहरे नाच लगायतका गौरवमय सांस्कृतिक नाचहरू र गीतहरू विस्तारै हराउँदै गइरहेका छन् । पछिल्लो समय भित्रिँदै गएको बाहिरी संस्कृतिको प्रभावले गर्दा कर्णालीका मौलिकता बोकेका नाचहरू हराउँदै गएका छन् । कर्णालीका सांस्कृतिक धरोहर मानिने, यी विभिन्न नाचहरूको संरक्षण, विकास र प्रवद्र्धन गर्नु सरोकारवालाको पनि उत्तिकै दायित्व हो ।

भागी विवाहले हुड्के नाच संकटमा
परम्परागत मागी विवाहमा कमी आएसँगै हुड्के नाच लोपोन्मुख अवस्थामा पुगेको छ । हिजोआज मागी भन्दा भागी विवाह गर्नेको संख्यामा वृद्धि भएपछि हुड्के नाचको महत्व हराउँदै गएको हो । “आजभन्दा १०–१५ वर्ष पहिले मंसिर र माघ महिनामा गाउँघरमा विहेमा पञ्चेबाजा खुब सुन्न पाइन्थ्यो । हुड्केहरूलाई पनि भ्याइ–नभ्याइ हुन्थ्यो । आजभोलि त मंसिर र माघ गएको पत्तै हुँदैन,” स्थानीय भुवासिंह थापाले भने, “‘मागी बिहे हुँदा पञ्चेबाजा दमाहा, सहनाइ, नरसिंहा, ढोल, ताल र हुड्कोलगायतका बाजा बजाएर बेहुलाको घरदेखि बेहुलीको घरसम्म छमछमी नाँच्दै-गाउँदै जान्थ्यौँ । बेहुलीको घरमा पुगेर बाजाहरू बेस्सरी बजाउथ्यौँ । हुड्के नाच्दै गाउँदा र चुट्किला भन्दा खुब मज्जा आउँथ्यो ।”
केही समययता गाउँघरमा हुने बिहेमध्ये कतिले मन्दिरमा गएर त कतिले पार्टी प्यालेसमा गएर बिहे गर्ने चलन बढेपछि पुरानो संस्कृति र हुड्के बाजा लोप हुदैँ गएको थापाले बताए ।